मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
यम बम काठमाडाैं
मञ्जु टेलर काठमाडाैं
२०७९ असार १२ आइतबार ०६:२१:००
Read Time : > 8 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विपत् प्राधिकरण भन्छ– यस वर्ष ५१ जिल्ला पहिरो र २१ जिल्ला बाढीको जोखिममा

बर्खाको बाढीपहिरोले मात्र ६ वर्षमा १२ सय १५ को मृत्यु

Read Time : > 8 मिनेट
यम बम, काठमाडाैं
मञ्जु टेलर, काठमाडाैं
२०७९ असार १२ आइतबार ०६:२१:००

बर्खाको बाढीपहिरोले मात्र पछिल्ला ६ वर्षमा एक हजार दुई सय १५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष पनि ७२ जिल्ला बाढी र पहिरोको जोखिममा रहेको आकलन गरेको छ । मधेसका आठवटै जिल्ला बाढीको जोखिममा छन् भने बाँकी प्रदेशमा बाढी र पहिरो दुवैको जोखिम छ । 

प्राधिकरणका अनुसार ५१ जिल्लामा पहिरो र २१ जिल्लामा बाढीको जोखिम छ । ती जिल्लाका चार लाख २१ हजार घरपरिवारका २० लाख जनसंख्या प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान छ । त्यसमध्ये कम्तीमा एकतिहाइ अर्थात् पाँच लाख ७० हजारलाई खाद्यान्न र अस्थायी आवासको सहायता आवश्यक पर्ने अनुमान गरिएको विपत् व्यवस्थापनविज्ञ टिवेन्द्र बास्कोटाले बताए ।

१० दिनका लागि खाद्य सहायता र पाँच लाख ७० हजारलाई एक महिनासम्म खाद्य सहायता उपलब्ध गराउन १८.३९ मिलियन डलर चाहिने विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्ययोजनामा उल्लेख छ । नेपालमा मनसुनका चार महिनामा वार्षिक ८० प्रतिशत अर्थात् औसत एक हजार पाँच सय मिलिमिटर वर्षा हुन्छ । असार र साउनमा धेरै वर्षा हुने गर्छ । अहिले मनसुन सक्रिय छ ।

विपत् व्यवस्थापनविज्ञ डा. सुबोध ढकालले सरकारले सूचना प्रणाली (घटनाका विवरण)मा काम गरे पनि बाढीपहिरोको जोखिम न्यूनीकरणमा काम गर्न नसकेको बताए । ‘गत वर्ष बर्खाको सुरुवातमै ठूलो क्षति भयो, यस वर्ष पनि धेरै पानी पर्छ भनिएको छ, तर एकीकृत रूपमा काम भएको देखिँदैन,’ उनले भने ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले वर्षा र बाढीलगायत विपत्का पूर्वानुमान र तयारी समयमै गरेर काम थाल्न सके क्षति घटाउन सकिने बताइन् । ‘हामी (विभाग) पूर्वानुमान गर्छाैँ, बाँकी एक्सन लिने काम अन्य निकायको हो,’ उनले भनिन्, ‘यस विषयमा केही ग्याप भने देखिन्छ ।’ जस्तो कि गत कात्तिक पहिलो साता ठूलो वर्षाको सम्भावना रहेको पूर्वानुमान गर्दा पनि गृह र अन्य निकायले वास्ता नगर्दा ठूलो क्षति हुन पुग्यो । 

विपत् व्यवस्थापनविज्ञ ढकाल नेपालमा भुइँचालोपछि पहिरो बढे पनि मुख्य समस्या बाढी नै भएको बताए । मेलम्चीको घटनाबाट पाठ सिक्नुपर्ने उनको भनाइ छ । ‘खोलाको माथिल्लो सतहमा चेक ड्याम बनाएर पानीको बहाव नियन्त्रण गर्न सकिन्छ, बस्ती क्षेत्रमा तटबन्ध बनाउनुपर्ने हो,’ उनले भने, ‘खोलाछेउका जोखिमयुक्त बस्ती स्थानान्तरण पनि गर्नुपर्ने हुन्छ, तर हामीले यसमा ध्यान दिएका छैनौँ ।’

