
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउने भएको छ। आइतबार पत्रकार भेटघाटका क्रममा स्वास्थ्य कार्यालयले असार ९ देखि १५ सम्म पहिलो र साउन २ देखि ८ सम्म दोस्रो मात्राको खोप कार्यक्रम सन्चालन गर्ने जनाएको हो।
खोप कार्यक्रमको लागि केन्द्र र स्थान निर्धारण गर्ने, लक्षित संख्या निर्धारण गर्ने, जनशक्ति परिचालन गर्नेलगायत तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाका ६ स्थानीय तहमा ८० हजार ४९५ जना पाँचदेखि ११ वर्षसम्मका बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। यो संख्या विद्यालयमा सूचीकृत भएका आधारमा तय गरिएको हो। यसबाहेक तथ्यांक घटबढ हुन सक्ने कार्यालयले जनाएको छ।
ललितपुर महानगरपालिकाबाहेक अन्य पालिकामा एक–एक दिनको समय तोकेर कार्यक्रम अघि बढाइने स्वास्थ्य कार्यालय प्रमुख सतिश बिष्टले जानकारी दिए। उनका अनुसार इँटाभट्टामा काम गर्ने र विद्यालयको पहुँचमा नरहेका बालबालिकालाई पनि सम्बन्धित पालिकाबाट खोप दिइने छ।
बालबालिकालाई दिइने फाइजर खोपको लागि अनुगमनसमेत गरिने प्रमुख बिष्टले बताए। यो खोपको प्रयोग ९१ प्रतिशत प्रभावकारी मानिएको छ भने अन्य मुलुकमा पनि यसको प्रयोग भइसकेको छ। यो खोप ५–११ उमेर समूहका बालबालिकाबाहेक अन्य उमेर समूहकालाई दिन मिल्दैन।
यो खोपको पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाइने छ। ललितपुरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहिलो र दोस्रो मात्रा खोप लगाइसकिएको छ। उनीहरूलाई छिट्टै बुस्टर डोज खोप दिने तयारी भइरहेको कार्यालयले जनाएको छ।