१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काठमाडौं महानगरपालिकाको मतगणनाका लागि विभिन्न मतदान केन्द्रबाट संकलित मतपेटिका राष्ट्रिय सभागृहमा पुर्‍याइँदै । शनिबार बिहानदेखि मतगणना गर्ने कार्यक्रम छ । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
हिमाल पौडेल काठमाडाैं
२०७९ बैशाख ३१ शनिबार ०६:१९:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जनताको फैसला बाकसमा

Read Time : > 6 मिनेट
२०७९ बैशाख ३१ शनिबार ०६:१९:००

६४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान, झडप र विवादपछि १६ जिल्लाका ७७ केन्द्रको मतदान रद्द

स्थानीय सरकारको दोस्रो कार्यकालको नेतृत्व चयनका लागि शुक्रबार देशभरका स्थानीय तहमा मतदान भएको छ । निर्वाचन आयोगले छिटपुट हिंसाका घटनाबाहेक चुनाव शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ । निर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । 

‘स्थानीय तह सदस्य निर्वाचनको दौरानमा विभिन्न जिल्लामा विभिन्न किसिमका अप्रिय घटना पनि भएका छन् । आमरूपमा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने । 

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछिको यो दोस्रो स्थानीय निर्वाचन हो । राति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार करिब ६४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । राजनीतिक दल तथा उम्मेदवारबीच उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान रद्द भएको आयोगले जनाएको छ । आयोगले केन्द्रबाट मतदान रद्द भएका मतदान केन्द्रको सूची सार्वजनिक गरेको छैन । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल तथा उम्मेदवारबीच भएको आपसी विवाद झाँगिँदै गएपछि केही ठाउँमा प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था आएको र केही ठाउँमा मौसमको प्रतिकूलताका कारण निर्वाचन स्थगन गर्नुपरेको बताए । 

ती स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशित गरी पुनः मतदान गराउनेछन् । आयोगका अनुसार लुम्बिनी र गण्डकी प्रदेशमा भने मतदान स्थगित भएको छैन । 

आयोगले ६३ देखि ७२ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरे पनि सम्भव भएको छैन । ‘आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने लागेको छ । यसका कारण पहिल्याउन बाँकी नै छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘धेरै मतदाता भएको ठाउँमा अलिकति कम मतदान हुनेबित्तिकै पनि अंकमा फरक पार्छ । काठमाडौं महानगरमा स्थिति शान्तिपूर्ण, मतदान केन्द्रसम्म सहज पहुँच र सबै सुविधा हुँदाहुँदै पनि कम मात्रै मतदान भएको प्रारम्भिक अनुमान छ । यो सन्तोषजनक छैन ।’ 

आयोगका अनुसार बढीमा ७५ प्रतिशत र कममा ५० प्रशितसम्म मत खसेको छ । मतभार धेरै भएका महानगरलगायत तराई–मधेसका कतिपय स्थानीय तहमा तुलनात्मक रूपमा कम मत खसेको छ । 

स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार पाँच सय ३० महिला र एक सय ८३ अन्य गरी कुल एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता थिए । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका छन् । यसअघि निर्वाचनको मिति घोषणा भएका दिन १८ वर्ष उमेर पुगेका व्यक्तिले मात्र मतदानको अवसर पाउँदै आएका थिए । 

निर्वाचनमा हालसम्म तीन सय ९० निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् । निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता भएका थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराएका थिए । 

मनाङबाट मतगणनाको सुरुवात 
स्थानीय तह निर्वाचनमा हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको बताए । जिल्लामा चार गाउँपालिका रहेका छन् । जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घन्टापछि अन्य गाउँपालिकामा समेत सुरु भएको थियो । जिल्लामा कुल ६ हजार चार सय ९६ मतदाता रहेका छन् । कुल चार हजार ६७ मत खसेको छ । मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको र केही स्थानमा मतगणना सुरु भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

