१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवराज मैनाली काठमाडाैं
२०७९ असार १३ सोमबार ०७:०३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि...

कुवेतबाट १०७ यात्रु लिएर आएको जजिरा एयरलाइन्सको विमान बिहान ३ः२० मा अवतरण गर्ने वेला रनवेमा मान्छे हिँडिरहेको देखेपछि पाइलटले तत्काल पुनः आकाशतिर फर्काएर दुर्घटना हुनबाट जोगाए

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७९ असार १३ सोमबार ०७:०३:००

विशेष अवस्थामा अनुमति लिएरबाहेक संसारभरका विमानस्थलको रनवेमा कोही पनि हिँड्न पाउँदैनन् । तर, नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापन यति भद्रगोल छ कि कर्मचारी रनवेबाटै ओहोरदोहोर गर्छन् । आइतबार कुवेतबाट एक सय सात यात्रु बोकेर आएको जहाज त्यही लापरबाहीका कारण झन्डै विमानस्थलमा दुर्घटना भएको थियो । तर, पाइलटले तत्काल जहाज आकाशतिर फर्काएर दुर्घटना हुनबाट जोगाए । 

बिहान ३ः२० मा कुवेतबाट आएको जजिरा एयरलाइन्सको विमान जे ९५४१ अवतरण हुनै लागेको थियो । विमान लगभग रनवेनजिकै पुगिसकेको थियो । तर, केही व्यक्ति रनवेमा हिँडिरहेको देखेपछि पाइलटले तत्कालै विमान ‘ओभरसुट’ गरे । र, विमानस्थलको गैरजिम्मेवारीप्रति टावरलाई जानकारी गराए । 

पाइलटको सुझबुझका कारण दुर्घटनाबाट जोगिएको जहाजले करिब २० मिनेट काठमाडौंको आकाशमा फन्को लगायो । रनवे ‘क्लियर’ भएपछि बल्ल अवतरण भयो । विमानभित्र सफाइ गर्ने नेपाल एयरलाइन्सका तर्फबाट खटिएका कर्मचारी त्यसरी रनवेमै हिँडेका थिए । नेपाल एयरलाइन्सले विमानमा सफाइ कार्यका लागि सुनगाभा नामक कम्पनीलाई जिम्मा दिएको छ । जजिराको विमान अवतरण गर्ने समयमा सोही कम्पनीका कर्मचारी रनवेमा हिँडिरहेका थिए । यो घटनाले फेरि एकपटक विमानस्थलभित्र हुने गम्भीर सुरक्षा लापरबाही छताछुल्ल भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले यसबारे कुनै छानबिनसमेत थालेको छैन । महाप्रबन्धक प्रेमनाथ ठाकुरले सामान्य प्रकृतिको घटना भएको बताए । ‘विमानस्थल २४सै घन्टै चलिरहेको छ भन्ने ती कर्मचारीलाई थाहा रहेनछ, सटकट बाटो प्रयोग गर्ने क्रममा रनवेमा हिँडेछन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘यो सामान्य प्रकृतिकै घटना हो, हामीले सबै निकायको बैठक राखेर अबदेखि यस्तो घटना नहोस् भनेर सचेत गराएका छौँ ।’ ठाकुरका अनुसार त्यसरी रनवेमा हिँड्ने पाँचजना कर्मचारीको पास सिज गरेर आइतबारदेखि नै हटाइएको छ । जसमा दीपेन्द्र चौधरी, कारसाङ तामाङ, डेबिड थापा, नवयुग अधिकारी र थलबहादुर खड्का छन् । 

नागरिक उड्डयन सुरक्षाविज्ञ भरत ढकालले विमान अवतरण गर्ने क्रममा रनवेमा मान्छे हिँड्नु नागरिक उड्डयन सुरक्षामा चरम लापरबाही भएको बताए । ‘रनवेमा कोही पनि हिँड्न पाउँदैन,’ उनले भने, ‘यस्ता घटना २०–२५ वर्षअघि सुनिन्थ्यो, अहिले पनि त्यस्तो हुन्छ भने यो गम्भीर लापरबाही हो । ठूलो दुर्घटना रोकियो । यस विषयमा छानबिन हुनुपर्छ ।’ विमानभित्र सफाइमा करारका कर्मचारी खटिने गरेका छन् । सबै विमान सफाइको जिम्मेवारी नेपाल एयरलाइन्सको छ । उसले सुनगाभा नामक कम्पनीमार्फत सफाइ कर्मचारी राखेको छ । कर्मचारी भर्ना गर्दादेखि विमानस्थलभित्रको सुरक्षामा ख्याल गर्न आफूले नेपाल एयरलाइन्सलाई समेत सचेत गराएको महाप्रबन्धक ठाकुरको भनाइ छ । दुई महिनाअघि पनि सोही कम्पनीका तीन कर्मचारी सुन तस्करीमा पक्राउ परेका थिए । विमानको शौचालयबाट सुन निकालेर पर्समा राखी उनीहरूले तस्करी गर्दै आएको खुलेको थियो । 

