निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २९ आइतबार
  • Sunday, 14 August, 2022
२०७९ जेठ ९ सोमबार ०७:२४:००
Read Time : > 5 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

पश्चिममा गोपाल र पूर्वमा हर्क कसरी उदाए ?

पूर्वको धरान र सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाको प्रमुखमा जनताले रुचाएनन् दलका उम्मेदवार

Read Time : > 5 मिनेट
२०७९ जेठ ९ सोमबार ०७:२४:००

धरान उपमहानगरपालिकामा हर्कराज राई (साम्पाङ) ठूला दलका उम्मेदवारलाई पछाडि पार्दै मेयरमा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सत्तारूढ गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गरे । साम्पाङले २० हजार ८२१ र उनका निकटतम प्रतिद्वन्द्वी राईले १६ हजार ६९ मत प्राप्त गरे । एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरिन् ।

स्थानीय तहको निर्वाचनमा धरानवासीले वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि मेयरमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका छन् । सामाजिक अभियन्ताको परिचय बनाएका साम्पाङले धरानको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए । मेयरमा उम्मेदवारी दिने घोषणा गरेपछि उनी एक्लै घरदैलो अभियानमा लागेका थिए । एक्लै भए पनि मुद्दा जायज भएको देखेर धरानवासीले उनलाई लोकप्रिय मत दिएर जिताएका छन् । ०७६ को उपनिर्वाचनमा उनले मेयरमा चार सय ४२ मत ल्याएका थिए । 

वामपन्थी गढको रूपमा चिनिएको धरान उपमहानगर एमालेका लागि ठूलो प्रतिष्ठाको विषय थियो । ०४८ देखि वामपन्थीले जित्दै आएको धरान एमालेको बलियो गढ मानिन्थ्यो । तर, पछिल्लो समय एमालेको गढ भत्किएको छ । स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार तिलक राईले एमालेको किल्ला भत्काएका थिए । माओवादी र एमाले एक भएका वेला १६ हजार मतान्तर हुँदा राईले वामपन्थी उम्मेदवार प्रकाश राईलाई हराएका थिए ।

धरानमा एमालेबाट यसअघि उपमेयर भएकी मञ्जु भण्डारीलाई पार्टीले टिकट दिएको थियो । उनलाई आमकार्यकर्ताले मेयरको रूपमा रुचाएका थिएनन् । उनलाई प्रदेश वा केन्द्रको चुनावमा आउन कार्यकर्ताले नै सुझाव दिएका थिए । तर, केन्द्रीय सदस्य भएकाले पहुँचका भरमा भण्डारीले टिकट ल्याइन् । कांग्रेसका किशोर राई पनि त्यति लोकप्रिय नेता होइनन् । 

 जनताका अपेक्षा पूरा नभएपछि आक्रोशपूर्ण अभिव्यक्ति
दलहरूप्रति जनताले पटक–पटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतपरिणाममा आएको धेरैको विश्लेषण छ । ‘धरानले आफ्नो विद्रोही चरित्रलाई फेरि एकपटक प्रकट गरेको छ । धरानवासीका आधारभूत आवश्यकताका लागि संघर्ष गरिरहेका सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्कराज राई मेयर र संघर्षबाटै खारिएर आएका माओवादीका अइन्द्रविक्रम बेघा उपमेयरमा निर्वाचित हुनुभएको छ,’ महेन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक राजेश विद्रोहीले भने, ‘सत्ता बडो निर्मम हुन्छ । कुर्सीमा पुगेर सग्लो रूपमा फर्किने नेताहरू बिरलै हुन्छन् । बिरलै हुने तिनै नेताहरूको लहरमा आफूलाई उभ्याउन जितेकाहरू सफल हुनुपर्छ ।’ 

