मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ८ बुधबार १९:१९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जैविक विविधताको दिगो सदुपयोग गरी एफडिआई भित्र्याउन सकिन्छ : मन्त्री यादव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ८ बुधबार १९:१९:००

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जैविक विविधताको संरक्षण र वनस्पतिको उपयोगिता सँसँगै लैजानुपर्ने बताएका छन् । वनस्पति विभागको आयोजनामा बुधबारबाट काठमाडौंमा सुरु भएको तीनदिने ‘इन्टरनेसनल कन्फरेन्स अन बायोडाइभर्सिटी र बायोप्रोस्पेक्टिङ’मा वनमन्त्री यादवले जैविक स्रोतको दिगो उपयोग गरी सरकारको समृद्धिको नीति हासिल गर्न मद्दत पुग्ने बताए ।

मन्त्री यादवले सरकारका नीति, रणनीतिक दस्ताबेज, आवधिक योजना र कार्यक्रममा जैविक विविधता र जैविक सम्भाव्यतासम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखिएको बताए । ‘जैविक विविधताको दिगो सदुपयोग गरी एफडिआई (प्रत्यक्ष वैदेशिक लगानी) मार्फत ‘मेक इन नेपाल’ अभियानमार्फत हाम्रा आनुवंशिक स्रोतमा आधारित जैविक स्रोतको खोज, मूल्य अभिवृद्धि र अन्तिम उपभोग्य उत्पादन विकासमार्फत हासिल गर्न सकिन्छ,’ उनले भने, ‘मेक इन नेपाल अभियानको मुख्य उद्देश्य बिरुवाको कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्न विदेशी लगानी र विदेशी प्रविधि आकर्षित गर्ने हो ।’

वनस्पति उद्यानको सञ्जाल विकास गरी वनस्पति प्रजातिको संरक्षणमार्फत स्थानीय र लोपोन्मुख प्रजातिको संरक्षण भइरहेको उनले बताए । आनुवंशिक स्रोतको उपयोगबाट प्राप्त लाभ वर्तमान र भावी पुस्ताका लागि आवश्यक रहेको उनको भनाइ छ । ‘हामी सबैलाई थाहा छ, जैविक विविधताको सम्भाव्यता बायोप्रोस्पेक्टिङमार्फत प्रयोग गर्न सकिन्छ, सामाजिक र व्यावसायिक मूल्यका नयाँ स्रोतहरूको लागि जैविक विविधताको अन्वेषण आवश्यक छ,’ उनले भने ।

जैविक स्रोतको समतामूलक वितरणमा वैज्ञानिकहरूको छलफल
सम्मेलनमा नेपाल, भारत, अमेरिकासहित विभिन्न मुलुकका वैज्ञानिक तथा अनुसन्धानकर्मीको सहभागिता छ । सम्मेलनको उद्घाटन सत्रमा वनस्पतिविद्त्रय प्रा. रामप्रसाद चौधरी, प्रा.  प्रमोदकुमार झा र प्रा. कृष्णकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका छन् ।

चौधरीले ‘जैविक विविधता र जैविक–उपयोगिता’, झाले ‘जैविक विविधता अनुसन्धानका आवश्यक आयाम’ र श्रेष्ठले ‘हिमालय क्षेत्रको फूलहरूको विविधता’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका हुन् । वनस्पति विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका अनुसार तीनदिने सम्मेलनमा ३ वटा प्यानल छलफल र ८६ वटा प्राविधिक कार्यपत्र प्रस्तुत हुनेछन् । जैविक विविधताका सन्दर्भमा संरक्षण, दिगो उपयोग र समतामूलक वितरणमा केन्द्रित छलफल भइरहेको पौडेलले बताए ।