मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख २७ मंगलबार १९:११:००
Read Time : > 5 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहनगरमै सहज छैन झापाका ठूला नेतालाई

Read Time : > 5 मिनेट
२०७९ बैशाख २७ मंगलबार १९:११:००

ठूला राजनीतिक दलका शीर्ष नेताहरूलाई आफ्नो गृहनगरमा पार्टीका उम्मेदवारलाई चुनाव जिताउन यसपटक मुस्किल देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगर दमकमा गीताकुमारी अधिकारीलाई जिताउन जति अप्ठेरो छ, त्यति नै कांग्रेसका नेता कृष्ण सिटौलालाई गाह्रो छ । भद्रपुर नगरपालिकाको मेयरमा सिटौलानिकट गणेश पोख्रेल उम्मेदवार बनेका छन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको नगर मेचीनगर नगरपालिकामा पनि अवस्था त्यस्तै पेचिलो छ । तुलनात्मक रूपमा कांग्रेसको संगठन केही बलियो देखिए पनि मेचीनगरमा थपिएका करिब १७ हजार नयाँ मतदाता निर्णायक देखिन्छ । 

एमालेको दबदबामाथि गठबन्धन तगारो
एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा प्रजातन्त्र पुनस्र्थापनापछि भएका सबै निर्वाचन एमालेले जित्दै आएको छ । ०४९, ०५४ र ०७४ को स्थानीय निर्वाचनमा एमालेले दमकमा दबदबा कायम गरेको थियो । यसपटक भने एमालेको दबदबामाथि गठबन्धनले तगारो तेस्र्याएको छ । 

०५४ र ०७४ मा निरन्तर पराजय खेपेका राप्रपाका राम थापा यसपटक माओवादी केन्द्र र कांग्रेससँग तालमेल गरेर एमाले उम्मेदवारविरुद्ध चुनावी मैदानमा छन् । दमक नगरपालिकामा १६ जनाले प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । तीमध्ये एमालेबाट गीता अधिकारी प्रमुख र उपप्रमुखमा अम्बिका खनाल छन् । गठबन्धनबाट राप्रपाका राम थापा प्रमुख र कांग्रेसकी रेगिना भट्टराई उपप्रमुखको उम्मेदवार छन् । यहाँ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । 

०४६ मा प्रजातन्त्र स्थापनापछि भएका स्थानीय निर्वाचनमा एमालेले एकाधिकार जमाउँदै आएको छ । यो निर्वाचन पनि एमालेका लागि प्रतिष्ठाको लडाइँ हो । राप्रपाका नेता थापा पटकपटक एमालेका उम्मेदवारसँग नगरप्रमुखमा हार व्यहोर्दै आएका छन् । यसपटक कांग्रेस र माओवादीले पनि साथ दिएकाले थापा विगतभन्दा निकै बलियो देखिन्छन् । यहाँ पहिलो शक्ति रहेको एमालेविरुद्ध दोस्रो ठूलो दल राप्रपा, तेस्रो माओवादी र चौथो कांग्रेस एक ठाउँमा छन् । एमालेबाट छुटिएको एकीकृत समाजवादीले नगरप्रमुखमा उम्मेदवारी नदिएर एमालेविरोधी गठबन्धनलाई नै सघाएको छ । 

०७४ को स्थानीय तहमा एमालेबाट नगरप्रमुख पदमा निर्वाचित भएका रोमनाथ ओलीले १० हजार आठ सय ६ मत ल्याएका थिए । दोस्रो स्थानमा रहेका राप्रपाका थापाले सात हजार ६ सय ५५, तेस्रो स्थानमा रहेको माओवादीका रेवतराज पुरीले ६ हजार आठ सय ९८ र चौथो भएको कांग्रेसका ढुण्डीराज भण्डारीले पाँच हजार पाँच सय ३९ मत ल्याएका थिए । ५८ हजार १७६ जना कुल मतदाता रहेको दमकमा ११ हजार ६५३ नयाँ मतदाता छन् । 

