मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format o७:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धुर्कोट गाउँपालिकाकाे निर्णय : विद्युतीय चुलो र घरको बिमामा छुट, विपन्नलाई प्राविधिक तथा आवासीय शिक्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:३४:oo

धुर्कोट गाउँपालिकाले गत स्थानीय तहको निर्वाचनमा ‘खरका छाना विस्थापन’ गर्ने पहिलो निर्णय गरेको थियो । निर्णयको पूर्ण कार्यान्वयन गर्दै धुर्कोट गाउँपालिका अहिले ‘खरका छानामुक्त’ गाउँपालिका घोषणा गरिएको छ । 

त्यस्तै, धुर्कोट गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले अहिले पनि चार प्रमुख निर्णयहरू गरेका छन् । धुर्कोट गाउँपालिकाभित्रका घरको बिमा, विद्युतीय चुलो खरिदमा छुटदेखि निःशुल्क आवासीय शिक्षाको निर्णय गरिएको छ । आगो, पहिरो र हुरी–बतासजस्ता विपतकाे कारण घरबारविहीन हुने परिवारको आर्थिक जोखिम कम गर्न बिमाको नीति ल्याइएको धुर्कोट गाउँपालिका प्रमुख भूपाल पोख्रेलले जानकारी दिए । 

भर्खरै मात्र धुर्कोटका करिब डेढ सय घरका छाना हुरीबतासले उडाइदिएको छ । हरेक विपतमा हुने क्षतिमा बिमामार्फत गाउँपालिकाले ५० प्रतिशत व्यहोर्ने निर्णयसहित कार्यविधि निर्माणको काम भइरहेको पोख्रेलले बताए । 

त्यस्तै, गाउँपालिकाले विद्युतीय चुलोमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । उनले विद्युत् चुलोको उपयोगमा वृद्धि गरेर दाउराको प्रयोग कम हुँदा वातावरणीय संरक्षण हुने तथा धुँवाको कारण हुने स्वास्थ्य समस्या कम गर्ने उद्देश्य रहेको बताए ।

निर्णयको भोलिपल्टै कार्यान्वयन

नवनिर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सोमबार पदभार ग्रहण गरेर चार निर्णय गरेका हुन् । त्यसमध्ये अभिभावकविहीन अति विपन्न परिवारका विद्यार्थीलाई आवासीय सुविधासहित कक्षा १२ सम्म नि:शुल्क रूपमा अध्ययन गराउने निर्णय भएकाे छ । सो निर्णय मंगलबारदेखि नै कार्यान्वयनमा लगिएको छ । 

गाउँपालिकाले सार्वजनिक सूचनामार्फत आमाबाबु दुवै नभएका, कोही संरक्षक वा नातागोताले पढाउन नसकेको, पूर्ण रूपमा सहाराविहीन, आमाबाबुमध्ये एकजना कोही नभई आर्थिक रूपले अतिविपन्न, घरको सम्पत्तिले तीन महिना खान नपुग्ने २० बालबालिकालाई यस वर्ष  धुर्कोट गाउँपालिका– ४ को पाञ्चायन माविमा अध्ययनको प्रबन्ध गरिएको गाउँपालिका उपाध्यक्ष सीता गिरीले जानकारी दिइन् । 

त्यस्तै, गाउँपालिकाले दलित परिवारका १० जना छात्र-छात्रालाई एसइईपछिको तीनवर्षे प्राविधिक शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गर्ने निर्णय गरेको छ ।उनीहरूले जिल्लाभित्र वा बाहिर प्राविधिक शिक्षा अध्ययन गर्न चाहेमा गाउँपालिकाले त्यसबापत लाग्ने शुल्क उपलब्ध गराउने गिरीले बताइन् ।