वर्षाले विराटनगर महानगरका विद्यालय तीन दिन बन्द, रंगेलीमा कल्भर्ट बगाउँदा सवारी आवागमन अवरुद्ध

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

मंगलबार बिहानदेखि अविरल रूपमा भएको भारी वर्षाले डुबान समस्या बढेपछि विराटनगर महानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय तीन दिन बन्द गराएको छ । भारी वर्षाले बाढीको समस्या बढेपछि मंगलबार साँझ आकस्मिक रूपमा बसेको विराटनगर महानगरको विपत् व्यवस्थापन समितिको बैठकले १५ देखि १७ असारसम्मका लागि नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

महानगरपालिका शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाका अनुसार तीन दिनसम्म अविरल वर्षाको समस्या रहेको र बाढी र डुबानले गर्दा कतिपय स्थानका विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा रहेको र धेरै ठाउँमा विद्यार्थीलाई आउजाउ गर्न समस्या हुने भएकोले विद्यालय बन्द गराइएको हो । खतिवडाका अनुसार अविरल वर्षाको समस्या नभएमा विद्यालय बन्दको अवधि लम्बिन पनि सक्नेछ । 

प्रहरीका अनुसार अविरल वर्षाले गर्दा विराटनगर महानगरको १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका एक हजार पाँच सय घरपरिवार डुबानमा परेका छन् । विस्थापितलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको र थपलाई सार्ने काम भइरहेको   प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।  अविरल वर्षाले गर्दा विराटनगर–रंगेली सडकखण्डअन्तर्गत हुलाकी राजमार्गमा पर्ने रंगेली नगरपालिका– १ मंगलबारेमा रहेको कल्भर्ट बगाएपछि सवारी आवागमन अवरुद्ध भएको छ । 

बाढीले गर्दा मोरङको सुन्दरहरैँचा र  सुनवर्षी, रंगेली, बेलबारी, रतुवामाई नगरपालिका अनि  केराबारी, कटहरी, जहदा, ग्रामथान, धनपालथान र बुढीगंगालगायत गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् ।अविरल वर्षाले गर्दा मोरङमा मंगलबार एकजनाको मृत्यु भएको थियो । एउटा खोलाको निर्माणाधीन पुल भत्किएको थियो  ।    
 

See More On

सुझावित समाचार