निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
२०७९ बैशाख ३१ शनिबार ०८:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ग्रामीणका विपन्नलाई  चुनावी सूचनाका लागि रेडियोको भर

Read Time : > 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार ०८:१३:००

माडीका विशाल चेपाङले गत माघ पहिलो साता नयाँ रेडियो किने । रेडियो किन्नकै लागि भनेर उनले मेलापात गरेर आर्जन गरेको एक हजार रुपैयाँ जम्मा गरेका थिए । त्यति नै वेला रेडियो किन्नुको मुख्य प्रयोजन भने चाँडो र भरपर्दो रूपमा निर्वाचन गतिविधिबारे जानकारी पाउनु थियो । अहिले त्यही रेडियो उनको साथी बनेको छ । 

प्रविधिको विकासले छिनछिनमै सूचना पाइने अवस्था छ । तर, आर्थिक विपन्नताका कारण प्रविधिको सहजता विशालको छाप्रोसम्म पुगेको छैन । बरु, त्यही रेडियो उनका लागि भरपर्दो साथी बनेको छ । ‘मेलापात नगरी छाक टार्न नपुग्ने भएकाले दलका पछिपछि लागेर हिँड्न पाइँदैन । निर्वाचनका वेला नेताहरूले के गर्दै छन्, हाम्रा लागि कुन दलले के योजना ल्याए, थाहा पाउन यही रेडियो सहयोगी बनेको छ,’ विशालले नयाँ पत्रिकासँग भने । विशाल सुकुमबासी बस्तीमा बस्छन् । उनको बस्तीमा बिजुली पुगेको छैन । महँगा मोबाइल किन्ने सामथ्र्य उनीसँग छैन । यस्तोमा उनी र सुकुमबासी बस्तीमा सूचना र समाचारका लागि रेडियो एक मात्र स्रोत बनेको छ । 

८४ वर्षका लालबहादुर गुरुङ अरूकै जमिनमा छाप्रो हालेर बसेका छन् । ०३७ सालदेखि भरतपुर–१३, चम्पानगरमा बस्दै आएका उनको साथी पनि रेडियो नै हो । १२ वर्षअघि क्यान्सरबाट श्रीमतीको मृत्यु भएपछि त झन् रेडियो नै दिनरातको साथी बनेको छ । तीन छोरा र तीन छोरीका बाबु लालबहादुरका एक छोरा ४० वर्षदेखि बेपत्ता छन् । एउटा छोराको सानैमा मृत्यु भयो । एक छोरा परिवारसहित अन्यत्रै बस्छन् । तीन छोरी विवाह गरेर पठाइसकेका लालबहादुरले चुनावका खबर रेडियोबाटै सुन्ने गरेका छन् । रेडियो सुनैकै आधारमा उनले आफ्नो छाप्रोमा भोट माग्न आउनेहरूसँग आफ्ना समस्या राख्दै आएका छन् । रेडियोमा खानेपानी घरघरमा पुर्‍याइदिन्छु, सुकुमबासीलाई लालपुर्जा दिन्छु भनेको सुनेका उनले यसपालि भोट माग्न आएका उम्मेदवारहरूलाई लालपुर्जासहितको पक्की घर र एउटा इनार मागेको सुनाए । 

चितवनका ग्रामीण भेगमा बस्ने विशाल र लालबहादुरजस्तै धेरैको सूचनाको स्रोत अहिले पनि रेडियो नै हो । बिजुली र आर्थिक स्रोत नहुँदा टिभीको पहुँच सबैसँग छैन । पत्रपत्रिका सबै ठाउँमा पुग्दैन । महँगा मोबाइल किन्ने आर्थिक क्षमता छैन । 

निर्वाचन आयोगको निर्देशिकाका कारण अहिले चुनावमा पर्चा, पम्प्लेट र भित्तेलेखनको चुनावी प्रचार हराएको छ । यद्यपि, विपत् र चुनावमा रेडियो सुन्नेको संख्यामा सधैँ बढोत्तरी हुने गरेको छ । सामाजिक सञ्जालको पहुँच भएका युवाहरू पनि समाचार सत्य हो÷हैन भनेर प्रमाणित गर्न रेडियो सुन्ने गरेको बताउँछन् । गोरखाका अश्विन धितालले भने, ‘सामाजिक सञ्जाल र अनलाइनमा आएका धेरै समाचार सत्य नभएको पाएको छु । त्यसैले ती समाचार प्रमाणित गर्न रेडियो सुन्ने गरेको छु ।’ सजिलो र सर्वसुलभ हुनुका साथै काम गर्दै पनि सुन्न सकिने भएकाले रेडियो उनको रोजाइमा परेको हो । 

मतदानभन्दा दुई महिनाअघि फागुनमा सेयरकास्ट इनिसिएटिभ नेपालले ७७ जिल्लाका पाँच हजार पाँच सय ८० जनामा गरेको सर्वेक्षणले १८ वर्षभन्दा माथिका ४५ प्रतिशतले रेडियो सुन्ने गरेको देखाएको छ । तीमध्ये समाचारका लागि ३८ प्रतिशतले दैनिक रेडियो सुन्ने र ६० प्रतिशतले कहिलेकाहीँ मात्र समाचारका लागि रेडियो सुन्ने गरेको सेयरकास्टको सर्वेक्षणले देखाएको छ । यद्यपि, पछिल्लो सात वर्षका तथ्यांकले विपत् र चुनावका समयमा रेडियो सुन्नेको संख्यामा बढोत्तरी भएको पाइएको सेयरकास्टका प्रमुख कार्यकारी प्रमुख मधु आचार्यले बताए ।