विपत् प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले पूर्वतयारी र प्रतिकार्यमै जोड दिइए पनि विपत्पछि उद्धार, राहत र पुनस्र्थापना राज्यको दायित्व रहेको बताए । ‘हामी एकीकृत ढंगबाट काम गर्न खोजिरहेका छौँ । प्राधिकरण स्थापनाको दुई वर्ष मात्र भएको छ,’ उनले भने, ‘घटना भइहालेमा उद्धार र सुरक्षित वासस्थानका लागि तयारी गरेका छौँ ।’

आज पनि ठूलो पानी पर्ने प्रक्षेपण
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार पनि ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ । मौसमविद् हिरा भट्टराईका अनुसार गण्डकी, लुम्बिनी र कर्णालीका केही क्षेत्रमा ठूलो पानी पर्न सक्छ ।

त्यसबाहेक देशभर पहाडी भेगका धेरै क्षेत्रमा वर्षाका आकलन गरिएको छ । सुदूरपश्चिममा भने मनसुनी वायु सक्रिय भइसकेको छैन । तर, आइतबार राति भने त्यहाँ पनि ठूलो वर्षाको आकलन महाशाखाले गरेको छ । ‘मनसुन सक्रिय बनेको छ, पश्चिमी र स्थानीय वायु कमजोर बनेका छन् ।

सुदूरपश्चिममा पनि एक–दुई दिनमा मनसुनी वायुको प्रभाव हुनेछ,’ मौसमविद् भट्टराईले भने, ‘अब बर्खामा बाढीपहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउनुपर्छ ।’ विभागअन्तर्गतकै बाढी पूर्वानुमान महाशाखाले २४ घन्टे सेवा थालेर बाढी बुलेटिन जारी गर्न सुरु गरिसकेको छ । 

नेपालमा मनसुन भित्रिएको २०औँ दिनमा अर्थात् शुक्रबार कर्णालीसम्म फैलिसकेको छ । पूर्व र मध्य नेपालमा केन्द्रित रहेको मनसुनी वायु शुक्रबार लुम्बिनी र कर्णालीमा पुगेको तथा प्रदेश १ मा २२ जेठमा मनसुन भित्रिए पनि मधेस, बागमती र गण्डकीमा २६ जेठमा मात्र पुगेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो । 

बर्खामा कहाँ–कहाँ धेरै वर्षाको सम्भावना ?
गत वर्षझैँ यस वर्ष पनि नेपालमा बर्खायाममा औसतभन्दा बढी पानी पर्ने आकलन गत वैशाखमै गरिएको थियो । तर, जल तथा मौसम विज्ञान विभागले मनसुनको चार महिनामा कहिले धेरै पानी पर्छ वा फेरबदलबारे औपचारिक जानकारी दिएको छैन । मनसुनको प्रक्षेपण अद्यावधिक पनि गरिएको छैन । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले अघिल्लो प्रक्षेपणभन्दा धेरै फेरबदल नभए पनि प्रक्षेपण ‘अपडेट’ गर्न बाँकी रहेको प्रतिक्रिया दिइन् । 

मनसुनका कारण प्रदेश १ का उत्तरी, मधेसका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगबाहेक अन्य सबै क्षेत्रमा औसतभन्दा धेरै वर्षाको प्रक्षेपण छ । प्रदेश १ का तराईका भूभाग, बागमतीका उत्तरपूर्वी, गण्डकीका दक्षिणी, लुम्बिनी, कर्णालीका उत्तर–पश्चिम तथा सुदूरपश्चिमका उत्तरी भेगमा धेरै वर्षा हुन सक्ने ठानिएको छ । सुदूरपश्चिमको पूर्वी, कर्णालीको मध्य, गण्डकीको मध्य–पश्चमी र प्रदेश १ को मध्य भूभागमा पनि औसतभन्दा बढी वर्षाको आकलन गरिएको छ । गण्डकीको उत्तरी, सुदूरपश्चिमको मध्य तथा पश्चिमी भेगमा भने औसतभन्दा अलि बढी वर्षा हुन सक्ने देखिएको छ । 