 दोस्रो प्रयासमा मेयर बने हर्क
हर्क साम्पाङ खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा संघर्षरत व्यक्ति हुन् । उनले शुक्रबारे माविबाट एसएलसी उत्तीर्ण गरे । उनी ०५६ तिर उच्चशिक्षा अध्ययन गर्न धरान झरेका थिए । साम्पाङले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातक गरेका छन् । अध्ययनकै क्रममा उनले धरानमा एउटा भाषा प्रशिक्षण केन्द्रमा अंग्रेजी भाषा प्रशिक्षकका रूपमा काम गरे । त्यसमा चित्त नबुझेपछि अफगानिस्तान गए । अफगानिस्तानबाट फर्केर इराक गए । अफगानिस्तान र इराकमा ६ वर्ष काम गरेपछि उनी नेपाल फर्किएका हुन् । सामाजिक अभियानमा निरन्तर लागे पनि उनको चर्चा भने कम थियो । धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गमा परेका स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनको चर्चा सुरु भएको हो । 

दलहरूको कार्यशैलीबाट विरक्तिएका जनताले साथ दिए : हर्कराज राई साम्पाङ
यो निर्वाचनमा न मेरो कुनै संगठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर, मैले जनताको समस्या सार्वजनिक रूपमा उठाएको छु । संघर्ष गरेको छु । राजनीतिक दलहरूको कार्यशैलीबाट विरक्तिएका जनताले मलाई मत दिनुभयो । कृतज्ञ छु । सबै धरानवासीलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जित हुन्छ । अहिले मैले केही जितेको छैन । 

सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भएको थियो । भूमिगत खानेपानीका लागि काम सुरु भएर पानी वितरण त भयो, तर समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । उनले पहिलोपटक हिम्मत गरेर आयोजनाप्रति नै प्रश्न गर्न थाले । खानेपानीमा कांग्रेस, एमाले र माओवादीले गरेको बदमासीबारे उनी एक्लै सडकमा उत्रे । बिस्तारै अरूले साथ दिए । धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार, बेथिति र महँगीविरुद्ध आवाज बुलन्द पार्दै गए । दलको कामबाट आजित भएका धरानवासीले बिस्तारै उनको आन्दोलनमा साथ दिन थाले । उनको आन्दोलनबारे ठूला दलले महत्व दिएनन् । तर, उनी निरन्तर खबरदारीमा लागिरहे । 

जनताको सेवा गर्न चुनिएका जनप्रतिनिधि अरू नै काममा व्यस्त भएपछि असन्तुष्टि चुलिएको उनको बुझाइ छ । त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उनको भनाइ छ । तिनै दलका कार्यकर्ताको मत आफूले पाएको साम्पाङले बताए । ०७४ को स्थानीय निर्वाचनमा उनी मतदाता थिए । ०७६ को उपचुनावमा उनी स्वतन्त्र उम्मेदवार बने । ४४२ मत मात्र पाए । तर, उनी निराश भएनन् । स्थानीय तह र सार्वजनिक संस्थाका विकृति र विसंगतिविरुद्ध निरन्तर प्रश्न उठाए । भारतले गरेको कालापानी अतिक्रमण, एमसिसीविरुद्ध पनि उनले आवाज उठाइरहे । 

राजनीतिक दल र नेताहरू सुध्रिनुपर्छ, भ्रष्टाचार, कमिसन र लुटतन्त्रको अन्त्य हुनुपर्छ भन्ने उनको मान्यता छ । धरानको खानेपानीको व्यवस्थापन पहिलो जिम्मेवारी भएको उनले बताए । ‘सबै धरानवासीलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जित हुन्छ । अहिले मैले केही जितेको छैन,’ उनले भने । सर्दु जलाधार क्षेत्रमा मुआब्जा पाइसकेका मानिसले पनि भू–माफियासँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । हर्क साम्पाङ पनि त्यसमा जोडिए । 