एकै चरणमा निर्वाचन कठिन
एकै चरणमा देशभर स्थानीय निर्वाचन गर्ने निर्णय अव्यावहारिक देखिएको आयोगको निष्कर्ष छ । आयोगका एक पदाधिकारीले शान्तिसुरक्षा चुस्त बनाउन नसकिएको, कर्मचारी पनि उत्साहित नरहेको र कतिपय ठाउँमा दलहरूबीच सानो विषयमा पनि ठूलो विवाद भएकाले एकैपटक निर्वाचन कठिन देखिएको अनौपचारिक निष्कर्ष रहेको बताए । 

उम्मेदवारहरूको जबर्जस्तीपनले मतदान ठीकठाक चल्न नसकेको आयोग पदाधिकारीको बुझाइ छ । ‘आयोगले दुःखका साथ भन्नुपर्छ– राजनीतिक अराजकता धेरै ठाउँमा भयो । त्यसैले सुरक्षामा चुनौती आएको हो । तर, रेटिङ गर्दा निर्वाचनलाई सामान्य खालको भन्छौँ,’ एक पदाधिकारीले भने । 

आयोगले सुरुमा १४ र २२ वैशाखमा निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएको थियो । तर, दलहरूबीच पहिला स्थानीय वा संघीय चुनाव गर्ने भन्ने विवाद भएपछि निर्वाचन मिति तोक्न ढिला भएको थियो । त्यसपछि सरकारले २४ माघमा एक चरणमा गर्ने गरी स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको थियो । त्यसवेला नै सुरक्षा निकायले एकै चरणमा निर्वाचन कठिन हुन सक्ने विश्लेषण गरेको थियो ।

मतदाताको उत्साहले लोकतन्त्रप्रतिको नागरिकको विश्वासलाई थप प्रमाणित गरेको छ : शेरबहादुर देउवा, प्रधानमन्त्री 
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकामा अत्यन्त उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । दशकौँको अविराम लोकतान्त्रिक संघर्ष–यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरूप प्राप्त उपलब्धिलाई जरैदेखि संस्थागत र सुदृढ, सार्वभौस नेपाली नागरिकले देखाउनुभएको उत्साहले लोकतन्त्रप्रतिको नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ । निर्वाचनमा जतताको उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको छ । शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकोमा नेपाल सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु । 

षड्यन्त्रलाई चिर्दै निर्वाचन सम्पन्न भयो : केपी ओली, अध्यक्ष एमाले 

सत्ताधारी गठबन्धनको निर्वाचन नै नगराउने षड्यन्त्रलाई चिर्दै आज वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौँ । भयरहित वातावरणमा स्वच्छ निर्वाचनका लागि हाम्रो पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भयो । तर, सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्राविरुद्ध अग्रिम नक्कली मतपत्रसमेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउनेजस्ता कार्यसमेत गर्‍यो । लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने पाँचदलीय सत्तागठबन्धनबाट यसप्रकारको अधिनायकवादी कार्य भयो । ती स्थानमा गृह प्रशासन अस्वाभाविक रूपमा असन्तुलित देखियो । बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन जारी रहेकै वेला रहस्यमय ढंगले सुरक्षाकर्मीलाई हटाई निर्वाचन बिथोल्न खोजियो । केही पालिकाका प्रमुखका उम्मेदवारहरूलाई मतदान केन्द्र निरीक्षणमा बाधा पुर्‍याइयो । यस प्रकृतिका घटना दर्जनौँ स्थानमा भएका छन् । 

