१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १२ बिहीबार ०७:२३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महानगर–उपमहानगर हारको मुख्य कारण अन्तर्घात : एमाले

Read Time : > 3 मिनेट
२०७९ जेठ १२ बिहीबार ०७:२३:००

स्थानीय निर्वाचन समीक्षा

सत्तागठबन्धनले संस्थागत धाँधली गरेर आफूलाई हराएको सुरुवाती टिप्पणी गरेको प्रमुख प्रतिपक्ष दल एमालेले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन अन्तर्घात भएको निष्कर्ष निकालेको छ । संसदीय दलको बुधबार बसेको बैठकले निर्वाचनमा प्रमुख पदका उम्मेदवार हराउन खतरनाक अराजक प्रवृत्ति देखापरेको निष्कर्ष निकाल्दै यसको समीक्षा गर्ने निर्णय गरेको छ । 

निर्वाचन परिणामको समीक्षा र पार्टीले अगाडि सारेको मेयर र अध्यक्षको उम्मेदवार हराउन भएका अन्तर्घातको खोजीका लागि एमालेले प्रक्रिया पनि थालिसकेको छ । महानगर र पालिकाहरूमा ‘क्रस भोटिङ’ गर्ने अराजक प्रवृत्तिको विस्तृत समीक्षा हुने स्थायी समिति सदस्य शेरबहादुर तामाङले बताए ।

उनका अनुसार निर्वाचनको समीक्षाका लागि पार्टी केन्द्रीय कार्यालयले ढाँचा तयार पारेर जिल्लाहरूमा पठाइएको छ । ‘उपमेयर र तलका पदमा भोट परेको छ । तर, त्यसअनुसार प्रमुख पदहरूमा मत छैन । प्रमुख पदमै मत नहाल्ने प्रवृत्ति खतरनाक ढंगले देखापरेको छ । समीक्षाको आवश्यकता भएको छ,’ बैठकपछि तामाङले भने, ‘त्यसैले यस्तो खतरनाक प्रवृृत्तिबारे समीक्षा गर्ने गरी पार्टी केन्द्रले समीक्षाको ढाँचा बनाएर प्रदेश र जिल्ला कमिटीलाई पठाइसकेको छ ।’ 

महानगर र उपमहानगरका उपमेयर भारी मतले जितेपछि पालिकाको प्रमुख पद गुमाउनुको प्रमुख कारण अन्तर्घात भएको निष्कर्षनजिक एमाले पुगेको छ । त्यसमाथि विस्तृतमा पार्टी बैठकबाट समीक्षा गर्ने एमालेको तयारी छ । 

संसदीय दलको बैठकमा पनि अध्यक्ष ओलीले महानगर र उपमहानगरमा मेयर पद गुमाउनुको प्रमुख कारण अन्तर्घात भएको बताएर त्यसबारे गम्भीर समीक्षा हुने संकेत गरेका छन् । ‘कांग्रेसमा, माओवादीमा नभएको अन्तर्घात हाम्रो पार्टीमा देखियो, पार्टीभित्र देखिएको यस्तो खतरनाक ट्रेन्डको गम्भीर ढंगले विस्तृतमा समीक्षा हुनेछ,’ बैठकमा ओलीको भनाइ थियो । 

अन्तर्घातका कारण प्रमुख पदको सिट संख्या तलमाथि भए पनि जनताले सबैभन्दा धेरै ‘पपुलर मत’ दिएर एमालेलाई नै पहिलो दल बनाएको ओलीको दाबी थियो । ‘निर्वाचन धाँधलीरहित, शान्तिपूर्ण रूपमा हुन सकेन, तैपनि हामीले दुई सयभन्दा केही बढी सिटमा विजय प्राप्त गरेका छौँ, सिट संख्यामा केही पछि परे पनि जनताले समग्रमा ‘पपुलर मत’ दिएर पहिलो पार्टी बनाएका छन्,’ ओलीको भनाइ उद्धृत गर्दै तामाङले भने, ‘एमाले मतको हिसाबले अहिले पनि पहिलो पार्टी हो र आगामी निर्वाचनमा पहिलो पार्टी बन्छौैँ ।’

स्थानीय तह निर्वाचनमा दुई सय तीन पालिका प्रमुख जितेर एमाले दोस्रो भएको छ । निर्वाचनअघि अध्यक्ष ओलीले सत्तारूढ पाँचदलीय गठबन्धनलाई पराजित गरेर पहिलो दल बन्ने दाबी गरे पनि एमालेले अघिल्लो निर्वाचनभन्दा ९३ वटा प्रमुख पद गुमाएको छ । तीन सय २२ प्रमुख जितेर पहिलो दल बनेको कांग्रेसले एमालेलाई एक सय १९ प्रमुख पद बढी जितेर उछिनेको छ । 

