१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
२o८१ जेठ ९ बुधबार o६:२५:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जहाँ बिरामी नभएको घर छैन

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार o६:२५:oo

फोहोरबाट निस्केको दुर्गन्ध र रसायनसँग बित्ने दैनिकीले छालाको एलर्जी, घाउ, झाडापखाला, रुघाखोकी मात्रै होइन, दम र क्यान्सरजस्ता दीर्घरोग पनि सिसडोलवासीको नियति बनेको छ, पछिल्लो एक वर्षमा मात्रै स्थानीय स्वास्थ्यचौकीमा बालबालिकादेखि वृद्धवृद्धासम्म ४८ सय ९२ जना उपचारका लागि पुगेका छन्

धादिङ धुनिबेँसी– १ का ६१ वर्षीय बद्रीबहादुर ओझा छालामा देखिएको एलर्जीका कारण सात वर्षदेखि अस्पताल धाइरहेका छन् । औषधि सेवन गर्दागर्दै उनको छालामा काला दाग देखिन थाले । अहिले त जिउसमेत सुन्निएर उनलाई हिँडडुल गर्न पनि गाह्रो हुन्छ । चिकित्सकका अनुसार सामान्य एलर्जीमा अत्यधिक औषधि प्रयोग गर्दा यस्तो हुने गर्दछ । 

फोहोरकै कारण सात वर्षदेखि  एलर्जी र जिउ सुन्निने समस्या  झेलिरहेका धादिङको धुनिबेँसी– १ का ६१ वर्षीय बद्रीबहादुर ओझा भन्छन्–

छाला सबै कालो भएर आइरहेको छ । दबाई जति लाए पनि, खाए पनि केही सीप लाग्दैन । अब त बर्खा लाग्यो, आँखा र खुट्टा पाक्न थाल्छन्, कति अस्पताल जानु ? के–केको मात्रै उपचार गर्नु ? यो ठाउँ छोडेर जान नपाउँदासम्म निको होला भन्ने आस छैन ।

गाउँकै स्वास्थ्यचौकीको औषधिले नथेगेपछि उनी नियमित काठमाडौंमा उपचारका लागि धाउने गर्छन् । तर, सिसडोल ल्यान्डफिल साइटनजिकै बस्नुपर्ने बाध्यताका कारण औषधिले उनको रोग थेग्दैन । फोहोरबाट निस्केको दुर्गन्ध र रसायनसँग बित्ने दैनिकीले सामान्य एलर्जी पनि जटिल भएको छ र वर्षौँदेखि औषधि सेवन गर्नुपरेको छ । 

सिसडोल स्वास्थ्यचौकीमा भेटिएका ओझाको जिउ सुन्निएको छ । बर्खामा समस्या झनै बढ्ने चिन्तामा थिए उनी । ‘छाला सबै कालो भएर आइरहेको छ । दबाई जति लाए पनि, खाए पनि केही सीप लाग्दैन । अब त बर्खा लाग्यो, आँखा र खुट्टा पाक्न थाल्छन्,’ ओझाले नयाँ पत्रिकासँग भने, ‘कति अस्पताल जानु ? के–केको मात्रै उपचार गर्नु ? यो ठाउँ छोडेर जान नपाउँदासम्म निको होला भन्ने आस छैन ।’

काठमाडौंको ल्यान्डफिल साइट सिसडोलबाट उनको घर लगभग सात सय मिटर दूरीमा र बन्चरेडाँडाबाट करिब एक किलोमिटर दूरीमा छ । मानव स्वास्थ्यको हितका लागि कुनै पनि ल्यान्डफिल साइटबाट मानव बस्ती कम्तीमा दुई किलोमिटर पर हुनुपर्ने मान्यता छ । सिसडोलमा ल्यान्डफिल साइटनजिकै बस्ती छन् । 

फोहोरबाट निस्कने दुर्गन्ध, रसायन र विभिन्न घातक ग्यासका कारण सिसडोलवासीका प्रत्येक घरमा बिरामी छन् । छालामा एलर्जी, एलर्जी बढ्दै जाँदा हुने घाउ, दम, ब्रोंकाइटिसका साथै छातीमा अन्य समस्या, आँखामा समस्या, झाडापखाला र रुघाखोकीजस्ता स्वास्थ्य समस्या हरकोही सिसडोलवासीको नियति बनेको छ । सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइटवरिपरि करिब तीन सय घरधुरी छन् र प्रत्येकजसो परिवारमा कोही न कोही दुर्गन्ध र रसायनले बिरामी बनेका छन् । धादिङको धुनिबेँसी नगरपालिकाका भञ्ज्याङपोखरी, बन्चरेडाँडा, दमदमे तथा नुवाकोटको ककनी गाउँपालिका सिसडोल, ओखरपौवा, चाउथे, सिउडिनीलगायतका गाउँहरू प्रभावित क्षेत्र हुन् । 