पूर्वआयुक्तहरू के भन्छन्–

अयोधीप्रसाद यादव, पूर्वप्रमुख निर्वाचन आयुक्त 
निर्वाचन हुनु आफैँमा एउटा सफलता हो । संविधान निर्माणपछि दोस्रोपटक स्थानीय चुनाव भयो । यो राम्रो पक्ष हो । तर, मतदातामा जुन उत्साह हुनुपर्ने थियो, त्यो पाइएन । उनीहरूमा निराशा छ । कतिपय ठाउँमा मौसमले पनि अवरोध गर्‍यो । मतदान केन्द्र बढेको छ, तर भोट हाल्न मतदाताले सात–आठ घन्टा हिँड्नुपर्ने अवस्था अझै कायम छ । भूगोलको कारण पनि त्यो जटिलता छ । आगामी दिनमा यसलाई पुनर्विचार गर्नुपर्छ । अब मतदानका माध्यमबारे पनि सोच्ने वेला आयो । त्यस्तै, चुनाव चिह्न सानो भएकाले पनि मतदातालाई अप्ठ्यारो भएको हो कि जस्तो लाग्छ । मतपत्रको आकारप्रकारबारे आयोगले सोच्नुपर्छ । सुरक्षाको कुरा पनि उठ्यो । कतिपय ठाउँमा अप्रिय घटना भए ।

दोलखबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त
अन्योल, शंका, भ्रमबीच पनि पाँच वर्षपछि स्थानीय निर्वाचन सम्पन्न भयो । यसमा सबैले खुसी मान्नुपर्छ । किनभने यो लोकतन्त्रको मुख्य आधार हो । यो निर्वाचन सन्तोषजनक रह्यो । छिटपुट झडप, हवाई फायर भयो, केही–केही मानिस घाइते पनि भए । यस्ता घटना हुनुहुँदैन थियो । मानिस मतदानमा उत्साहजनक रूपमा सहभागी भए । किनभने सय वर्षभन्दा बढी उमेरका आमाबुबा पनि मतदानमा सहभागी भएको देखियो । उम्मेदवारी, दलहरूको सहभागिता, निर्वाचन व्यवस्थापन, सुरक्षा र आचारसंहिताको दृष्टिकोणले केही कमी–कमजोरी भए पनि निर्वाचन सन्तोषजनक रह्यो ।

इला शर्मा, पूर्वनिर्वाचन आयुक्त 
म काठमाडौंको २०–२२ ठाउँमा पर्यवेक्षकका लागि गएकी थिएँ । यसपटक आचारसंहिता उल्लंघन धेरै कम भएकोे छ । पहिला–पहिला मतदानस्थलमा मतदातालाई थर्काएकोसमेत देखिन्थ्यो । तर, यसपटक त्यस्तो देखिएन । दलका प्रतिनिधिमा संयमता देखियो । कतिपय मतदानस्थलमा एकदमै राम्रो व्यवस्थापन थियो । कहीँकहीँचाहिँ अपांगता भएका व्यक्तिको सुविधामा ध्यान दिइएन । यसपटक मतदातालाई भोट हाल्दा अलि बढी समय लागेको पनि देखियो । कसै–कसैलाई १० मिनेटसम्म पनि लाग्यो । समग्रमा, उत्साह र उमंगका साथ भोट हालेका छन् । मौसमले पनि साथ दियो, धेरै ठाउँमा पानी परेन ।

गाउँमै आइपुगेको ‘सिंहदरबार’ हाँक्ने प्रतिनिधि छान्न शताब्दी नाघेका ज्येष्ठ नागरिक पनि उत्साहपूर्वक सहभागी भएका छन् । विभिन्न स्थानीय तहमा ११३ वर्षसम्मका मतदाताले भोट हालेका छन् । 

मोरङमा पनि सुन्दरहरैँचा नगरपालिका– ७ की ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छिन् । अधिकारीले आफन्तको सहयोगमा स्थानीय पञ्चायत मावि केन्द्रमा मतदान गरेको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिए ।