अघिल्लो निर्वाचनमा दुई महानगर र सातवटा उपमहानगर जितेको एमाले यसपटकको निर्वाचनमा महानगरतर्फ प्रमुखविहीन भएको छ भने तीन उपमहानगरको मात्र प्रमुख र उपप्रमुखको पद जितेको छ । ६ महानगरमध्ये विराटनगर, पोखरा र ललितपुरमा भारी मतान्तरसहित उपमेयर जितेको छ भने तीन उपमहानगरमा प्रमुख र उपप्रमुख दुवै तथा थप चार उपमहानगरमा उपप्रमुख जितेको छ । 

एमालेले ६ महानगरमध्ये विराटनगर, पोखरा र ललितपुरमा उपमेयर जितेको छ । विराटनगरमा एमालेबाट शिल्पा कार्की ११ हजार, ललितपुरमा मञ्जली शाक्य १० हजार र पोखरामा मञ्जु गुरुङ चार हजार मतान्तरले विजयी भएका छन् । काठमाडौंमा सुनिता डंगोलले प्रतिस्पर्धी उम्मेदवारभन्दा तीन गुणा बढी मतसहित जित सुनिश्चित गरेकी छिन् । 

कलैया, घोराही र तुलसीपुर उपमहानगरमा प्रमुख र उपप्रमुख दुवै जितेको छ भने इटहरी, जितपुर–सिमरा, बुटवल र धनगढीमा उपमेयर जितेको छ । उपमेयर जितेको उपमहानगरपालिकामा पार्टीका तर्फबाट पराजित मेयरको तुलनामा भारी मतले विजयी बनेकाले पराजयको मुख्य कारणमध्ये पहिलो कारण अन्तर्घात नै भएको एमाले नेतृत्वको निष्कर्ष छ । 

संसदीय दलको बैठकमा अध्यक्ष ओलीले पार्टीलाई थप संगठित र व्यवस्थित बनाउँदै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हाम्रा पार्टीका अध्यक्षले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामबारे संक्षिप्त विश्लेषण गर्दै धेरै ठूलो घेराबन्दी र प्रतिकूलताबीच एमालेले जुन परिणाम प्राप्त गरेको छ, त्यो सन्तोषजनक नभए पनि त्यसले एमालेलाई थप सुसंगठित, सुव्यवस्थित, सुविचारित भएर आगामी दिनमा थप निर्वाचनका लागि तयारी गर्नुपर्छ भन्ने निष्कर्ष उहाँ (ओली)ले प्रस्तुत गर्नुभयो,’ उनले भने । 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकको वास्तविकतालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरेको भट्टराईले बताए । नीति तथा कार्यक्रम सतही भएको र नीतिमा भन्दा पनि कार्यक्रममा आधारित भएको ओलीले बताएका छन् । भट्टराईले भने, ‘सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रम मुलुकको अहिले वास्तविकतालाई सम्बोधन गर्न सक्ने र मुलुकको वास्तविक चित्र प्रस्तुत गर्नेभन्दा पनि ज्यादा सतही भएको र त्यो नीतिमा आधारित भएर भन्दा पनि कार्यक्रममा आधारितजस्तो मात्रै देखियो । नीतिहरू त्यसमा खुलेनन् भन्ने खालको चर्चा उहाँ (ओली)ले नीति र कार्यक्रमको सन्दर्भमा गर्नुभएको थियो,’ भट्टराईले भने ।

अमेरिकी उपविदेशमन्त्रीको गतिविधिप्रति ओलीको असन्तुष्टि
नेपाल भ्रमणमा आएकी अमेरिकी मानव अधिकार, लोकतन्त्र तथा तिब्बती मामिला उपविदेशमन्त्री उज्रा जियाले तिब्बती शरणार्थी उक्साउने काम गरेको भन्दै ओलीले असन्तुष्टि जनाएका छन् । तीनदिने नेपाल भ्रमणमा आएकी जिया ८ जेठमा राजधानीमा रहेका विभिन्न तिब्बती शरणार्थी शिविर पुगेकी थिइन् । सरकारको औपचारिक अनुमातिविनै उनी शिविर पुगेर शरणार्थी प्रतिनिधिसँग छलफल गरेकी थिइन् ।

यसैलाई लिएर ओलीले तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम बेठीक भएको बताएका हुन् । ‘अमेरिकी उपविदेशमन्त्रीको नेपाल भ्रमणमा हाम्रा केही परराष्ट्र नीतिका स्थापित मूल्यहरू खण्डित गर्ने व्यवहार भयो । हाम्रो असंलग्न परराष्ट्र नीति छ । हामी जहिले पनि राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौँ,’ ओलीको भनाइ उद्धृत गर्दै विशाल भट्टराईले भने, ‘हामी अहस्तक्षेप र कुनै पनि देशको मामिलामा जहिले पनि असंलग्न रहँदै आएको स्थितिमा तिब्बती शरणार्थीको क्याम्पमा पुगेर उक्साउने काम गरियो । नेपाली भूमिलाई प्रयोग गर्ने काम गरियो । त्यो वास्तवमा बेठीक थियो भन्ने पनि सविस्तार चर्चा गर्नुभयो ।’