एमालेले दमककी उपप्रमुख रहिसकेकी गीता अधिकारीलाई मेयरमा उठाएको छ । करिब तीन दशक प्राध्यापन पेसापछि राजनीतिमा आएकी अधिकारीले ०७४ मा एमालेको सांगठनिक मात्र नभई एमालेका मेयरभन्दा दुई हजार बढी लोकप्रिय मत ल्याएकी थिइन् । त्यसैले उनी पनि प्रभावशाली उम्मेदवार हुन् । 

एमालेलाई प्रतिगमनकारीको संज्ञा दिने कांग्रेस–माओवादीले दमकमा संघीयता र गणतन्त्रविरोधी राप्रपासँग तालमेल गरेकाले आलोचना पनि हुने गरेको छ । यसले अधिकारीको पक्षमा माहोल केही बढाएको छ । तर, बलियो विपक्षी गठबन्धन उनको जितमा तगारो बन्न सक्छ । 

सिटौलाको गृहनगरमा कांग्रेसलाई सहज छैन
भद्रपुर कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर हो । कांग्रेसका प्रभावशाली नेता सिटौलाको गृहनगरमा भने प्रजातन्त्र स्थापनापछि भएका स्थानीय चुनावमा कांग्रेसले कहिल्यै जित निकाल्न सकेको छैन । यसपटक भने गठबन्धन भएका कारण जित निकाल्दै इतिहास रच्ने दाउमा छ, कांग्रेस । गठबन्धनबाट कांग्रेसका गणेश पोखरेल नगरप्रमुखको उम्मेदवार बनेका छन् । उनी यसअघि ०७४ मा एमालेका जीवनकुमार श्रेष्ठसँग पराजित भएका थिए ।

भद्रपुरमा कांग्रेस, माओवादीको गठबन्धनलाई नेकपा(एस)ले पनि सहयोग गरेको छ । तर, विगतको मतपरिणाम विश्लेषण गर्दा पनि गठबन्धनले सहज जित निकाल्ने अवस्था छैन । नगरप्रमुख पदमा निकै प्रतिस्पर्धा हुने देखिन्छ । यसपटक एमालेले नगरप्रमुख पदमा असारु राजवंशीलाई उठाएको छ । भद्रपुरमा आदिवासी समुदायको भोट धेरै रहेको र यो भोट असारुलाई आउने आकलन छ । 

भद्रपुर नगरपालिका झापाको सदरमुकाम भएको नगरपालिका पनि हो । यहाँ ०७४ मा एमालेका जीवनकुमार श्रेष्ठले ११ हजार ४२ मत पाउँदै विजयी भएका थिए । कांग्रेसका पोखरेलले सात हजार २१५ र माओवादीका शिवकुमार राजभण्डारीले चार हजार १३४ मत पाएका थिए । यहाँ नेकपा (एस)को मत निकै कमजोर भएको बताइन्छ । यी दुई दलको मत जोड्दा पनि ११ हजार ३४९ मात्र हुन्छ । एमालेसँग त्यसवेलाको मत हेर्दा पनि ३०७ मतले मात्र गठबन्धन अगाडि छ । तसर्थ, निकै प्रतिस्पर्धा हुने देखिन्छ । 

यो नगरपालिका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रअन्तर्गत पर्छ । लिङ्देन राप्रपाको अध्यक्ष भएपछि यहाँ पार्टीको अवस्था केही सुधार भएको छ । ०७४ मा राप्रपाका नवराज पनेरुले दुई हजार ८२२ मत ल्याएका थिए । यद्यपि, गठबन्धनभित्रको माओवादी पनि समस्या छ । टिकट विरतरणमा असन्तुष्टि जनाउँदै माओवादी प्रदेश सदस्य मीरा अधिकारी, पार्टी नगर इन्चार्ज नरेश सञ्जेलसहित २१७ जनाले पार्टी छाडेको घोषणा गरिसकेका छन् । जसको असर गठबन्धनलाई पर्ने देखिन्छ । 

