१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १५:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जालपा घटनामा राजनीतीकरण, दलहरूबीच आरोप–प्रत्यारोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:o४:oo

माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टंक राईमाथि आफ्नै गाउँमा भएको हातपात तथा एमालेका वडासदस्य पूर्णबहादुर राईमाथि भएको कुटपिटको घटनामा राजनीतीकरण भएको छ। बुधबार राति दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– १२ जालपास्थित अध्यक्ष राईको घरनजिकै होटेलमा भएको हातपात तथा कुटपिटको घटनालाई सत्तागठबन्धनमा आबद्ध चार राजनीतिक दल र प्रमुख प्रतिपक्षी एमालेले राजनीतीकरण गर्दै एक–अर्काबीच आरोप–प्रत्यारोपमा उत्रिएका छन्।  

जालपा घटनालाई लिएर नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी अध्यक्ष राईको पक्षमा तथा एमाले पूर्णबहादुरको पक्षमा उभिएर आरोप–प्रत्यरोपमा उत्रिएका हुन्। सत्तागठबन्धनका चार राजनीतिक दलले अध्यक्ष राईमाथि आक्रमण भएको भन्दै बिहीबार विज्ञप्तिमार्फत दोषीलाई कारबाहीको माग गरेका छन्।

एमालेले पनि विज्ञप्तिमार्फत अध्यक्ष राई, स्थानीय विवेक राई, पद्मा विश्वकर्मालगायत चारजनाले पूर्णबहादुरलाई मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएर उल्टै आक्रमण गरेको आरोप लगाएको छ। कुटपिटबाट घाइते भएका पूर्णबहादुरलाई जालपा सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल लगिएको थियो। 

कुटपिटबाट पूर्णबहादुरको टाउको, घाँटी र अनुहारमा चोट लागेको छ। जिल्ला अस्पतालमा उपचार गराइरहेका पूर्णबहादुरलाई एमालेले थप उपचारका लागि भन्दै बिहीबार साँझ नै काठमाडौं पठाएको छ। 

अध्यक्ष राईमाथि आक्रमण गरेका भनिएकै व्यक्ति घाइते भएर अस्पताल भर्ना भएकाले घटनालाई कुप्रचार गरी ढाकछोपको प्रयत्न गरिएको एमालेको विज्ञप्तिमा उल्लेख छ। ‘घटना योजनाबद्ध र सुनियोजित देखिन्छ । घटनालाई छिपाउन र अन्यत्र मोड्न विभिन्न किसिमका कुप्रचार गरी सत्यतथ्यलाई कमजोर बनाउन विभिन्न बाहनाबाजी गरेको देखिन्छ,’ एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाई दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौँ।’

यस्तै, सत्तागठबन्धनका तर्फबाट कांग्रेस जिल्ला सभापति विष्णुकुमार राई, माओवादी केन्द्रका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, समाजवादीका जिल्ला अध्यक्ष जलसेर राई र जनता समाजवादीका जिल्ला अध्यक्ष टंक थापाले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष राईमाथि अराजक, उच्छृंखल व्यक्तिद्वारा गाली–बेइज्जत गर्ने, सांघातिक आक्रमण गर्ने निन्दनीय कार्य भएको भन्दै भर्त्सना गरेका छन्। ‘कानुन हातमा लिएर भौतिक आक्रमण गर्ने, धाकधम्की दिने र त्रासदीपूर्ण गतिविधि गरिनु अशोभनीय र अक्षम्य कार्य हो,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाही गर्न प्रशासनसमक्ष जोडदार माग गर्दछौँ।’

अनुशासन आयोगका अध्यक्ष राईले खाना खाएर सुत्ने तरखर गरिरहेका वेला नजिकै बन्दुकले हान्ने भन्दै हो–होल्ला गरेपछि गएर सम्झाउन खोज्दा आक्रमण भएको बताएका छन्। तर, एमालेबाट जालपाका वडाध्यक्षका उम्मेदवार पवन राईले पूर्णबहादुरलाई होटेलमा कुटपिट गरेपछि उल्टै आक्रमणको आरोप लगाएको दाबी गरेका छन्।

पूर्णबहादुरमाथि स्थानीय तहको निर्वाचनमा मतदानस्थलको बार तोडेको, विजय जुलुसमाथि बोतल हानेको, गत फागुन २८ गते स्थानीय चन्द्रबहादुर विश्वकर्मालाई निर्घात कुटपिट गरी दुईवटा दाँत झारेकोलगायतका आरोप छ। उक्त समयमा पीडित पक्षले पूर्णबहादुरविरुद्ध प्रहरीमा उजुरी दिए पनि राजनीतिक आडमा प्रहरीले उनीविरुद्धको उजुरी नलिएको स्थानीय बासिन्दा बताउँछन्।

उता, पूर्णबहादुरमाथि कुटपिटमा संलग्न भएको भन्दै उनको पक्षकाले अनुशासन आयोगका अध्यक्ष राईसहित ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। पूर्णबहादुर एमाले वडा समिति सदस्य हुन्। 

जालपा घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताएका छन्। ‘जसले आक्रमण गर्‍याे भनिएको छ त्यही घाइते छ, तर दुर्व्यवहारमा पर्ने व्यक्ति सकुशल हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरूबीचमा पार्टीगत हिसाबले समस्या भएको हो वा अन्य कारणले भएको भन्नेबारेमा वास्तविकता बुझिरहेका छौँ।’

जालपा घटनालाई लिएर सामाजिक सञ्जाल फेसबुकमा समेत एक–अर्काबीच आरोप–प्रत्यारोप भइरहेको छ। कतिपयले गाउँमा भएको आपसी झगडालाई राजनीतीकरण गरिनु दुःखद भएको प्रतिक्रिया दिएका छन्।

ad
ad