विमानस्थलमा कर्मचारीबाटै पटक–पटक अवैध गतिविधि हुँदै आएका छन् । विभिन्न निकायका कर्मचारी भए पनि उनीहरूको सुरक्षा प्रमाणीकरण हुने गरेको छैन । जसकारण कर्मचारीबाटै सुरक्षा जोखिम बढेको प्रहरी अधिकारी बताउँछन् । यसअघि पटक–पटक अन्तर्राष्ट्रिय विमानस्थलमा भएका सुरक्षा लापरबाहीका घटना बाहिर आएका छन् । यसअघि गत फागुनमा एक युवक तारबारबाट छिरेर विमानसम्म पुगेको घटनाको विषयमा छानबिन गर्न गठन भएको समितिले रनवे क्षेत्रमा २४सै घन्टा सिसिक्यामेरामार्फत निगरानी गर्न सुझाव दिएको थियो । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई नेतृत्वको छानबिन समितिले दिएका सुझाव कार्यान्वयनमा चासो दिइएको छैन । 

 विमानस्थलमा एकपछि अर्काे सुरक्षा त्रुटि 
९ फागुन ०७८ :
  रौतहटका असरफ आलम विमानस्थलको कोटेश्वर क्षेत्रको पेरिमिटरबाट छिरेर सीधै कतार उड्न लागेको नेपाल एयरलाइन्सको जहाजभित्र प्रवेश गरे । यो घटनाको छानबिन गर्न समिति गठन भयो, तर समितिले दिएको सुझाव कार्यान्वयन भएन । 

१२ फागुन ०७८ : विमानस्थल अध्यागमनका नासु लक्ष्मण गुरागाईं तस्करीको सुनसहित पक्राउ परे । उनले दुबईबाट आएका सुनसरीका कमल घिमिरेको सुन अध्यागमनको शौचालयमा लगेर पास गराउने प्रयास गरेका थिए । पटक–पटक यस्तो काम गराएको आशंका । 

१५ वैशाख ०७९ : हिमालय एयरलाइन्सको शौचालयमा लुकाएर ल्याइएको सुन विमानका सफाइ कर्मचारीद्वारा तस्करी हुँदै गर्दा बरामद भयो । त्यसअघि पनि तीनपटक त्यसैगरी तस्करी गराएको खुलासा ।

 पटक–पटक उठ्छ सुरक्षा लापरबाहीको प्रश्न
विमानस्थलमा सुरक्षा लापरबाहीको विषय गत वर्षदेखि नै उठ्दै आएको छ । गत वर्ष १८ भदौमा आन्तरिक विमानस्थलबाट चार केजी सुन नेपालगन्ज पुग्दा पनि विमानस्थलको सुरक्षा संयन्त्रले जानकारी पाएको थिएन । सो घटनाबारे छानबिन गर्न एसएसपी सन्दीप भण्डारी नेतृत्वमा गठन भएको समितिले प्रहरीको कमजोरी रहेको औँल्याएको थियो । राम्रोसँग चेकजाँच नहुँदा जुत्तामा राखेर सुन तस्करी गरिएको समितिको प्रतिवेदनमा उल्लेख छ । 

सुन र डलर मात्र होइन, नेपालको विमानस्थलमा चिम्पान्जीसमेत तस्करी भएको थियो । अन्तर्राष्ट्रिय तस्कर समूहले पाँच वर्षअघि नाइजेरियाबाट ल्याइएको चिम्पान्जी विमानस्थलबाट पास भइसकेपछि बरामद भएको थियो । यी घटनाले कुख्यात अपराधी चाल्र्स शोभराजले भनेझैँ नेपालको विमानस्थलबाट ‘हात्तीसमेत नछिर्ला’ भन्न नसकिने अवस्था छ । गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान टोलीले पाँच वर्षको अवधिमा ३८ सय केजी सुन तस्करी भएको पत्ता लगाएको थियो ।

त्यसअघि साढे ३३ किलो सुन विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्रीलगायत प्रहरीको मिलेमतोमा भित्रिएको थियो । त्यस्तै, तत्कालीन एसएसपी रविराज श्रेष्ठ डलर तस्करी प्रकरणमा बर्खास्त भएका थिए । विमानस्थलको सुरक्षा बलियो बनाउन विमानस्थलमा कार्यरत सबै निकायका कर्मचारीमा पनि शुद्धीकरणको आवश्यकता भएको पूर्वएआइजी विज्ञानराज शर्माले बताए ।