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका ६ तयारी
१. गृहमन्त्री बालकृष्ण खाण नेतृत्वमा रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सम्भावित जोखिम कम गर्न कार्ययोजना स्वीकृत गरेको छ । समितिको ३० जेठमा बसेको १३औँ बैठकले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन, विपत् व्यवस्थापन कार्यान्वयनमा समन्वय र सहकार्यका लागि गृह मन्त्रालयका सहसचिव प्रदीप कोइराला संयोजकत्वमा मनसुन प्रतिकार्य कमान्ड टोली गठन गरेको छ । सहसचिव कोइरालाले कार्ययोजनाले आकलन गरेअनुसार पूर्वतयारीका काम भइरहेको बताए ।

२. विपत्मा गृह मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्नेछ । विपत् प्रतिकार्य तथा राहत सामग्री भण्डारणको व्यवस्था, मानवीय सहायता तथा राहत समग्री परिचालन गृह वा मातहतका निकायबाट हुनेछ । आवश्यकताअनुसार जिल्लास्थित विपत् व्यवस्थापन समितिको सहकार्यमा आपत्कालीन सामग्री खरिद गर्न सकिनेछ भने प्रभावितको खोजी, उद्धार तथा औषधि उपचारको व्यवस्था सुरक्षा अंग र स्वास्थ्य मन्त्रालयको समन्वयमा हुनेछ । समन्वयको काम विपत् प्राधिकरणले गर्नेछ ।

३. नेपाल प्रहरीले सातवटै प्रदेशमा जनशक्तिसहित उद्धारका सामग्री तयारी अवस्थामा राखेको जनाएको छ । पौडी तालिम प्राप्त एक हजार नौ सय ३० जनशक्ति प्रहरीले खटाएको छ । प्रहरीसँग ३१ वटा बोट र चार काठका डुंगा छन् । खोज र उद्धारका लागि कपिलवस्तु, नवलपरासी, बारा, सप्तरी, सिराहा, रौतहट, बर्दिया, बाँके, कैलाली र कास्की, पर्सा, रुपन्देही, मोरङमा २३ इन्फ्टेबल र पाँचवटा आल्मुनियम डुंगा (आउटबोर्ड इन्जिनसहित) राखिएको छ । उद्धार र खोजमा १० हजार जनशक्ति तयारी अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

४. सशस्त्र प्रहरीले दुई हजार ३४ जनालाई विशिष्टकृत विपत् व्यवस्थापन तालिम दिएर परिचालन गरेको जनाएको छ । सशस्त्र प्रहरीसँग १३ हेभी इक्विपमेन्ट छन् । योसँगै प्रहरी, सशस्त्र प्रहरी सेनासँग गोताखोर पनि छन् ।

५. सेनाले ७७ वटै जिल्लाका गणमा एक सय चारजना र गुल्ममा ३० जनाका दरले स्ट्यान्डबाई फौज राखेको जनाएको छ । त्यस्तै, काठमाडौं, इटहरी, चितवन, पोखरा र सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा रहेको सेनाले जनाएको छ ।

६. जल तथा मौसम विज्ञान विभागले ठूला नदीमा तीन दिनअघि नै र साना, खहरेमा तीनदेखि ६ घन्टाअघि बाढी पूर्वानुमान थालिसकेको छ । बाढी प्रभावित क्षेत्रका बासिन्दाको मोबाइलमा ‘अलर्ट एसएमएस’ दिइनेछ ।

