Skip This
दोलखाका सबै नागरिकको राष्ट्रिय परिचय-पत्र असोजसम्म बनाइसक्ने लक्ष्य
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ २३ सोमबार
  • Monday, 10 August, 2026
२o७९ जेठ २३ सोमबार १९:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाका सबै नागरिकको राष्ट्रिय परिचय-पत्र असोजसम्म बनाइसक्ने लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २३ सोमबार १९:४४:oo

राष्ट्रिय परिचय-पत्र तथा पञ्जीकरण विभागले दोलखाका सबै नागरिकको राष्ट्रिय परिचय-पत्र आगामी असोजसम्म बनाइसक्ने लक्ष्य लिएको छ । सोमबार चरिकोटमा आयोजित एक कार्यक्रममा विभागले आगामी असोजसम्म जिल्लाका सबै नागरिकहरूको राष्ट्रिय परिचय-पत्र बनाइसक्ने लक्ष्य रहेको जनाएको हो ।  

विभागका महानिर्देशक तीर्थराज भट्टराईले असार पहिलो सातादेखि आवश्यक जनशक्ति परिचालन गरी दोलखाका ९ वटै स्थानीय तहका ७४ वटै वडामा पुगेर सबै नागरिकको राष्ट्रिय परिचयपत्र असोजसम्म बनाइसक्ने गरी तयारी थालिएको जानकारी दिए । जिल्ला सदरमुकाम चरिकोटमा डाटा सेन्टर स्थापना गरी हरेक वडामा विभागले आवश्यक उपकरणसहित टोली परिचालन गर्ने र तोकिएको अवधिभित्रै प्रक्रिया पुगेका सबै नागरिकलाई राष्ट्रिय परिचय-पत्र उपलब्ध गराउने तयारी भएको महानिर्देशक भट्टराईले बताए । 

कार्यक्रममा विभागका निर्देशक ललितकुमार बस्नेतले यो अभियानमा सघाउन जिल्लाका सबै जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग आग्रह गरेका छन् । स्थानीय तहका प्रमुख उपप्रमुखसहित सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै वितरण हुने गरेको राष्ट्रिय परिचय-पत्र अब आफ्नै घर आँगनबाट लिन सकिने व्यवस्थाले जिल्लावासीलाई निकै सहज भएकाले सुविधाको सदुपयोग गर्न आग्रह गरेका छन् । उनले तोकिएको समयमा राष्ट्रिय परिचय-पत्र बनाइसकिनेमा आफूहरू विश्वस्त रहेको जनाए ।  

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले भने धेरैजसो नागरिकहरू राजधानी बस्ने भएकाले उक्त सुविधा राजधानीकेन्द्रित गराउन अनुरोधसमेत गरेका छन् । उनीहरूले सबै नागरिकको वैयत्तिक विवरण डिजिटलाइजेसन हुनु सुखद् भएको बताउँदै उक्त अभियानमा दोलखाका सबै स्थानीय तहले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । 

कार्यक्रममा भीमेश्वर नगरका मेयर ईश्वर मानन्धर, जिरी नगरप्रमुख मित्र जिरेल, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन सिवाकोटी, वैतेश्वर अध्यक्ष छबि लामा, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीलगायतका जनप्रतिनिधि सहभागी थिए ।