१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसका मतदातामाथि ओलीको नजर

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ओलीले भने– कांग्रेसले जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२४:oo

आसन्न स्थानीय निर्वाचनमा एमालेले कांग्रेसका र नयाँ मतदातामाथि नजर लगाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसको नेतृत्वको आलोचना गर्दै उसका कार्यकर्तासँग मत मागेका हुन् । कांग्रेस देशलाई गरिबी विपन्नता, अभाव लघुताभाष र अनिश्चयको दुष्चक्रमा राखेर जनतामाथि शासन गर्न चाहेको ओलीको आरोप छ । ‘कांग्रेस जनादेशमा विश्वास गर्दैन । सकेसम्म मुद्दा मामिला, छलकपट, षड्यन्त्र र मिलावटबाटै सत्ताभोग गर्न चाहन्छ । आफूलाई लोकतान्त्रिक शक्ति भन्दै लोकतन्त्रको चरम उपहास गर्दा पनि उसलाई लज्जाबोध हुँदैन, ऊ जनतामाथि विश्वास गर्दैन’, ओलीले भने ।

 नेतृत्वले कांग्रेस सिध्याउन लागेको भन्दै ओलीले कांग्रेस कार्यकर्ताले एमालेलाई भोट दिनुपर्ने बताए । ‘कांग्रेसलाई मतदान गर्ने धारणा बनाउनुभएका मतदाताहरूलाई समेत म आग्रह गर्न चाहन्छु, यसपटक नेपालको विकासका लागि, तपाईंहरूको जीवनमा सुख–समृद्धि ल्याउनका लागि र तपाईंहरूका सन्ततिको स्वर्णिम भविष्य सुनिश्चित गर्नका लागि आउनुहोस्’, ओलीले भने ।

 ओलीले नयाँ मतदातालाई पनि अपिल गरेका हुन् । ‘हामी तपाईंहरूको जीवनस्तरलाई विकसित देशका नागरिकको भन्दा कम हुन दिनेछैनौँ । तपाईंहरूको क्षमता विकास गरी तपाईंहरूलाई अद्वितीय उपलब्धि हासिल गर्न सक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान् नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ’, ओलीले भने । अपिलका केही बुँदामा ओलीले कांग्रेसको आलोचना गरेका छन् । ‘कांग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन, यस्तो सोच्नु पनि अपराध ठान्दछ । उसले राणाशाहीसँग सहकार्य गरेको इतिहास छ । कांग्रेसले निरंकुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको सार्वजनिक घोषणा गरेको सर्वविदितै छ । कांग्रेसकै नीति र अकर्मण्यताका कारण सशस्त्र द्वन्द्वका लागि मार्गप्रशस्त भएको यथार्थ हो’, ओलीले भने, ‘कांग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन ।’

ओलीले आसन्न स्थानीय निर्वाचपछि पाँचदलीय सत्तारुढ गठबन्धनको भविष्य संकटमा पर्ने दाबी गरेका छन् । तर, यसका लागि उनले ज्योतिषीहरूको सूचनालाई आधार बनाएका छन् । आइतबार पत्रकार सम्मेलनमा ओलीले ३० वैशाखको स्थानीय निर्वाचन गठबन्धनका लागि ठूलो खड्गोका रूपमा प्रकट हुने ज्योतिषीहरूले 
बताएको सुनाए ।

‘एउटा ग्रहदशा हेर्ने, अर्को राजनीतिक दशा हेर्ने ज्योतिषी हुन्छन् । अहिले दुवै प्रकारका ज्योतिषीहरूले गठबन्धन महासंकटमा पर्दै छ भन्छन् । होइन भने प्रधानमन्त्रीजीले ठ्याक्कै मिलाउने आफ्नै ज्योतिषलाई बोलाएर सोध्दा हुन्छ’ पत्रकार सम्मेलनमा ओलीले भने, ‘गठबन्धन रहन्छ रहँदैन भन्ने मेरो कुरा छैन । तर, ज्योतिषीहरूको भनाइअनुसार उहाँहरूको सबभन्दा ठूलो खड्गो वैशाख ३० नै हो । कस्तो दिन छानेर उहाँहरूले राख्नुभएछ ।’ 

आइतबार भरतपुरमा आयोजित चुनावी सभामा ओलीले चितवनका कांग्रेस नेता कार्यकर्ताले पिर बिसाउने ठाउँ नपाएको भन्दै सहानुभूति व्यक्त गरेका छन् । भरतपुरमा आइतबार आयोजित चुनावी सभामा उनले कांग्रेस नेताहरूप्रति आक्रोश व्यक्त गर्दै स्थानीय कार्यकर्ताप्रति भने सहानुभूति व्यक्त गरे । ‘तपाईले सुन्नु भयो होला नि चितवनका जनताले मेरो छोरीलाई खुरुक्क भोट हालेर जिताएनन् भने दुर्घटना हुन्छ भनेछन्,’ ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति इंगित गर्दै उनले भने, ‘जनतालाई धम्काउने ? धम्काई आएकाहरू, धम्काएर खाएकाहरूको अहिलेसम्म बानी गएको रहेनछ । अब जमाना बलदियो, धम्क्याएर काम चल्दैन । जनताले बुझिसकेका छन् । धम्कीको केही अर्थ छैन । रेनु दाहाल मेयरमा पराजित भएमा कुनै राजनीतिक दुर्घटना हुँदैन । रुखवालाले राजीखुसी हँसिया हथौडामा भोट हाल्देनन् भने दुर्घटना हुन्छ ।’

ad
ad