१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ बैशाख ३१ शनिबार ०८:४०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

अश्वेत समूह सगरमाथा चुचुरोमा, आरोहणमा नयाँ कीर्तिमान

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ बैशाख ३१ शनिबार ०८:४०:००

यो सिजनमा आरोहण गर्न कस्सिएका तीन सय १७ मध्ये बिहीबार बिहानसम्म एक सय ७० आरोहीले चुमे सगरमाथा शिखर

अश्वेत अल्पसंख्यक समुदायका ६ ‘अफ्रिकी–अमेरिकी’ आरोहीले बिहीबार बिहान सगरमाथाको शिखर चुमेका छन् । अमेरिकाको क्यालिफोर्नियाका फिलिप हेन्डरसनको नेतृत्वमा सगरमाथा आरोहण गरेको ‘अल ब्ल्याक अमेरिकन’ टोलीले अश्वेत समुदायबाट सामूहिक रूपमा सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका छन् ।

यसअघि अश्वेत नागरिक सगरमाथाको चुचुरोमा पुगे पनि पूरै अश्वेत (अल ब्ल्याक अमेरिकन) टोली भने पहिलोपटक चुचुरोमा पुगेको हो । फुल सर्कल एभरेस्ट एक्पिडिसन नाम दिइएको टोलीका १० जना अश्वेत आरोहीमध्ये ६ जनाले सफल आरोहण गर्न सफल भएका हुन् । उनीहरू बिहान साढे सात बजेसम्म सगरमाथा चुचुरोमा पुगेको बताइएको छ । आरोही टोलीका सदस्यमध्ये एकजना केन्याका हुन् भने अरू सबै अमेरिकन हुन् । 

पहिलोपटक ‘अल–ब्ल्याक अमेरिकन’ टिमले विश्वकै अग्लो सगरमाथाको शिखरमा पुगेर कीर्तिमानी कायम गरेको आरोही कर्मा तेन्जिङले बताए । विश्वभरि नै अफ्रिकी–अमेरिकी अश्वेत समुदायका नागरिकले भोग्नुपरेको रंगभेदविरुद्ध जनचेतना जगाउन एवं रंगभेदविरुद्धको आवाज बुलन्द बनाउने उद्देश्य बोकेर फुल सर्कलको टोली सगरमाथा आरोहण गर्न आएको हो । यो टोलीलाई आरोहण गराउन सांग्रिला नेपाल ट्रेकले व्यवस्थापकीय जिम्मा लिएको थियो ।

यस टोलीको लक्ष्य सगरमाथा आरोहण गरेर संसारभर जातीय समानतालाई बढावा दिने रहेको जनाइएको छ । ‘अल ब्ल्याक’ टिमले सगरमाथा चढेर जातीय रंगभेद र असमानता चिर्ने प्रयास गरेको टोली नेता फिलिप हेन्डरसनको भनाइ छ । फुल सर्कल एभरेस्ट टिमबाट आरोही र डकुमेन्ट्री बनाउने गरी १५ जना सदस्य नेपाल आएका छन्, जसमध्ये १० जनाले सगरमाथा आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ । केन्याका जेम्स नगरारिगा कागम्बी, नौ अमेरिकी नागरिकहरू अबेबेक मरियम डायोन, रोजमेरी एलिजाबेथ साल, डगलस रोबर्ट ग्लोलर (जेआर), थोमस डार्नेल मुर, मानोह कालेब ऐन्यु, डेमन्ड टेरेल मुलिन्स, केनेथ एड टेलर, फ्रेडरिक डगलस क्याम्पबेल, इभान ग्रिनले सगरमाथा चढ्न अनुमति लिएका थिए । फुल सर्कल एभरेस्ट टिममा दुईजना महिला रहेको बताइएको छ । 

