मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ जेठ ११ बुधबार ०६:३४:००
Read Time : > 2 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

भरतपुरमा दाहाल र ललितपुरमा महर्जन दोहोरिए, वीरगन्जमा पनि गठबन्धनका सिंह विजयी

Read Time : > 2 मिनेट
२०७९ जेठ ११ बुधबार ०६:३४:००

स्थानीय तह निर्वाचनमा थप तीन महानगरपालिकाको परिणाम आएको छ । परिणामअनुसार मेयरमा भरतपुर, वीरगन्ज र ललितपुर तीनै ठाउँमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यसअघि नै विराटनगरको नतिजा आइसकेको छ भने पोखरा र काठमाडौं महानगरमा मतगणना जारी छ । 

सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरमा प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट माओवादीकी रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार चार सय ४९ मतान्तरले पराजित गरिन् । दाहालले ५२ हजार २८ र सुवेदीले ३९ हजार पाँच सय ८२ मत प्राप्त गरेका छन् । स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार सात सय २८ मत पाएका छन् । दाहाल निवर्तमान मेयर हुन् । 

महानगरपालिकाको उपमेयरमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राप्रपाकी हिमला गुरुङलाई २२ हजार एक सय ९१ मतान्तरले पराजित गरेका छन् । अधिकारीले ५२ हजार आठ सय तीन मत प्राप्त गर्दा गुरुङले ३० हजार ६ सय १२ मत प्राप्त गरिन् । अधिकारी कांग्रेस भरतपुर महानगर समितिका सभापति हुन् । भरतपुरमा एमाले र राप्रपाबीच तालमेल भएको थियो । 

महानगरका २९ वडामा एक लाख २७ हजार आठ सय ३९ मत खसेको थियो । २९ वडामध्ये कांग्रेसले वडा नं. १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, एकीकृत समाजवादीले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ । वडा नं. २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसका जिल्ला नेता स्वतन्त्रमा उम्मेदवारी दिएर विजयी भएका हुन् ।

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख रेनु दाहालले अबको पाँच वर्ष एक सेकेन्ड पनि खेर नफाल्ने प्रतिबद्धता जनाएकी छन् । मंगलबार दोस्रो कार्यकालका लागि निर्वाचित भइसकेपछि प्रतिक्रिया दिँदै उनले विगतका अधुरा काम पूरा गर्न जनताले अभिमतमार्फत आफूलाई जिम्मेवारी सुम्पिएकाले जनतालाई निराश नबनाउने गरी काम गर्ने प्रतिबद्धता जनाइन् । उनले विपक्षीको निसानालाई तोड्दै आममतदाताले गरेको विश्वासलाई भरोसायोग्य काम गरेर देखाउने बताइन् ।

ललितपुरमा महर्जनले फेरि व्यञ्जनकारलाई हराए
ललितपुरमा भने मेयर गठबन्धनका र उपमेयर एमालेका विजयी भएका छन् । कांग्रेसका चिरिबाबु महर्जनले ४२ हजार सात सय २२ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार पाँच सय ६० मत पाए । राप्रपाका अष्टबहादुर महर्जनले पाँच हजार पाँच सय ५४ मत पाएका छन् ।

उपमेयरमा एमालेकी मञ्जली शाक्यले २५ हजार ८४ मत पाउँदा गठबन्धनका उम्मेदवार माओवादीका बाबुराजा बज्राचार्यले १८ हजार सात सय ५२ मत पाएका छन् । राप्रपाका स्वर्णिमा शाक्यले सात हजार सात सय ७८ र स्वतन्त्र अजरमान जोेशीले सात हजार २९ मत प्राप्त गरेका छन् । 

वीरगन्जमा सरावगी पराजित
वीरगन्ज महानगरको मेयरमा गठबन्धनका उम्मेदवार जसपाका राजेशमान सिंह ४६ हजार दुई सय १५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विजयकुमार सरावगीले २३ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगन्जका निवर्तमान नगरप्रमुख सरावगीलाई सिंहले २२ हजार पाँच सय ४४ मतान्तरले पराजित गरेका हुन् । राप्रपाका गिरीश गिरीले तीन हजार तीन सय १३ मत पाएका छन् ।

यसैगरी, उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार कांग्रेस इम्तियाज आलम ३० हजार ७८ ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार सात सय १९ मत प्राप्त गरेका छन् । वीरगन्ज मधेस प्रदेशको एक मात्र महानगरपालिका हो । मेयरमा निर्वाचित सिंहले वीरगन्जवासीको दैनिकीसँग जोडिएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । उनले कर, स्वास्थ्य र शिक्षाका विषयमा विज्ञहरूसँग बसेर छलफल गरी आवश्यक काम गर्ने उल्लेख गरे । 

११ पालिकामा मतपरिणाम घोषणा हुन बाँकी

स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न ११ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार सात सय ५३ मध्ये सात सय ४२ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशको काठमाडौं महानगरपालिका, गण्डकी प्रदेशको पोखरा महानगरपालिका, प्रदेश १ को उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, मधेस प्रदेशको रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा–विजयपुर नगरपालिका, लुम्बिनी प्रदेशको दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका रहेका छन् । सुदूरपश्चिममा बाजुराको बुढीगंगा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी छ । आयोगको निर्णयपछि उदयपुरको त्रियुगामा मंगलबारदेखि मतगणना सुरु भएको छ ।