१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इन्टरनेट र फोन अवरुद्ध भएपछि गोरखाको धार्चे गाउँपालिकाको सेवा खोर्लाबेँसीबाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:१७:oo

गोरखाको धार्चे गाउँपालिकाको काम खोर्लाबेँसी सारिएको छ । माछाखोलास्थित गाउँपालिकाको कार्यालयमा इन्टरनेट नचलेपछि कार्यालयको काम खोर्लाबेँसीबाट सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

बिल भुक्तानीको चटारोका वेला इन्टरनेट र फोन सेवा अवरुद्ध भएपछि बिहीबारबाट कार्यालयको काम खोर्लाबेँसीबाट सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताए । बिल भर्पाई फर्स्याेट तथा भुक्तानीको समयावधि सकिन लागेकाले पालिकाका केही कर्मचारीहरू खोर्लाबेँसी गएर पालिकाको काम सुरु गरेको उनले बताए ।

‘माछाखोलामा तीन–चार दिनदेखि इन्टरनेट चलेको छैन,’ आलेले भने, ‘त्यसैले हामी चार–पाँचजना कर्मचारी खोर्लाबेँसीमा आएर सेवा सुरु गरेका छौँ, माछाखोलामा नेट कहिले बन्छ थाहा छैन, माछाखोलामा राम्रोसँग नेट नचलेसम्म यहीँबाट सेवा दिनुपर्ने हुन्छ ।’ 

खोर्लाबेँसीमा महालेखानियन्त्रक कार्यालयले लागू गरेको इएफटी (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर) र सूत्र सफ्टवेयर काम गरिरहेको उनले बताए । ‘लेखा, योजना, प्रशासनिक र प्राविधिक कर्मचारीहरू यहाँ आएका छौँ,’ उनले भने, ‘हामीले सेवाग्राहीलाई दुःख नहुने गरी आवश्यक कागजात सबै माछाखोलामा नै पूरा गरी सबै फाइल पालिकाकै कर्मचारीले यहाँ ल्याउनुहुन्छ, काम सकेर माछाखोला नै पठाइदिन्छौँ ।’

सेवाग्राहीलाई दोहोरो हिँड्न नपर्ने गरी फाइल खोर्लाबेँसी ल्याउने र माछाखोलामा पुर्‍याउने काम कर्मचारीले नै गर्दै आएकोसमेत उनले बताए । कागजपत्र पूरा भएपछि चेक सबै माछाखोलामा नै लगेर बाँड्ने गरेको उनको भनाइ छ । 

आउँदो असार २४ गतेसम्म बिल भर्पाई फर्स्याेट तथा भुक्तानी दिइसक्नुपर्ने कानुनी सीमा रहेको छ । सोहीअनुसार काम गरिरहेको पनि उनले जानकारी दिए । उनका अनुसार पालिकाको हालसम्म करिब २० प्रतिशत भुक्तानी दिन बाँकी रहेको उनले बताए ।  

माछाखोलामा विद्युत् र इन्टरनेटको प्राविधिकलाई समेत खबर गरिसकेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

‘माछाखोलामा नेट चलेन, त्यही भएर खोर्लाबेँसीबाट पालिकाको काम भइरहेको छ,’ अझै कहिलेसम्म यहाँबाट काम गर्नुपर्ने हो, थाहा छैन,’ उनले भने, ‘उहियामा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएका कारण माछाखोलामा इन्टरनेट अवरुद्ध भएको हो,  टावरको अवस्था बुझ्न माछाखोलाबाट एकजना प्राविधिक पठाइसकेको छु ।’ 
 

ad
ad