गत वर्षको बर्खामा भौतिक क्षति धेरै
विपत् प्राधिकरणका अनुसार गत वर्ष बर्खामा बाढीपहिरोले ४५ पक्की पुल, तीन बेलिब्रिज र सात झोलुङे पुलमा क्षति पुगेको थियो । त्यस्तै, एक हजार २२ घर र पाँच सरकारी भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । ९३ शिक्षण संस्थाका भवन, ५२ जलविद्युत् आयोजना र ६ सय ७८ खानेपानीको स्रोतमा क्षति पुगेको थियो । ६४ करोड ३६ लाखको क्षति भएको प्राधिकरणको तथ्यांक छ । गत बर्खाको बाढीपहिरोबाट एक सय ३८ को ज्यान गएको छ । 

यस वर्ष बाढीपहिरोबाट २० लाख जनसंख्या र चार लाख २१ हजार घरपरिवार प्रभावित हुने
बाढीले सबैभन्दा धेरै सुनसरी र पहिरोले दोलखामा प्रभावित पार्ने अनुमान
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष ७२ जिल्ला बाढीपहिरोको जोखिममा छन् । ती जिल्लाका चार लाख २१ हजार घरपरिवारका २० लाख जनसंख्या प्रभावित हुन सक्नेछन् । बाढीले सबैभन्दा धेरै जनसंख्या सुनसरीमा प्रभावित हुने अनुमान गरिएको छ । यहाँको चार लाख १२ हजार सात सय ३० जनसंख्या प्रभावित हुने प्राधिकरणको अनुमान छ । त्यस्तै, रौतहटमा एक लाख ६३ हजार सात सय ३२ र कञ्चनपुरमा एक लाख नौ हजार आठ सय १८ जना प्रभावित हुन सक्ने अनुमान छ । त्यस्तै, पहिरोबाट सबैभन्दा धेरै दोलखामा १६ हजार सात सय १९ जनसंख्या प्रभावित हुने अनुमान छ । डोटीमा १४ हजार चार सय ६१ र प्युठानमा १३ हजार सात सय ६० जनसंख्या पहिरोबाट प्रभावित हुने प्राधिकरणको अनुमान छ । 

विपत् कोषमा ६ अर्ब ८० करोड
विपत् जोखिम न्यूनीकरण तथा उद्धारका लागि आपत्कालीन अवस्थामा खर्चन तीन तहकै सरकारसँग कोष छ । संघ सरकारसँग त दुईवटा कोष छन् । ती कोषमा ६ अर्ब ८० करोड रुपैयाँ मौज्दात छ । जसमध्ये प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा तीन अर्ब पाँच करोड छ भने संघकै केन्द्रीय विपत् व्यवस्थापन कोषमा ५९ करोड ४४ लाख छ । सातवटै प्रदेशमा रहेको प्रदेश विपत् कोषमा ५९ करोड ४४ लाख र ७७ जिल्लामा रहेका विपत् कोषमा एक अर्ब नौ करोड छ । यीबाहेक स्थानीय तहले पनि विपत् कोष बनाएका छन् । तर, सो रकम यहाँ उल्लेख छैन ।

काठमाडौं उपत्यकाका दुई दर्जन स्थान सधैँ डुबानको जोखिममा

हरेक वर्ष उपत्यकामा पनि डुबानको समस्या देखिने गरेको छ । डुबानकै कारण प्रत्येक वर्ष उपत्यकामा जनधनको क्षति बढ्दै गएको प्रहरी तथ्यांकले देखाउँछ । प्रहरी प्रधान कार्यालय विपत् व्यवस्थापन महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मात्र झन्डै दुई दर्जन स्थान डुबानबाट प्रभावित हुने गरेका छन् । 

गत वर्ष डुबानका कारण उपत्यकाका विभिन्न २३ वटा स्थानमा क्षति पुगेको विपत् व्यवस्थापन महाशाखाको विवरणले देखाएको छ । बाढी र डुबानका कारण गत वर्ष नौ सय २० घर डुबानमा परेका थिए भने एकजनाको मृत्यु, एउटा घरमा पूर्णतया क्षति र दुईवटा जग्गा डुबानमा परेको तथ्यांक छ । 