तनहुँको भानु नगरपालिका– ५ बरभञ्ज्याङनिवासी ११३ वर्षकै गोपीमाया पोखरेलले पनि शेपाबगैँचास्थित महावेवता प्रावि मतदान केन्द्रबाट मतदान गरेकी छिन् । मतदानपछि उनले आगामी निर्वाचनमा पनि भोट हाल्ने इच्छा रहेको प्रतिक्रिया दिइन् । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– १ दोवाका १०९ वर्षीय मानबहादुर साम्जालीले कैलाश मावि मतदान केन्द्रबाट भोट हालेको सहायक निर्वाचन अधिकृत सुरणप्रसाद शर्माले बताए ।

दाङको राप्ती गाउँपालिका– ३ मा १०४ वर्षीया कमला शर्माले नवज्योति आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट भोट हालेकी छिन् । ७० वर्षीय छोरा गोविन्द शर्माले उनलाई मतदानमा सहयोग गरेका थिए । 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– २ ढकनियाकी १०२ वर्षीया यशोदादेवी पनेरूले पनि मतदान गरेकी छिन् । मतदान अधिकृत महेशराज भट्टका अनुसार बैजनाथ आधारभूत विद्यालय लक्ष्मीपुर ‘ख’ मतदान केन्द्रमा उनले छोराको सहयोगमा पहिलो मत खसालेकी हुन् । 

मानव अधिकार आयोगले भन्यो– ‘स्थानीय निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रूपमा हुन सकेन’

राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रूपमा हुन नसकेको बताएको छ । स्थानीय तह निर्वाचनमा स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि बनाइएका संयन्त्रमार्फत गरिएको अनुगमनमा निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रूपमा हुन नसकेको पाइएको आयोगले जनाएको हो । 

आयोगले स्थानीय तह निर्वाचनको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरेको पनि स्पष्ट पारेको छ । ‘अनुगमनको क्रममा प्राप्त जानकारीअनुसार सप्तरी, काभ्रेपलाञ्चोक, अछाम, कपिलवस्तु र दाङ जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा मतदान स्थगित भएको पाइएको छ । बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालीकोट, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, सप्तरी, रौतहट, धनुषा, महोत्तरीलगायतका जिल्लाका केही मतदान केन्द्रहरूमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा केही व्यक्ति घाइते भएको, केही स्थानमा हवाई फायर हुँदा केही समय मतदान प्रभावित भएको बुझिएको छ,’ आयोगले मतदान सकिएलगत्तै जारी गरेको विज्ञप्तिमा छ, ‘अपेक्षाकृत निर्वाचन शान्तिपूर्ण रूपमा हुन नसकेको आयोगको अनुगमनबाट तथा आयोगलाई प्राप्त सूचनाका आधारमा देखिन्छ।’

आयोगले आयोगका अध्यक्ष, सदस्य, आयोगका पूर्वपदाधिकारीहरू तथा कामु सचिव नेतृत्वको सातवटा उच्चस्तरीय अनुगमन टोली एवं आयोगका कर्मचारीहरू सम्मिलित ४५ टोलीले ७७ वटै जिल्लामा अनुगमन गरेको जनाएको छ। 

आयोगका अनुसार ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, किरियापुत्री, महिला, अपांगता भएका व्यक्तिहरूको सहभागिता रहे पनि हुम्ला, गोरखालगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदानस्थल टाढा भएकाले अघिल्लो दिनदेखि हिँडेरसमेत मत खसाल्न मतदाताहरू केन्द्रमा पुगेको पाइएको छ । आयोगले मतदाता शिक्षाको अभावका कारण मतदान गर्ने तरिकामा अलमलमा परेको, कतिपय मतदानस्थलहरूमा खानेपानीको व्यवस्थापन नहुँदा मतदाता बेहोस हुन पुगेको, शौचालयको अभाव भएको, ज्येष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्तिहरूलाई सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था नभएको पाइएको पनि जनाएको छ । त्यसैगरी, मतपेटिका तोडफोड तथा आगजनी हुनु, मतदान अधिकृत कुटिनुजस्ता घटनाले राजनीतिक दलहरूले थप संयमता अपनाउनुपर्ने देखिएको आयोगले जनाएको छ।