फुल सर्कल एभरेस्ट टोलीको नेतृत्व फिलिप हेन्डरसनले गरे पनि उनले बेसक्याम्पमा बसेर गाइड गरेको सांग्रिला ट्रेकका प्रबन्ध निर्देशक जीवन घिमिरेले बताए । ‘अल–ब्ल्याक अमेरिकन’ आरोही टोलीको नेतृत्व फ्रेडिक डगलस क्याम्पवेलले गरेको पर्यटन विभागले जनाएको छ । ‘फुल सर्कलको टोली ७ अप्रिल (२४ चैत)को बिहान सगरमाथा आरोहणका लागि जहाजमा लुक्ला प्रस्थान गरेको थियो,’ उनले भने, ‘बिहीबार बिहान ६ जना अफ्रिकी–अमेरिकी र १० जना नेपाली चुचुरोमा पुगेका छन्, चारजनाले शिखर चुम्न सकेनन् ।’ यो टोलीले काठमाडौंबाट लुक्ला प्रस्थान गरेको ३५औँ दिनमा सगरमाथा चुचुरो चुम्न सफल भएको छ । 

टोलीका नेता फिलिपले सन् २०१२ मा सगरमाथा आरोहणका लागि गए पनि स्वास्थ्यका कारण तेस्रो शिविरबाटै फर्किनुपरेको थियो । उनले १० वर्षअघि देखेको सपना अहिले उनको समूहले पूरा गरेको छ । सगरमाथा आरोहणमा गोरा जातिको बाहुल्यता देखेपछि उनले अश्वेत अल्पसंख्यककै नेतृत्वमा सगरमाथाको शिखर चुम्ने सपना देखेका थिए । ‘गोराहरूले आफ्नो टिम बनाएर हिमाल चढेको देखेपछि फिलिपले अश्वेत समुदायकै टिम बनाएर सगरमाथा आरोहण गर्ने सपना बुनेका रहेछन्,’ आरोही कर्मा तेन्जिङले भने, ‘अफ्रिकी–अमेरिकी समुदाय पनि आफैँ नेतृत्व गरेर सगरमाथा चढ्न सक्छन्, आफूहरू पनि सक्षम छौँ भनेर विश्वलाई देखाउने उनको सपना सार्थक भएको छ ।’ 

बिहीबार डेढ सय आरोही शिखरमा
बिहीबार डेढ सय हाराहारी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । यससँगै अहिलेसम्म शिखर चुम्ने आरोहीको संख्या एक सय ७० नाघेको छ । यसअघि ७ मे (शनिबार) साँझ बाटो बनाउँदै र डोरी टाँग्दै कामिरिता शेर्पाको नेतृत्वमा ११ जनाको टोलीले शनिबार सगरमाथाको चुचुरोमा पाइला राखेको थियो । शेर्पाले आफ्नो पुरानो रेकर्ड तोड्दै २६औँपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान पनि बनाएका छन् । त्यसपछि ९ मेमा सांग्रिला ट्रेकिङ कम्पनीबाट नौजना शेर्पा र दुईजना विदेशीसहित ११ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । 

यो सिजनमा ५८ देशका तीन सय १७ आरोहीले सगरमाथा चढ्न अनुमति लिएका छन् । यीमध्ये अधिकांश आरोही सगरमाथा शिखरतर्फ लागिसकेको पर्यटन विभाग, पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले बताए । ‘यदि मौसमले साथ दिएमा केही दिनमै सबै आरोही सगरमाथा शिखर पुगिसक्नेछन्,’ उनले भने, ‘अहिलेसम्म मौसमले साथ दिइरहेको छ, आरोहण पनि उत्साहजनक बनेको छ ।’ 

डा. प्रीति शिखरमा 

डाक्टर प्रीति भुसालले बिहीबार बिहान सगरमाथाको सफल आरोहण गरेकी छिन् । कोभिडको लडाइँविरुद्ध अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्सचालक, सामाजिक कार्यकर्तालगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गरेको उनले बताइन् । प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु पनि अर्को लक्ष्य रहेको उनको भनाइ छ । अर्घाखाँची स्थायी घर भएकी भुसाल अहिले मेडिकल अफिसरका रूपमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् ।