यसपटक भद्रपुरमा नगरप्रमुख को बन्ने हो भन्ने नयाँ मतदाताले निर्धारण गर्नेछन् । भद्रपुरमा नौ हजार २०३ जना नयाँ मतदाता थपिएका छन् । यसपटक भद्रपुरमा कुल मतदाता संख्या ५१ हजार २६० छ ।

यद्यपि, कांग्रेसबाट प्रमुखका उम्मेदवार पोखरेलले भने आफूले जित्ने दाबी गरे । ‘पाँच वर्षमा एमालेको सरकार स्थानीय तहमा हुँदा के काम भयो भन्ने जनताले मूल्यांकन गरेका छन् । ‘पाँच वर्षमा भद्रपुरमा के भयो भन्ने जनताले मूल्यांकन गरेका छन् । जनताको पक्षमा एमालेले पाँच वर्षमा काम गर्न सकेन । यही आधार हो । त्यसपछि गठबन्धन भएपछि सांगठनिक रूपमा हामी दह्रो भएका छौँ,’ मेयरको उम्मेदवार पोखरेल भन्छन्, ‘त्यसपछि हामीले ल्याएका मुद्दा नै जितका आधार हुन् । नयाँ मतदाताका लागि स्वरोजगारमूलक कार्यक्रम ल्याएका छौँ । अर्को कुरा म पदमा नहुँदा पनि निरन्तर जनताको सेवामा लागिरहेको छु । नयाँ मतदाताले पनि पाँच वर्षको राम्ररी मूल्यांकन गरेका छन् ।’

यद्यपि, एमाले उम्मेदवार राजवंशी भने विगतमा एमालेले गरेका काम नै जितको मूल आधार रहेको बताउँछन् । ‘विगतमा एमालेले नगरको नेतृत्व गर्दा गरेको विकास निर्माणका काम नै जितको मूल अधार हो । हामीले विकासलाई प्रमुख एजेन्डा बनाएका छौँ,’ उनले भने, ‘नयाँ मतदाताका लागि पनि युवालक्षित कार्यक्रमहरू ल्याएका छौँ । नयाँ मतदाता हामीप्रति आकर्षित छन् ।’ 

यस्तै फरक–फरक विचार राख्ने पार्टीबीच भएको गठबन्धनमा जनताले भोट नहाल्ने उनी दाबी गर्छन् । ‘राजनीतिक रूपले विपरीत दिशामा रहेका पार्टी जनतालाई राहत हैन सास्ती दिन आएका छन् । यसलाई भद्रपुर नगरवासीले मन पराएका छैनन् । यो जनताको पक्षमा नरहेको यहाँका जनतालाई थाहा छ,’ उनले भने, ‘बरु एक्लाएक्लै चुनाव लडेको भए समस्या हुन्थ्यो । तर, गठबन्धनले सहज भएको छ । उहाँहरूबीच वैमनस्यता र विवाद छ । त्यहाँका निष्ठावान् कार्यकर्ता नै सन्तुष्ट छैनन् ।’ 

विश्वप्रकाशको गृहनगरमा नयाँ मतदाता निर्णायक 
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर हो, मेचीनगर । ०७४ को स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसले नगरप्रमुख पद जितेको थियो । यो नगरपालिकामा यसपटक गठबन्धनबाट प्रमुखमा कांग्रेसका इन्द्रबहादुर बुढाथोकी र उपप्रमुखमा माओवादीका प्रकाश भण्डारी छन् । एमालेबाट गोपालचन्द्र भण्डारी मेचीनगरको नगरप्रमुखको दौडमा छन् ।

उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नगरप्रमुखमा प्रतिस्पर्धा गर्न आएका हुन् । उपप्रमुखमा एमालेबाट मीना पोखरेल उप्रेती उम्मेदवार छिन् । उनी यसअघि पनि उपप्रमुख थिइन् । मेचीनगर नगरपालिका भूगोल र मतदाताका हिसाबले पनि जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका हो ।

०७४ मा कांग्रेसबाट विमल आचार्य मेयरमा निर्वाचित भएका थिए । उनले २० हजार ७७६ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद प्रसाईंले १९ हजार १९२ मत ल्याएका थिए । माओवादीका हंसलाल राजवंशीले सात हजार ६९४ मत ल्याएका थिए । यो मतपरिणाम हेर्दा गठबन्धनको जित सहज छ ।