प्रहरीको विपत् व्यवस्थापन महाशाखाको विवरणअनुसार ०७७ मा डुबानबाट प्रभावित विभिन्न १८ स्थानमा घर डुबानमा परेका थिए । जसकारण ६५ परिवार विस्थापित हुनुका साथै एकजनाको मृत्यु भएको थियो । बाढी र डुबानबाट उपत्यकामा १५ वटा चौपायाको मृत्यु, दुईवटा घरमा पूर्णतया क्षति, एउटा पुलमा क्षति भएको प्रहरी तथ्यांकले देखाउँछ । ०७६ मा विभिन्न प्रभावित १३ स्थानमा तीन सय ३५ घर डुबानमा परेका थिए भने बाढीका कारण चारजनाको मृत्यु, एक घाइते र एकजना बेपत्ता भएका थिए । 

अव्यवस्थित सहरीकरणका कारण डुबान क्षेत्र बढ्दै
अधिकांश भूभाग कंक्रिटले ढाकिएकाले खोलामा पानीको बहाव उच्च हुन थालेसँगै नदी किनाराका बस्ती डुबानको जोखिममा पर्दै गएका छन् । अकासेपानी संकलन अथवा जमिनमुनि जाने प्रक्रिया बन्द भएपछि काठमाडौं उपत्यकामा ढल तथा खोलामा पानीको चाप बढ्ने र सोही कारण किनारका बस्तीमा डुबान पर्ने गरेको विज्ञहरू बताउँछन् । 

कंक्रिट संरचनाको बढ्दो चाप, ढलको व्यवस्थापन पर्याप्त नहुनु र मौसम परिवर्तनका कारण केही वर्षयता वर्षाको प्रकृतिमा आएको परिवर्तनले बाढी र डुबानको जोखिम प्रत्येक वर्ष बढ्दै गएको सहरी विकाससम्बन्धी जानकार किशोर थापा बताउँछन् । ‘वर्षाको पानी सोस्ने खाली जमिन नहुँदा सबै पानी बगेर खोलामा जान्छ । खोलावरपरसमेत मापदण्ड मिचेर संरचना बनेका छन्, छोटो समयमै अत्यधिक वर्षा भइरहेकाले वरपरका बस्तीमा डुबान निम्त्याउनु स्वाभाविक हो । सहरी क्षेत्रमा अकासेपानी व्यवस्थापनमा चासो नदिनुको परिणाम वर्षामा डुबानका रूपमा देखिएको हो,’ उनले भने । 

संयुक्त राष्ट्रसंघको एक अध्ययनअनुसार विश्वका उच्च १० सहरीकरण वृद्धि भएका क्षेत्रमा नेपाल पनि पर्छ । ००७ को दशकताका भवन, सडक तथा अन्य पूर्वाधारले एक प्रतिशतजति मात्रै क्षेत्रफल मात्रै ओगटेको थियो, जुन ०७९ सम्म आइपुग्दा बढेर २५ प्रतिशत पुगेको छ । सहरी पूर्वाधारविद् थापाका अनुसार पानीको सहज बहावलाई चाहिने न्यूनतम चौडाइ अवरुद्ध हुने गरी बाटो बनाउने, पर्खाल लगाउने काम उत्तिकै दु्रत गतिमा छ । यी सबै कारणको एकमुस्ट असरका रूपमा सामान्य वर्षामा समेत डुबानको ठूलो प्रभाव देखिन थालेको छ ।

जोखिम क्षेत्रका बासिन्दा चिन्तित 
यस वर्ष अत्यधिक वर्षा हुने मौसम पूर्वानुमानको सूचना जारी भएसँगै वंशीघाट त्रिपुरेश्वरका भरत नेपाल फेरि डुबानको चपेटामा परिने डरले त्रसित छन् । ३३ वर्षदेखि बागमती किनारमा बसोवास गर्दै आएका उनको परिवारमा वर्षासँगै डर बोकेर आउने गर्छ । मनसुन सुरु भएयता ठूलो पानी परेको दिन निद्रा पर्दैन उनलाई । 