सिसडोलमा फोहोरको मात्रा बढ्दै गएपछि छालामा समस्या देखिन थालेका ओझा दमका बिरामीसमेत हुन् । उनका अनुसार श्रीमतीसमेत आँखा चिलाउने र पाक्ने रोगका कारण थला परेकी छिन् । बारम्बार बढ्ने दमको उपचारका लागि प्रत्येक महिनाजसो काठमाडौं पु¥याउनुपर्छ । उनका एकजना छोरालाई समेत दमको समस्या छ ।

सिसडोलकी ५६ वर्षीया सन्तकुमारी श्रेष्ठलाई समेत दमले सताएको पाँच वर्षभन्दा बढी भइसक्यो । नियमित औषधि सेवन गरिरहे पनि बढ्दो दमको समस्याले उनलाई समेत अस्पताल गइरहनुपर्ने दैनिकी बनिसकेको छ । सिसडोलमा फोहोर फाल्न बन्द भए पनि व्यवस्थापनका काम सुरु नहुँदा फोहोरका कारण निम्तिने विभिन्न सरुवा र दीर्घरोगको जोखिम ज्युँका त्युँ छ । फोहोरबाट निम्तिने स्वास्थ्य समस्या र बर्खा लागेसँगै आउने छाला र आँखा पाक्ने समस्याले सिसडोलवासी दिक्क भइसकेका छन् । सिसडोलवासीलाई दीर्घरोग मुख्य समस्याका रूपमा देखिन थालेको छ । 

सिसडोल स्वास्थ्यचौकीको तथ्यांकअनुसार ल्यान्डफिल साइटवरिपरिका बस्तीमा मात्र जचाउन गएकामध्ये सातजनालाई विभिन्न खालको क्यान्सर पुष्टि भएको छ । दम, मधुमेह, छालामा समस्या र कलेजोमा समस्यासमेत पछिल्लो केही वर्षयता बढ्दै गएको सिसडोल स्वास्थ्यचौकीकी प्रमुख अहेव देनुका रेग्मी बताउँछिन् । ‘दैनिक कम्तीमा २२ देखि २५ जनासम्म छालाको समस्या अर्थात् लुतो, एलर्जी र ज्वरो, रुघाखोकी, छाती दुखाइ, दमका बिरामी अस्पताल पुग्ने गरेका छन्,’ उनले भनिन्, ‘स्वास्थ्यचौकीबाट सामान्य भाइरल संक्रमणका लागि मात्रै औषधि दिइरहेका छौँ । दीर्घरोग र एन्जाइटीजस्ता समस्या बढ्न थालेपछि थप उपचारका लागि प्रत्येक दिनजसो बिरामी काठमाडौं पठाउँछौँ ।’

फोहोरसँग सम्बन्धित संक्रमण र अन्य समस्याको उपचारका लागि खोलिएको ‘सिसडोल स्वास्थ्यचौकी’मा दैनिक बिरामीको भिड लाग्छ । पछिल्लो एक वर्षमा मात्रै स्वास्थ्यचौकीमा बालबालिकादेखि वृद्धवृद्धासम्म चार हजार आठ सय ९२ जना उपचारका लागि पुगेको तथ्यांक छ । फोहोरबाट हुने समस्या दोहोरिने भएकाले स्वास्थ्यचौकी आउने संख्या प्रत्येक वर्ष बढी हुने गरेको छ । स्वास्थ्यचौकीका अनुसार यस आर्थिक वर्षमा पुराना र नयाँ बिरामी गरेर ६ हजार चार सय ९८ जना बिरामी पुगेको तथ्यांक छ । 

सुरक्षा सामग्रीविनै घन्टौँ फोहोरसँग खेल्छन् पाँच सय मजदुर

सिसडोलबाट बन्चरेडाँडा फोहोर फाल्न सुरु भएसँगै फोहोर छुट्याउने पनि यतै सरेका छन् । फोहोर बन्चरेडाँडा सरेको मात्र छैन, मजदुरको दैनिकी र आनीबानी पनि यतै सरेका छन् । सिसडोलमा मजदुरले जसरी फोहोरको डंगुरमै भात खान्थे, खाजा खान्थे र विनासुरक्षा सामग्री काम गर्थे । अहिले बन्चरेडाँडा सरेपछि पनि अवस्था फरक छैन । 

फोहोरको थुप्रोमाथि नै बसेर आरु खाँदै गरेका सिर्जना नेपाली र पारु नेपाली यसकै उदाहरण हुन् । ‘भोक लागेपछि के गर्ने त ? अन्त पनि बसेर खाने ठाउँ छैन,’ सिर्जनाले भनिन् । नुवाकोट सिउडिनीका सिर्जना र पारुले फोहोर छुट्याउने काम थालेको दुई महिनाजति भयो । उनीहरू फोहोरसँग अभ्यस्त भइसकेका छन् । फोहोरमा बसेर खाना त खाएकै छन्, न मास्क लगाएका छन्, न त पन्जा नै ।