 सुन्दर सुदूरपश्चिमका अभियन्ता हमाल मेयरको कुर्सीमा

कुनै वेला थियो, सुदूरपश्चिमका छाउपडी, जातीय छुवाछुत, सामाजिक कुरीतिजस्ता नकारात्मक कुराको बढी प्रचार हुन्थ्यो । सुदूरपश्चिम भन्नेबित्तिकै शिक्षा, स्वास्थ्यजस्ता भौतिक र मानवीय विकासमा पछि परेको क्षेत्रका रूपमा धेरैले चिन्थे । सामाजिक कुरीतिले जेलिएको सुदूरपश्चिममा विकासको सम्भावना बोकेका क्षेत्रहरू नभएका होइनन् । तर, ती प्रचारमा आउन सकेका थिएनन् ।

सुदूरपश्चिमका सम्भावनालाई उजागर गर्न ०६४ तिर नागरिकस्तरबाट सुन्दर सुदूरपश्चिम अभियान सञ्चालन भयो । यहाँको पर्यटनलगायतका सम्भावनालाई देशविदेशमा चिनाउन ‘कोसेढुंगा’ मानिएको त्यो अभियानको परिकल्पना र अगुवाइ गरेका थिए– व्यवसायी गोपाल हमालले । त्यसवेला उनी कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष थिए । उनले नेतृत्व गरेको संघको अगुवाइमा सुदूरपश्चिमलाई चिनाउन यहाँका प्रसिद्ध धार्मिक र पर्यटकीय क्षेत्रका एक हजार तस्बिर पोस्टरमा छापेर देशव्यापी प्रदर्शन गरियो । 

हमाललगायत व्यक्तिहरूको पहलमा धनगढी विमानस्थल कालोपत्रेका लागि ‘एक पैसे’ अभियान सञ्चालन भयो । विमानस्थल कालोपत्रेका लागि रिक्साचालकले समेत पैसा उठाए । जनस्तरबाट थालिएको यही अभियानको दबाबस्वरूप विमानस्थल कालोपत्रे पनि भयो । त्यसअघि उनले धनगढीमा रक्तसञ्चार केन्द्र स्थापनाको नेतृत्व गरिसकेका थिए । यी र अरू यस्तै सामाजिक कार्यले सामाजिक अभियन्ताको छवि बनाएका हमालको परिचय अब फेरिएको छ । जनप्रतिनिधिको रूपमा काम गर्ने दायित्व उनको काँधमा पुगेको छ ।

हमाल सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन् । उनले कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतको फराकिलो अन्तरले पराजित गरे । हमालले २६ हजार ८६५ र निवर्तमान प्रमुख वडले १४ हजार ८१७ मत पाए । एमालेका रणबहादुर चन्द नौ हजार ११५ मतसहित तेस्रो भए । 

प्रणालीको विकास  गर्छु : गोपाल हमाल
सेवा प्रवाह र विकासको अहिलेको प्रणालीमा आमूल सुधार गर्ने योजना बनाएको छु । गुरुयोजना बनाउँछु, कामको प्राथमिकीकरण गर्छु । धनगढीमा यस्तो अभ्यास छ है भन्ने देखाउने गरी काम गर्छौं । सार्वजनिक जग्गा अतिक्रमण हटाउनु, घुम्ती शिविरमार्फत जनतालाई घरदैलोमै स्वास्थ्य सेवा दिनु र सुशासन मेरो पहिलो प्राथमिकतामा पर्छ । 

हमालले मतगणनाको सुरुवातबाटै दोब्बरले अग्रता बनाएका थिए । जितसँगै उनले वडसँग ०७४ को निर्वाचनमा व्यहोरेको हारको बदला पनि लिएका छन् । त्यतिवेलाको निर्वाचनमा हमाललाई दुई हजार ७७० मतान्तरले पराजित गर्दै वड मेयरमा निर्वाचित भएका थिए । उपमेयरमा एमालेकी कन्दकला राना १५ हजार ४७९ मतसहित निर्वाचित भइन् । गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी शान्ति अधिकारीले १२ हजार ६७० मत पाइन् । ०७४ को निर्वाचनमा धनगढीमा मेयर–उपमेयरसहित १२ वटा वडा जितेको कांग्रेस अहिले ११ वडामा खुम्चिएको छ । माओवादीले तीनवटा वडा गुमाएको छ । एमालेले ६ वडामा जित हासिल गरेको छ ।

