निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
२०७९ असार ८ बुधबार १०:०९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युक्रेन युद्धका आठ पाठ 

देश/परदेश

Read Time : > 2 मिनेट
२०७९ असार ८ बुधबार १०:०९:००

युक्रेन युद्ध कहिले समाप्त हुन्छ भनेर भविष्यवाणी गर्नु नै हतारो हुने अवस्थामा परिणाम निर्क्योल गर्नु झनै अपरिपक्व हुन्छ । यद्यपि, यसबाट केही पाठ भने सिक्न सकिन्छ । 

जोसेफ एस नाई जुनियर

जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरे, उनले किभमाथि तुरुन्तै कब्जा गर्ने र सन् १९५६ मा बुडापेस्ट र १९६८ मा प्रागमा सोभियत संघले जस्तै सरकार परिवर्तन हुने परिकल्पना गरिएको थियो । यद्यपि, यो हुन सकेन र द्वन्द्व अझै जारी छ । र, यो द्वन्द्व कहिले र कसरी समाप्त हुन्छ, कसैलाई थाहा छैन । केही टिप्पणीकारले तुरुन्तै युद्धविरामका लागि आह्वान गरेका छन् भने अरूले रुसलाई आक्रामकताका लागि दण्ड दिन जोड दिएका छन् । तर, जमिनी तथ्यले नै अन्ततः परिणाम निर्धारण गर्नेछ । युद्ध कहिले समाप्त हुन्छ भनेर गरिने भविष्यवाणी गर्नु नै हतारो हुने अवस्थामा परिणाम निर्क्योल गर्नु झनै अपरिपक्व हुन्छ । यद्यपि, प्रारम्भिक चरणमा पनि विश्वले युक्रेन युद्धबाट कम्तीमा आठ पाठ भने सिकिरहेको छ । 

पहिलो, आणविक आक्रमणको धम्की प्रभावकारी छ । यद्यपि, यो क्षमताभन्दा पनि सापेक्ष जोखिममा निर्भर हुन्छ । पश्चिम निरुत्साहित भएको छ, तर एक बिन्दुसम्म मात्रै । पुटिनको आणविक चेतावनीका कारण पश्चिमा सरकारले युक्रेनमा उपकरण पठाए पनि सेना पठाएका छैनन् । यस परिणामले रूसको आणविक क्षमताभन्दा पनि पुटिनले एक महत्वपूर्ण राष्ट्रिय स्वार्थका रूपमा युक्रेनलाई परिभाषित गर्नु र पश्चिमले युक्रेनलाई महत्वपूर्ण माने पनि कम फाइदाजनक देख्नुको अन्तरको भिन्नता हो । 

दोस्रो, आर्थिक अन्तरसम्बन्धले हिंसाको सम्भावनालाई समाप्त गर्दैन । उसो त यो विषय नौलो होइन, अर्थात् पहिलो विश्वयुद्ध विश्वका सबैभन्दा ठूला व्यापारिक साझेदारकै बीचमा भएको थियो । र, यो ऐतिहासिक तथ्यलाई धेरै हदसम्म जर्मनीका पूर्वचान्सलर गेर्हार्ड स्रोडरलगायत जर्मन नेताले बेवास्ता गरेका थिए । सम्भवतः व्यापारिक सम्बन्ध विच्छेद गर्नु दुवै पक्षका लागि धेरै महँगो हुनेछ भन्ने ध्येयले स्रोडर सरकारले रुसी तेल र ग्यासमा जर्मनीको आयात र निर्भरतामा विस्तार गर्‍यो । यद्यपि, आर्थिक अन्तरसम्बन्धले द्वन्द्वको लागत बढाउन सक्छ, तर द्वन्द्वलाई रोक्न सक्दैन ।

तेस्रो, असमान आर्थिक अन्तरनिर्भरतालाई कम निर्भर पक्षले हतियार बनाउन सक्छ । तर, जब जोखिम समान हुन्छन्, तब अन्तरनिर्भरताले न्यून प्रभाव पार्छ । रुस आफ्नो युद्धकोषका लागि ऊर्जा निर्यातको राजस्वमा निर्भर छ भने युरोप रुसी ऊर्जामा अत्यधिक निर्भर छ । ऊर्जा अन्तरनिर्भरता लगभग सन्तुलित देखिन्छ । अर्कातिर, आर्थिक क्षेत्रमा रुस पश्चिमी प्रतिबन्धको सामना गरिरहेको छ, जसले रुसलाई आगामी समयमा असर गर्न सक्छ । 

