१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १३:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाली व्यवसायीलाई चीनको भिसा दिन माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:oo:oo

नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपालमा व्यापार व्यवसायलाई सहजीकरण गर्नका लागि नेपाली उद्योगी तथा व्यवसायीलाई चीनको भिसाका लागि पहल गरिदिन माग गरेको छ ।

महासंघले आज बिहान चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा व्यवसायीले नेपालमा सहज रूपमा व्यवसाय सञ्चालनका लागि चीनमा जान रोकिएको भिसा सहजीकरण गर्न माग गरेका हुन् ।

कार्यक्रममा महासंघका अध्यक्ष कुमार कार्कीले केरुङ, तातोपानीलगायतका चीनसँग जोडिएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायलाई सहज रूपमा आवतजावतको व्यवस्था मिलाउन चीन सरकारसँग पहल गरिदिन आग्रह गरे ।

‘केरुङ, तातोपानीलगायतका नाकामा नेपाली व्यवसायी, चालक तथा सहचालकलाई आवतजावतका लागि सहज वातावरण बनाउनुपर्छ, केरुङ तथा खासामा आइपुगेका सामान बढीमा १० दिनभित्र नेपाली भन्सार नाकामा आइपुग्ने वातावरण बनाउनुपर्छ,’ उनले भने ।

महासंघले नेपाली सामान केरुङ र खासामा निर्यात गर्दा सहज वातावरण निर्माण गर्नुपर्ने, चीनका विभिन्न सहरमा अध्ययनरत विद्यार्थीलाई चीनमा अध्ययन गर्न सहज वातावरण बनाउनुपर्ने, चीनबाट आयात गरिने आधिकारिक ब्रान्डेड सामान तथा औषधिजन्य कच्चापदार्थको सहजीकरण गर्नुपर्ने, कृषिजन्य रासायनिक मल तथा बिउबिजनको आयातमा सहजीकरण गर्नसमेत माग गरेको छ ।  

भेटमा राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्या आमदेशवासीको समस्या भएको भन्दै उक्त समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । ‘नाकाभित्र रहेका समस्या समाधान गरी नाकालाई सहज बनाउन मेरो पर्यत्न रहन्छ,’ उनले भने ।

राजदूत श्रेष्ठले भिसा समस्या समाधानमा पनि आफ्नो प्राथमिकता रहने बताए । ‘चीनमा स्थापना भएको नेपाली राजदूतावास नेपाली जनताको समस्या समाधान गर्नका लागि स्थापना भएको हो, म नेपालीकै काम गर्न चीन जान लागेको हो, व्यवसायीलाई परेको पिरमर्काको समाधान मेरो उच्च प्राथमिकता हुनेछ,’  उनले भने ।

महासंघका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले चीनसँग जोडिएका नेपाली नाका अवरुद्ध हुँदा नेपाली उद्योगी–व्यवसायी ठूलो समस्यामा परेको बताए । चीनमा गएर सामान छानेर नेपाल ल्याउने वातावरण निर्माणमा लाग्न राजदूतसमक्ष अनुरोध गरे ।

महासंघका संस्थापक अध्यक्ष नरेश कटुवाल, सल्लाहकार समितिका सभापति नयनबहादुर पण्डित क्षेत्रीलगायतले नेपाल–चीन सम्बन्धलाई प्रगाढ बनाउँदै नेपाली उद्योगी व्यवसायीको हक, हितमा लाग्न राजदूतसमक्ष आग्रह गरेका थिए । 

०७३ मा स्थापना भएको महासंघमा देशभरका २३ संघ आबद्ध छन् । महासंघले देशभर आफ्नो संगठन विस्तार गर्ने लक्ष्य लिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए । उक्त महासंघमा हाल देशभरका दश हजार हाराहारीमा व्यवसायी आबद्ध छन् ।

ad
ad