१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १६:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसएसबीको ज्यादती : गुगल म्यापअनुसार जमिन भारतमा पर्ने भन्दै नेपालीलाई खेत जोत्नबाट रोक

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १६:२६:oo

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरीमा एक नेपाली किसानलाई आफ्नै खेत जोत्नबाट रोक लगाएको छ। बेलौरी नगरपालिका– १० भुडाका स्थानीय होरिलाल चौधरीलाई सीमा क्षेत्रमा रहेको आफ्नै खेत जोत्न एसएसबीले रोक लगाएको हो।

नेपालभित्रै रहेको आफ्नो खेत जोत्न ट्याक्टर लिएर गइरहेका चौधरीलाई भारतीय एसएसबीले बीचबाटोबाटै फर्काइदिएको छ। ‘बुधबार खेत जोत्नका लागि ट्याक्टर लिएर खेततिर गइरहेको थिएँ,’ चौधरीले भने, ‘एसएसबी आएर यो जमिन भारतमा पर्छ भन्दै फर्काइदियो।’ भारतीय एसएसबीले गुगल म्यापअनुसार उक्त जमिन भारतमा पर्ने भन्दै वर्षौँदेखि खेती गर्दै आएको आफ्नै जमिन जोत्न नदिएको चौधरीले बताए।

लालपुर्जाधारी जमिन भएको बताउँदै चौधरीले भारतीय पक्षबाट नेपाली किसान मात्रै नभई नेपालीमाथि हस्तक्षेप भएको बताए। ‘यो हाम्रो लालपुर्जावाला जमिन हो। ०५६ सालमा सरकारले लालपुर्जा दियो, कर पनि तिरिरहेका छौँ,’ उनले भने, ‘एक्कासि एसएसबी आएर खेत जोत्नबाट रोक्न थाले। आफ्नै लालपुर्जावाला जमिन खनजोत गर्न नदिएर भारतीय एसएसबीले ज्यादती गर्‍याे।’

बेलौरी नगरपालिका– १० का वडाध्यक्ष सोमवीर चौधरीले लालपुर्जाधारी नेपालीको जमिनमा भारतीय हस्तक्षेप रोक्न प्रशासनिक पहल हुनुपर्ने बताए। ‘जसरी भारतीय पक्षले आफ्नो जमिनका लागि अडान राख्छन्, त्यसरी नै नेपाली पक्षले पनि अडान राख्नुपर्छ,’ वडाध्यक्ष चौधरीले भने, ‘वर्षौँदेखि भोगचलन गर्दै आएको नेपाली पुर्जावाला जमिनमा भारतीय पक्षबाट हस्तक्षेप गरियो।’

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरले शुक्रबार भारतको कमलापुरीमा हुने दुईदेशीय संयुक्त सीमा सुरक्षा बलको बैठकमा सो विषय उठाएर समाधान गरिने बताए। ‘यो समस्याबारे मैले यकिन गर्न पठाएको छु,’ सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, ‘जसरी दुई देशका नागरिकले सीमा विवाद नहुँदासम्म उपभोग गर्दै आएका छन्, त्यो उताबाट समेत गर्न दिनुपर्छ, हस्तक्षेप गर्नुहुँदैन।’