दुई वर्षयता वर्षामा घरको पहिलो तला पूरै डुब्न थालेकाले उनी यसपालिको मनसुनमा झन् डराएका छन् । ‘पहिले पानी पर्दा डुबानको डर हुँदैनथ्यो । किनारका बस्तीमा खोलाले भन्दा अव्यवस्थित ढलले बढी डुबानमा पार्ने गरेको छ,’ उनले भने ।

वर्षामा बागमतीमा आएको बाढीले किनारका बस्तीमा असर पार्ने भए पनि ढल र विभिन्न गल्ली हुँदै बगेको पानीसमेत खोला किनारका बस्तीमा गएर जम्मा हुने हुँदा प्रत्येक वर्ष डुबानको जोखिम बढ्दै गएको छ । वंशीघाटकै ६२ वर्षीय विनोद रायमाझी भन्छन्, ‘बागमतीको पानी माथिसम्म आउँदैन, तर टेकु एरियाको ढलले समस्या पारेको छ । यसबारे काठमाडौं महानगर बेखबर छ । पानी पर्दा ढलले धान्न नसकेको पानी बस्तीमा पर्छ, तर यसबारे कसैको चासो छैन ।’ 

वंशीघाटमा मात्रै नभई वर्षाको समयमा बागमती किनारका अधिकांश क्षेत्रमा डुबान बढ्न थालेको छ । गत मंगलबार कक्षाकोठा र खेल्ने मैदानमा बाढी पसेपछि भक्तपुर नगरपालिका– ४ राममन्दिर भोलाछेंस्थित शान्ति निकेतन माध्यमिक विद्यालयमा पठनपाठन नै प्रभावित भएको थियो । 

दिउँसो विद्यार्थी सडकछेउमा खेलिरहेका थिए । कक्षाकोठा डुबानमा पर्दा अतिरिक्त कक्षा सञ्चालनका लागि ठाउँ उपलब्ध नभएपछि विद्यार्थीहरू फुर्सदिला देखिन्थे । यहाँ वर्षा सुरु भएसँगै हनुमन्ते खोलामा आएको बाढीको असर देखिन थाल्छ । 

हरेक वर्ष विद्यालय डुबानमा परेपछि पुस्तकालय, स्टाफ कक्ष वा एउटै कोठामा दुईवटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यताका बीच शिक्षक र विद्यार्थीले हैरानी भोग्दै आएका छन् । ‘असार सुरु नहुँदै तीनपटकसम्म विद्यालय डुबानमा परिसक्यो, जसले गर्दा १० वटा कक्षाकोठा प्रभावित भए । अहिले बिहान र बेलुकाको सिफ्ट मिलाएर कक्षा चलाउनुपरिरहेको छ । यसबारे नगरपालिकाले अहिलेसम्म चासो देखाएको छैन,’ विद्यालयका प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले भने । 

बाढीले यहाँ अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थी प्रभावित हुन्छन् । ‘विज्ञान र कम्प्युटर प्रयोगशाला, प्रशासनलगायत कक्षामा पढाउनुपर्ने बाध्यता छ । अत्यधिक वर्षा भएको दिन साना कक्षालाई बिदा दिनुपर्ने अवस्था आएको छ,’ कर्माचार्यले भने । हनुमन्ते खोलामा बाढीका कारण माटो थुपिँ्रदै गएकाले सानो बाढी आउँदासमेत वरपरका बस्ती डुबान हुने गरेका छन् । 

शान्ति निकेतनसँगै शारदा आधारभूत विद्यालय, राममन्दिर र वरपरका घरमा बाढीले ल्याएको लेदो भरिएपछि जनजीवन प्रभावित भएको छ । स्थानीय बासिन्दाका अनुसार ढल मिसिएको लेदो थुप्रिएका कारण जति सफा गरे पनि दुर्गन्ध फैलिइरहेकाले बस्न समस्या भइरहेको छ । प्रत्येक वर्ष खोलावरपरको खेत, सांस्कृतिक संरचना, विद्यालय र बस्ती प्रभावित भइरहे पनि खोला व्यवस्थापनमा नगरपालिकाले चासो देखाएको छैन ।