तर, यहाँ १७ हजार ४०८ जना नयाँ मतदाता थपिएका छन् । यो नगरपालिकामा कसले जित्छ भन्नका लागि उनीहरूको मत नै निर्णायक बन्ने देखिन्छ । हाल मेचीनगरमा ९० हजार २०२ जना मतदाता छन् ।

झापामा विश्वप्रकाश र सिटौलाबीच शक्तिसंघर्ष हुँदै आएको छ । जुन शक्तिसंघर्षको प्रभाव मेचीनगरमा पनि देखिन्छ । यसको असर निर्वाचनमा देखिन्छ कि भन्ने विश्लेषण पनि हुने गरेको छ । दुई नेताबीचको शक्तिसंघर्ष मनोनयन दर्ताको दिन पनि देखियो । प्रदेशले टिकट दिएका सिटौलानिकट केशवराज पाण्डेको टिकट अन्तिम समयमा खोसियो । उनलाई पार्टी प्रदेश समितिले टिकट दिएको थियो । प्रदेश समिति सभापति उद्धव थापा हुन् । उनी सिटौलानिकट हुन् । 

टिकट पाएपछि मनोनयन दर्ता गर्न पुगेका पाण्डेको टिकट शर्माले केन्द्रबाटै खोसे । उनले अन्तिम समयमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहिको टिकट इन्द्रबहादुर बुढाथोकीलाई दिए । उनीहरूबीचको यो आन्तरिक विवादले समस्या हुन सक्ने कांग्रेस नेताहरू बताउँछन् । यद्यपि, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले भने अहिले समस्या नरहेको बताए । उनले पाण्डे पनि कांग्रेस उम्मेदवार बुढाथोकीको पक्षमा भोट माग्न हिँडिरहेको बताए । 

‘केशवजीको कुरा निर्वाचनपछि हुन्छ । अहिले हामी कांग्रेसका उम्मेदवार जिताउन लागेका छौँ,’ उनले भने, ‘मुख्य कुरा प्रतिगमलाई हराउनु हो । अहिले केशवजी पनि मत माग्न हिँडिरहनुभएको छ । अहिले त्यहाँ समस्या छैन ।’

मेयर पदका उम्मेदवार बुढाथोकीले मनोनयन दर्ताका दिन समस्या देखिएको भए पनि अहिले समस्या नरहेको बताए । ‘मनोनयनमा भएको समस्याले स्वाभाविक रूपमा सर्वसाधारणमा असर परेको छ । तर, कांग्रेसको उपल्लो तहले गरेको निर्णयलाई तल्लो तहले मान्नुपर्ने हुन्छ । मनोनयन दर्ताको दिन केही समस्या भए पनि अहिले छैन । अर्को उम्मेदवारी दर्ता नगर्नु नै यसको प्रमाण हो,’ उनले भने, ‘अहिले उहाँ भोट माग्न पनि हिँडिरहनुभएको छ । सार्वजनिक रूपमै मिलेर जाने भन्नुभएको छ । हामी एउटै मञ्चमा छौँ ।’ उनले आफ्नो जितको पहिलो आधार गठबन्धन रहेको बताए । यस्तै, विगतमा कांग्रेसले गरेका काम पनि जितको आधार भएको उनको भनाइ छ । 

एमालेबाट मेचीनगर प्रमुखको उम्मेदवार बनेका गोपालचन्द्र बुढाथोकीले राजनीतिक एजेन्डाले गठबन्धनभन्दा अघि रहेको बताए । ‘हामीले केन्द्र, प्रदेश सरकारमा बसेर विगतमा गरेका काम र राजनीतिक एजेन्डाले हामी गठबन्धनभन्दा अघि छौँ,’ उनले भने, ‘विगतमा पनि यही भूमिमा बसेर काम गरेका मान्छे हौँ । भोलिका दिनमा पनि यहीँ बसेर गर्छौं । जित्ने आधारहरू प्रशस्त छन् ।’