चौथो, प्रतिबन्धले आक्रमणकारीको खर्च बढाए पनि त्यसले अल्पकालीन परिणामलाई असर गर्दैन । गत नोभेम्बरमा सिआइए निर्देशक एवं रुसका लागि पूर्व–अमेरिकी राजदूत विलियम बन्र्सले कथित रूपमा पुटिनलाई भेटेका थिए र युक्रेनमाथि आक्रमण गरे प्रतिबन्ध झेल्नुपर्ने चेतावनी दिएका थिए । पुटिनले प्रतिबन्धमा पश्चिम अडिग रहनेमा शंका गरेका हुन सक्छन् । सम्भवतः चीन अमेरिकाको माध्यमिक स्तरको प्रतिबन्धमा फस्ने चिन्ताका कारण रुससँग मित्रताको ‘कुनै सीमा छैन’ भनेर घोषणा गरे पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले पुटिनलाई सीमित सहयोगको प्रस्ताव मात्र गरेका छन् ।

पाँचौँ, सूचना युद्धले महत्वपूर्ण प्रभाव पार्छ । र्‍यान्डका जोन अक्र्ववलाले दुई दशकअघि औँल्याए झैँ आधुनिक द्वन्द्वको नतिजा ‘को उत्कृष्ट शक्ति हो’ भनेर मात्र नभई ‘कोसँग उत्कृष्ट भाष्य’ छ भन्नेले पनि निर्धारण गर्छ । रुसको सैन्य योजनाबारे अमेरिकाले संकलन गरेका गोप्य जानकारीको सावधानीपूर्वक खुलासाले युरोपमा पुटिनको भाष्यको ‘पूर्वभण्डाफोर’ अत्यधिक प्रभावकारी साबित भयो, जसले आक्रमणको भविष्यवाणी हुँदा पश्चिमा एकतामा ठूलो योगदान पुर्‍यायो ।

छैटौँ, दुवै सख्त र नरम शक्ति महत्वपूर्ण छन् । छोटो अवधिमा जबरजस्ती गर्नुले अनुनयलाई जित्न सक्छ, तर नरम शक्तिले दीर्घकालीन प्रभाव पार्न सक्छ । सख्त र नरम शक्तिलाई एकअर्काको विपरीत नभई पूरक हुने गरी मिलाउने क्षमतालाई स्मार्ट पावर (बुद्धिमतापूर्ण शक्ति) भनिन्छ । पुटिनले स्मार्ट पावरको सिर्जना गर्न सकेनन् । युक्रेनमा रुसको बर्बरताले जर्मनीमा यस्तो आक्रोश पैदा गर्‍यो, जसले नर्ड स्ट्रिम–टु ग्यास पाइपलाइन अन्ततः रोकिदियो । स्मरण रहोस्, पाइपलाइन रोक्ने प्रयास अमेरिकाले वर्षौंदेखि गर्दै आएको थियो । अर्कातर्फ, पूर्वअभिनेतासमेत रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो पेसेवर नाटकीय कौशलको उपयोग गरी मुलुकका लागि चाहिने सहानुभूति मात्र नभई सख्त शक्तिका लागि आवश्यक सैन्य हतियार पनि बटुल्न सफल भए ।

सातौँ, साइबर क्षमता अचुक उपाय होइन । कम्तीमा सन् २०१५ देखि रुसले युक्रेनको पावर ग्रिडमा हस्तक्षेप गर्न साइबर हतियार प्रयोग गर्दै आएको छ र युद्ध सुरु हुँदा धेरै विश्लेषकले देशका पूर्वाधार र सरकारविरुद्ध साइबरका माध्यमबाट धावा बोलिने भविष्यवाणी गरेका थिए । युद्धका समयमा कथित रूपमा साइबर आक्रमणका बाबजुद कुनै ठोस प्रभाव परेन । जब भियासेट स्याटेलाइट नेटवर्क ह्याक भयो, जोलेन्स्कीले स्टारलिंकका साना उपग्रहको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरमा अन्तरक्रिया जारी राखेका थिए ।

युद्ध अप्रत्याशित र अल्पकालीन हुन्छ भन्नु एक खतरनाक सम्मोहन हो । सन् १९१४ मा भएको पहिलो विश्वयुद्धमा युरोपेली नेताले आफ्ना सेना करिब ६ महिनामै अर्थात् ‘क्रिसमसमा’ घर आइपुग्छन् भन्ने अपेक्षा गरेका थिए, तर युद्ध चार वर्ष तन्कियो । त्यसैगरी, सन् २००३ को अमेरिकाको इराक आक्रमण पनि चाँडै टुंगिने अपेक्षा थियो, तर युद्ध कैयौँ वर्षसम्म तन्कियो । अहिले पुटिनले युद्ध छेडेका छन् र यो कहिलेसम्म जान्छ, टुंगो छैन । 

प्रोजेक्ट सिन्डिकेटबाट

(नाई जुनियर अमेरिकी राजनीतिशास्त्री एवं हार्वर्ड विश्वविद्यालयका प्राध्यापक हुन्)