
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन् ।
बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको नवनिर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन् ।
गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा संकट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए । अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताए । मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि बताए । गभर्नर अधिकारीले चार्टर्ड एकाउन्टेन्ट्सहरूले दिने भूमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको बताए ।
त्यस्तै, कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टर्ड एकाउन्टेन्ट्स संघ तयार रहने बताए । उनले चार्टर्ड एकाउन्टेन्ट्सहरु विभिन्न संघसंस्थाको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आइरहेकाले जुनसुकै समस्याको विषयमा समाधान गर्न सकिने बताए ।
अध्यक्ष पाण्डेले सरकारी तथा स्थानीय निकायमा समेत चार्टर्ड एकाउन्टेन्ट्सहरूको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता, जवाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्ने बताए ।