१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मर्स्याङ्दी नदीमा बाढीको कृत्रिम घटना अभ्यास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२२:oo

लमजुङको मर्स्याङ्दी नदीमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्लास्थित सुरक्षा समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाढीले बगाएकाको व्यक्तिको उद्धार तथा उपचारसम्बन्धी नमुना अभ्यास देखाइएको थियो । बेँसीसहर नगरपालिका– १ उदीपुरस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँध क्षेत्रमा नमुना अभ्यास देखाइएकोे हो । 

जिल्ला तथा स्थानीय तहको विपत् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन, खोज तथा उद्धारमा प्रयोग हुने स्रोतसाधन र जनशक्तिको व्यवस्थापन तथा विपतकाे काम गर्ने सबै सरोकारवालासँगको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । विपत् प्रतिकार्यका लागि यस्तो अभ्यास निकै प्रभावकारी हुने उनको भनाइ थियो ।

नदीमा बाढीले बगाएकाको खोजी तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के–कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कृत्रिम नमुना अभ्यास गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीको भनाइ छ । उनले भने, ‘बाढीले बगाएको अवस्थामा तत्काल गरिने खबर, प्रारम्भिक चरणमा गरिने खोज उद्धार, घाइतेलाई अस्पताल पुर्‍याउनुअघि गर्न सकिने सकिने प्राथमिक उपचार र अस्पतालसम्म पुर्‍याउन गरिने सहयोगजस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको हो ।’ 

नेपाली सेनाको चण्डीप्रसाद गण, सशस्त्र प्रहरी बल रानीकुवा र नेपाल प्रहरीको विशेष टोलीको समन्वयमा समन्वयमा नमुना अभ्यास भएको हो । प्राकृतिक तथा अन्य विपत्तिबाट छिटोछरितो जोगिन र जोगाउनका लागि तत्काल अपनाउन सकिने विधि र प्रक्रिया अपनाई नमुना अभ्यास गरिएको सशस्त्र प्रहरी बल लमजुङका डिएसपी नवराज थापाले बताए । उद्धार टोलीका संयोजक उदीपुरस्थित चण्डीप्रसाद गणका क्याप्टेन प्रदीप थापाले जल प्रकोपको सचेतनाका लागि नुमना अभ्यास गराइएको बताए ।

नमुना अभ्यासले विपत् प्रतिकार्यका सन्दर्भमा प्रत्येक वडाहरूमा तालिमप्राप्त जनशक्ति तयार गर्नुपर्ने सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए । र्‍याफ्टिङ गाइडसमेत रहेका दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उद्धारकर्मीहरू आफू नै सचेत भएर जानुपर्ने र सबैखाले उद्धार सामग्रीको प्रयोग गरेर मात्रै उद्धारकार्यमा खटिनुपर्ने बताए । 

करिब डेढ घन्टाको नमुना अभ्यासका क्रममा एकजना महिला घाँस काट्ने क्रममा भिरबाट लडेर मर्स्याङ्दी नदीमा बगेपछि स्थानीयले देख्छन् र उनीहरू चिच्याउँदै हारगुहार माग्न थाल्छन् । सोही वेला एक व्यक्ति उद्धारको निम्ति नदीमा जाँदा उनलाई पनि बगाउँछ । कुनै एक स्थानीयले देखेर प्रहरीलाई खबर गर्छन् । प्रहरीले मानिस बगाएको जानकारी पाउनेबित्तिकै सुरक्षा समितिमा जानकारी गराई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुग्छन र उद्धारमा खटिन्छन् ।

नदीमा बगेका दुईजनालाई केही सुरक्षाकर्मीले डोरीबाट हामफालेर, केही डुंगामा चढेर, केही पौडिँदै गएर उद्धार गरी, प्राथमिक उपचार गरेर अस्पतालसम्म पुर्‍याउँछन् । मध्यमर्स्याङ्दीका जलाशयमा बाढीले बगाएकाहरूको उद्धारका लागि नमुना अभ्यास भइरहँदा स्थानीय सहभागीहरू एकनासले हेरिरहेका थिए ।

बर्खाको समयमा बाढीपहिरोले जनधनको क्षति पुर्‍याउन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले शनिबार मानिसलाई बाढीले बगाएपछि उद्धारको कृत्रिम घटना अभ्यास देखाएकोे हो । जल प्रकोपबाट प्रभावित नागरिकको उद्धार समयमै हुन आवश्यक रहेकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी टोलीले १२ दिनसम्म मर्स्याङ्दी नदीमा तालिम लिएका थिए ।  

ad
ad