१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फिल्म सिटी प्रवेश गर्ने दोलखाको खरिढुंगा–डाङडुङे सडकमा उप्किएको कालोपत्रे । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

फिल्म सिटी प्रवेश मार्ग : वैशाखमा कालोपत्रे, असारमा उप्कियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:३३:oo

दोलखाको खरीढुंगामा निजी–सार्वजनिक साझेदारी अवधारणामा निर्माणाधीन अन्तर्राष्ट्रिय चलचित्र नगरी (फिल्म सिटी)को प्रवेश मार्ग निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । कालोपत्रे उप्किएको मात्रै होइन, संरक्षण अभावमा सडकमा झारसमेत उम्रिन थालेको छ । 

लामोसाँघु–जिरी सडक खण्डको खरीढुंगाबाट फिल्म सिटीतर्फ उक्लिने खरीढुंगा–डाङडुङे सडक निर्माण सम्पन्न नहुँदै कालोपत्रे उप्किएको हो । स्थानीयवासीका अनुसार उक्त सडक गत वैैशाखमा मात्रै कालोपत्रे भएको हो । सडक निर्माण सम्पन्न भइसकेको छैन, तर कालोपत्रे उप्किएपछि झार उम्रिन थालेको छ ।

कम गुणस्तरका सामग्री प्रयोग गरेकै कारण सडक छोटो समयमै बिग्रिएको हुन सक्ने उनीहरूको गुनासो छ । पूर्वशिक्षक एवं खरीढुंगाका स्थानीय जयबहादुर श्रेष्ठले सुरुवातदेखि नै सडक निर्माणमा सरोकारवालाहरूले हेलचेक्र्याइँ गरेको सुनाए । सडकमा भएको बदमासीको छानबिन गर्न सरोकारवालाहरूले माग गरेका छन् ।

कारबाहीको माग
भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले गुणस्तरीय सडक निर्माण गर्न र गुणस्तरीय नभए छानबिन गरी कारबाही गर्न माग गरेका छन् । उनले फिल्म सिटीजस्तो मेघा प्रोजेक्ट प्रवेश मार्ग कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किनु दुःखद भएको बताए । 

सडक कालोपत्रे गर्नुपूर्व बिच्छाइने बेस र सबबेसको तालमेल नमिल्नु र कालोपत्रे गर्दा प्राविधिकहरूको भरपर्दो अनुगमन नहुनुजस्ता कारणले सडक कमजोर बनेको आरोप छ । 
उक्त सडक व्यवस्थापन गर्दै आएको प्रादेशिक डिभिजन कार्यालय सिन्धुलीका डिभिजन प्रमुख देवनारायण यादवले यस क्षेत्रमा धेरै चिसो हुने भएकाले कोल्ड मिक्स प्रविधिको कालोपत्रे गरेको बताए ।

उनले कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किएको र सडकमा झार उम्रिएको भन्नेमा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाए । उनले भने ‘कसरी त्यस्तो भयो त्यसबारे म अध्ययन गर्छु ।’ कार्यालयले १२ करोड ४५ लाख लागतमा खरीढुंगादेखि डाङडुङेसम्मको आठ किलोमिटर सडकमध्ये ४.६ किलोमिटर सडक कालोपत्रे र दुई किलोमिटर खण्डमा स्तरोन्नतिसहित सबबेस बिच्छाउने गरी ठेक्का लगाएको थियो । 

तीन वर्षअघिकै ठेक्का 
 प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले व्यवस्थापन गरिरहेको उक्त सडकको ठेक्का संघीयता कार्यान्वयनअघि अर्थात् ०७३÷०७४ मा डिभिजन सडक कार्यालय चरिकोटले लगाएको थियो । तर, संघीयता कार्यान्वयन भएपश्चात् उक्त सडक बागमती प्रदेश सरकारअन्तर्गतको प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीलाई हस्तान्तरण भएको थियो ।

सिन्धुली डिभिजनले पटक–पटक म्याद थप गरी यही असार मसान्तभित्र सम्पन्न गर्ने गरी पदम लामा नेतृत्वको लामा कन्सट्रक्सनमार्फत काम गराइरहेको छ । 

ad
ad