१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

काभ्रेमा दश हजार मेट्रिक टन मल अपुग

तीन वर्षभित्र बागमती प्रदेशमा मल कारखाना खुल्छ - प्रदेश मन्त्री हुमागाई

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:३o:oo

काभ्रे जिल्लामा मल अभावको समस्या विगतमा जस्तै विकराल नै छ । जिल्लामा १० हजार मेट्रिक टन मल आवश्यक रहेको छ । धुलिखेलमा अवस्थित कृषि साग्रमी कम्पनी लिमिटेड काभ्रेका शाखा प्रबन्धक वासुदेव शर्माका अनुसार जिल्लामा पाँच हजार मेट्रिक टन युरिया, तीन हजार मेट्रिक टन डिएपी र दुई हजार मेट्रिक टन पोटास आवश्यक रहेको छ । ‘अहिले हाम्रो कार्यक्षेत्रमा मल वितरण गर्न लगभग १० हजार मेट्रिक टन आवश्यक पर्छ,’ शाखा प्रबन्धक शर्माले भने, ‘अहिले हामीले पहिला आएको मललाई दामासाही रूपमा बाँडेका थियाै‌ैँ, अहिले बाँड्न सकेका छैनौँ ।’ विविध कारण नाकाबाट मल नआएको उनको भनाइ छ । जिल्लामा मलको चरम अभाव हुनुको मुख्य कारण मल नआउनु भएको उनले बताए ।

उक्त लिमिटेडले चारवटा जिल्लामा मल वितरण गर्दै आएकाे छ । चार जिल्लामा चार सय डिलर रहेको शर्माले जानकारी दिए । निर्वाचनअगाडि ६ सय चार मेट्रिक टन मल आएकोमा दामासाही वितरण गरेको उनको भनाइ छ । काभ्रे जिल्लाको बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध नगरपालिकामा १५ बोरा युरिया र ३५ बोरा डिएपी प्रतिडिलरका दरले वितरण गरेको शर्माले बताए ।

त्यसरी नै पाँचखाल नगरपालिकामा प्रतिडिलर १५ बोरा युरिया र ३५ बोरा डिएपी, खानीखोला गाउँपालिकामा ८० बोरा युरिया र २५ बोरा डिएपी, मन्डनदेउपुर नगरपालिकामा १२ बोरा युरिया र ३० बोरा डिएपी, तेमाल गाउँपालिकामा २० बोरा युरिया र २५ बोरा डिएपी, रोशी गाउँपालिकाा ३० बोरा युरिया र २५ बोरा डिएपी, चौँरीदेउरालीमा ३० बोरा युरिया र २५ बोरा डिएपी, भुम्लुमा २५ बोरा युरिया र २५ बोरा डिएपी, बेथानचोकमा ३० बोरा युरिया र २५ बोरा डिएपी र महाभारत गाउँपालिकामा ४० बोरा युरिया र २५ बोरा डिएपीका दरले वितरण गरेको शर्माको भनाइ छ । यसरी पालिका प्रतिनिधिसहितको टोलले निर्णय गरेर वितरण गरेको उनले बताए । यो निर्णय निर्वाचनअघि नै गरेको, केही डिलरले अगाडि नै लगेको र केहीले निर्वाचनपछि अहिले लाँदै गरेको उनले बताए ।

पछिल्लो समयमा एक हजार मेट्रिक टन आउँदै गरेकोमा ८० मेट्रिक टन गोदाममा आइसकेको, तर अरू नआएकाले बाँड्नलाई असहज हुने उनले बताए । बाँकी अरू मल आएपछि मात्र वितरण गर्ने उनले बताए । कम्पनीले प्रतिबोरा युरियाको आठ सय ९७, डिएपीको दुई हजार तीन सय ४३ र पोटासको एक हजार सात सय ४३ का दरले बिक्री–वितरण गरेको शर्माले जानकारी दिए ।

जिल्लाको बनेपामा अवस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले केही समयअगाडि केही मल आए पनि बिक्री–वितरण गरिसकेकाले अहिले युरिया, डिएपी र पोटास मल बाँकी नै नभएको कम्पनीको कार्यबाहक प्रबन्धक सुरेन्द्र अवालेले बताए । युरिया, पोटास र डिएपीबाहेक एसएसपी, जिंक र बोरन मल बिक्री–वितरण गरिरहेको अवालेले बताए । एसएसपी प्रतिबोरा एक हजार पाँच सय ६, जिंक एक हजार पाँच सय ६६ र बोरन एक हजार पाँच सय ८६ का दरले बिक्री–वितरण गरिरहेको अवालेले बताए । उक्त मूल्यमा डिलरलाई मुनाफाका लागि प्रतिबोरा ६० रुपैयाँका दरले छुट दिने गरेको उनको भनाइ छ । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले ३० प्रतिशतका दरले मल बिक्री–वितरण गर्दछन् ।

तीन वर्षभित्र बागमती प्रदेशमा मल कारखाना खुल्छ- प्रदेश मन्त्री हुमागाईं
कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईंले अब तीन वर्षभित्र रासायनिक मल कारखाना खुल्ने बताएका छन् । मल कारखाना स्थापनाका लागि बागमती प्रदेशले केही बजेटको व्यवस्था पनि गरिसकेको हुमागाईंले बताए । ‘तीन वर्षभित्र मल कारखाना स्थापना हुन्छ,’ हुमागाईंले भने, ‘मल कारखाना स्थापनाका लागि बागमती प्रदेशले डिपिआर तयारका लागि २० लाख बजेट छुट्याएका छौँ ।’ ६ महिनाभित्र डिपिआर तयार गर्ने र तीन वर्षभित्र मल कारखाना स्थापना गर्ने लक्ष्य बागमती प्रदेशको रहेकामा उनले जोड दिए । 

काठमाडौं विश्वविद्यालयका प्राविधिकको सहयोगमा मल कारखाना स्थापना गर्ने भएको हो । मल कारखाना स्थापनाका लागि प्राविधिक काठमाडौं विश्वविद्यालयमा तयार भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारलाई कारखाना खोल्न पहल गरेका थिए । काठमाडौं विश्वविद्यालय प्राज्ञिक औद्योगिकका संयोजक डा. राम लामाका अनुसार विश्वविद्यालयले मल कारखाना खोल्नका लागि प्राविधिक तयार भएको र कारखाना खोल्नका लागि विभिन्न निकायमा पहल गर्दा बागमती प्रदेशले सकारात्मक कदम चालेको बताएका छन् । 

ad
ad