१० वर्ष भयो तिनपिप्लेकी धनमाया तामाङले फोहोरको डंगुरमा बसेर फोहोर छुट्याउन थालेको । उनको ६ जनाको परिवार यही फोहोर छुट्याउने काम गरेरै गुजारा गरिरहेका छन् । तर, परिवारका कसैले पनि फोहोर छुट्याउँदा मास्क र पन्जाजस्ता सामान्य सामग्रीसमेत प्र्रयोग गर्दैनन् । न उनीहरूलाई फोहोरबाट हुने संक्रमणबारे जानकारी नै छ । ‘हिजो ल्याएको पन्जा आजै प्वाल परेपछि फालिदिएँ,’ पुरानोजस्तो कपडाको पन्जा हातमा देखाउँदै उनले भनिन्, ‘मास्क, पन्जा लाएर साध्यै चल्दैन ।’ 

उनी दैनिक दुईदेखि तीन धोक्रो फोहोर प्लास्टिक, बोतल संकलन गर्छिन् । ‘दुई महिनाजति भयो, यहाँ आएर काम गर्न थालेको । दिनको हजारजति कमाइन्छ । तर, दिनकै काम हुँदैन । १० दिन काम भयो भने २० दिन बन्द हुन्छ,’ पारुले भनिन्, ‘मास्क र पन्जा खानका लागि खोलेको हो । तर, कति किन्नु ?’

मंगलबार दिउँसोको गर्मीमा बन्चरेडाँडामा फोहोरको थुप्रोमाथि पसिना पुछ्दै प्लास्टिक बोरामा हाल्ने हतारोमा देखिन्थिन्, अञ्जु सेढाईँ । दुई हप्तापछि उपत्यकाबाट उठेको फोहोरबाट प्लास्टिकका बोतल छानेर बोरा भर्न अञ्जुलाई हतार नै थियो । बिहान ४ बजेतिर बच्चाका लागि खाना बनाएर प्लास्टिक टिप्न बन्चरेडाँडा पुगेकी अञ्जुले दिनभरिमा बढीमा दुई बोरा प्लास्टिक संकलन गर्न सक्छिन् । जसबाट उनको परिवारको गुजारा चलिरहेको छ । उनका श्रीमान् पनि ११ वर्षदेखि प्लास्टिक टिप्ने काममा छन् । शरीरभरि फोहोरको हिलो लागेर सिसाका टुक्रा, कुहिएको खानेकुरा, कागजबाट प्लास्टिकका बोतल छान्न सजिलो छैन । ‘फोहोरसँग बानी परिसक्यो । अहिलेसम्म ठूलो बिरामी परिएको छैन । हप्तैपिच्छे अस्पताल पनि जान्छौँ । यस्तो फोहोरमा दिनभरि बस्दा सामान्य रुघाखोकी र ज्वरो त आइहाल्छ नि !’ उनले भनिन् । 

प्लास्टिकका बोतल संकलनका लागि बन्चरेडाँडामा दैनिक चार सय ८० जना मजदुरले काम गरिरहेका छन् । संक्रमणको समस्या कम गर्न केहीले पन्जा, बुट र मास्कको प्रयोग गरे पनि धेरैले प्रयोग गर्दैनन् । फोहोरको थुप्रोमै बसेर खाना खाने र घन्टौँसम्म काम गर्ने उनीहरूलाई कुनै न कुनै स्वास्थ्य समस्या देखिएको अहेव रेग्मी बताउँछिन् ।

नियमित फोहोरको सम्पर्कमा रहँदा छाला र फोक्सोको क्यान्सरको जोखिम हुन्छ  : डा. प्रकाश पौड्याल, वरिष्ठ छातीरोग विशेषज्ञ
फोहोरको नियमित सम्पर्कमा रहँदा सामान्य भाइरल संक्रमणसमेत दीर्घरोगको कारण बन्ने गर्छन् । फोहोरका कारण सामान्यतया झाडापखाला, रुघाखोकी, ज्वरो, कुपोषण र छालामा समस्या देखिन्छ ।

बिस्तारै कुपोषण बढ्दै जाँदा अन्य रोगको जोखिम पनि बढ्छ । खानपानमा आउने समस्याले रक्तचाप बढ्छ । चिनीको मात्रा बढ्ने र कोलेस्ट्रोल बढ्ने हुन्छ । छाला र फोक्सोको क्यान्सरको जोखिम हुन्छ । श्वासप्रश्वाससम्बन्धी अधिकांश समस्याको मुख्य कारण फोहोरबाट निस्कने रसायन हुन्छ । 

ad
ad