 हमालप्रतिको आशा, जनप्रतिनिधिसँग असन्तुष्टि
०७४ मा मेयरमा पराजित भएपछि पनि हमालले सामाजिक कार्यलाई जारी राखे । उनले धनगढीमा कपडा बैंक स्थापना गरे । त्यहाँबाट गरिब विपन्नलाई निःशुल्क रूपमा कपडा वितरण गरे । नगरवासीलाई आफन्तको मृत्यु हुँदा घरदेखि आर्यघाटसम्म शव लैजान समस्या थियो । पैसा तिरेर पनि शववाहन पाउन मुस्किल पथ्र्यो । हमालले निःशुल्क महाप्रस्थान यान सञ्चालन गरेपछि ट्र्याक्टरमा शव लैजानुपर्ने बाध्यता हट्यो ।कोरोना संक्रमणका वेला अक्सिजन प्लान्ट स्थापना गर्न उनले नगद सहयोग गरे । औषधिउपचार गर्न नसकेर अप्ठेरोमा परेका कैयौँ नागरिकलाई उनले सक्दो सहयोग गरे । 

कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा गरेका कार्यले उनलाई चर्चामा पुर्‍यायो । उनकै पालामा संघले ०६४ बाट धनगढी महोत्सव सुरु गर्‍यो । महोत्सवको उद्घाटन गर्नेक्रममा उनले सुदूरपश्चिमको विकाससँग सम्बन्धित २१ बुँदे माग सरकार प्रमुखसँग राखे । जुन मागमा सुदूरपश्चिमको विकासमा ‘गेम चेन्जर’ मानिएका योजना थिए । यसले सुदूरपश्चिमको विकासका मुद्दाप्रति राजनीतिकर्मीलाई दबाब सिर्जना गर्‍यो । अहिले पनि महोत्सव व्यापारसँगै यहाँको कृषि, जडीबुटीजस्ता उत्पादनको प्रदर्शनीस्थल मात्र बनेको छैन, सरकारको नेतृत्वमा रहेकाहरूलाई बोलाएर सुदूरपश्चिमको विकासमा ध्यानाकर्षण गराउने थलो बनेको छ ।

सामाजिक कार्यले हमालले जनताको मन जित्दै गए । अर्कोतिर, यो पाँच वर्षमा धनगढीमा जनप्रतिनिधिले काम गर्न नसकेको असन्तुष्टि नागरिकमा थियो । धुलाम्य बाटाघाटा बनेनन् । जीर्ण अवस्थाका सडक रहेको मुख्य बजारमै बर्खामा डुबान हुन्थ्यो । धनगढी विकासको मोडेल बनाउने प्रतिबद्धता जनाएका हमालप्रति मतदाता थप आकर्षित भए । हमाल आफू मेयरमा निर्वाचित हुनुको पछाडि आफ्नो विगतदेखिको सामाजिक योगदान कारण रहेको बताउँछन् । ‘विगतमा मैले गरेका कामलाई यहाँका नागरिकले विश्वास गरे र मलाई मेयरमा निर्वाचित गरे,’ उनले भने, ‘यो विश्वासप्रति खरो उत्रिन सक्नु मैले चुनौतीका रूपमा लिएको छु ।’

अघिल्लो स्थानीय तहको निर्वाचन हारेपछि उनी विवेकशील साझा पार्टीमा प्रवेश गरेका थिए । गत चैतमा विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक पदबाट राजीनामा दिएर हमालले मेयरमा पुनः स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । मेयरमा निर्वाचित भएमा तलब, गाडीलगायत कुनै पनि सुविधा नलिने हमालले घोषणा चुनावका वेला गरेका थिए ।