मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७९ जेठ ११ बुधबार ०६:४४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वतन्त्र वडाध्यक्षको घोषणा : चाैँरी उत्पादन केन्द्र र छोटी भन्सार स्थापना

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७९ जेठ ११ बुधबार ०६:४४:००

ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई हराउँदै स्वतन्त्रबाट जित निकालेका भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष निमा सोना शेर्पाले पाँचवर्षे कार्यकालमा वडाभित्र चौँरी उत्पादन केन्द्र र छोटी भन्सार स्थापना गर्ने घोषणा गरेका छन् । 

टासीथाङ र बोक्चेनलाई चौँरीपालन पकेट क्षेत्र घोषणा गरेर उत्पादन केन्द्र बनाउने र मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको खासानजिकै रहेको जोमजोम गाउँसँग बोक्चेनलाई मोटरबाटोले जोडेर छोटी भन्सार स्थापना गर्ने महत्वाकांक्षी योजना शेर्पाले पदबहाली गरेकै दिन घोषणा गरेका हुन् । जिल्लाभर रहेको एक सय तीन वडामा स्वतन्त्रबाट जित्ने शेर्पा एक्ला हुन् । 

निमा सोना शेर्पा आफैँ चौँरीपालक किसान हुन् । उनले केही वर्ष गाउँमै शिक्षण पनि गरे । ७० कटेका बाआमाले सम्पत्तिको रूपमा जोडेर राखेको चौँरीगोठ र खर्कको मायाले उनी अहिले व्यापार छोडेर गाउँमा बसेका छन् । भोटेकोसीको ३ नं. वडामा अधिकांश स्थानीयको चौँरीगोठ र चरण खर्क छन् । ‘स्थानीयको मागबमोजिम त्यस क्षेत्रलाई चौँरी उत्पादन केन्द्र बनाउन लागिएको हो,’ शेर्पाले भने । चौँरीजन्य उत्पादनलाई ‘भोटेकोसी’ ब्रान्डिङ गरेर अमेरिका पठाउने उनको योजना छ । वडाको टासीथाङ र बोक्चेनका घरलौरी एकजना अमेरिकामा बस्छन् । उनीहरूकै पहलमा यहाँ उत्पादित चौँरीजन्य सामग्री अमेरिका लैजाने तयारी छ । नवनिर्वाचित वडाध्यक्ष शेर्पाका ५० वटा चौँरी, गाई र याक छन् । वडाभरि करिब पाँच सय चौँरी, गाई र याक छन् । गाई र याकको क्रसबाट चौँरी उत्पादन गर्ने र अन्यत्र पठाउने वडाको लक्ष्य छ । 

चीनको सीमामा पर्ने बोक्चेन र खासाको जोमजोम गाउँ जोड्न तीन किलोमिटर मोटरबाटो आवश्यक पर्छ । यहाँ छोटी भन्सार स्थापनाका लागि जांमुमा रहेका चिनियाँ साथीहरूसँग छलफल गरेको उनले बताए । तातोपानी नाकाको लिपिङ क्षेत्र भौगोलिक रूपमा कमजोर क्षेत्र हो । बाढीपहिरो र प्राकृतिक विपत्तिमा लिपिङ क्षेत्र बन्द भयो भने बोक्चेनको बाटो प्रयोग गरेर सामान ल्याउन सकिन्छ । ‘छोटी भन्सार स्थापना गर्न सकियो भने तातोपानीको वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सकिन्छ,’ शेर्पाले भने, ‘यसबारे चिनियाँ अधिकारीसँग नेपाल सरकारको अनुमति लिएर कुरा गर्छु ।’ छोटी भन्सार स्थापनाका लागि बोक्चेन पुग्ने बाटो र मोटरेबल पुल बनाउने उनको योजना छ ।