१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १५:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कार्यकर्तालाई देउवाको आग्रह– गठबन्धन गर्नुअघि अवस्था कस्तो थियो, स्मरण गर्नुहोस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:४१:oo

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गठबन्धन गर्नुअघि आफूहरूको अवस्था कस्तो थियो भनेर स्मरण गर्न आग्रह गरेका छन्। 

पोखरामा पाँचदलीय गठबन्धनले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। कांग्रेसको नेतृत्वमा केन्द्रीय सरकार बनेको, आफू प्रधानमन्त्री बनेको र प्रदेशहरूमा पनि कांग्रेसका मुख्यमन्त्री, मन्त्री बन्न गठबन्धनकै कारण सम्भव भएको तथ्य नबिर्सन उनले नेता–कार्यकर्तालाई आग्रह गरे।
 
गठबन्धन कांग्रेसका लागि बढी आवश्यक रहेको उनले बताए। उनले गठबन्धनलाई जोगाउन र यसको सफलताका लागि कांग्रेस र यसका नेता–कार्यकर्ताले बढ्ता योगदान दिनुपर्ने धारणा राखे। गठबन्धनलाई शंका गरेर दायाँबायाँ गरे कारबाहीमा पर्नेतर्फ उनले कांग्रेसका कार्यकर्तालाई सचेत गराएका छन्।

अहिले कांग्रेसको नेतृत्वको सरकार रहेको र सबै पार्टीलाई मिलाउने काम गरेको भन्दै गठबन्धनलाई शंका–आशंका नगर्न उनले नेता–कार्यकर्तालाई आग्रह गरे। प्रचण्ड नेतृत्वको माआवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले उदार भएर कांग्रेसलाई सहयोग गरेको उनले टिप्पणी गरे। 

‘प्रचण्ड र माधव नेपालजीको पार्टीले हामीलाई उदार भएर सहयोग गरेको छ । हामीले धेरै लिएका छौँ। उहाँहरूले महानगरमा एउटा एउटा नेतृत्व लिनुभएको छ। यसलाई तपाईंहरूले ध्यान दिनुपर्छ,’ उनले भने, ‘यसमा शंका–उपशंका गर्ने काम गर्नुभयो र यताउता गर्नुभयो भने तपाईंमाथि कारबाही हुन्छ।’

संसद् विघटन गरेर देशलाई खाडलमा पार्न खोज्ने एमाले अध्यक्ष ओलीको प्रवृत्तिको विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने, संघीयता र गणतन्त्रको रक्षाका लागि गठबन्धनलाई जोगाउनुपर्ने उनले धारणा राखे। 

‘प्रजातन्त्रको, संविधानको र लोकतन्त्रको खिलाफ गएर ओलीले संसद् विघटन गरे। लोकतन्त्रको रक्षाका लागि, संविधानको रक्षाका लागि यो गठबन्धन बनेको हो। यसलाई जोगाउनुपर्छ। गठबन्धनबाट मेयरको उम्मेदवार बनेका धनराज आचार्य र उपमेयरका उम्मेदवार कोपिला रानाभाटसहित गठबन्धनबाट जहाँ–जहाँ उम्मेदवार बन्नुभएको छ। उहाँहरूलाई जिताउन अग्रसर बन्नुपर्छ। यसमा अझ बढी कांग्रेस र यसका नेता–कार्यकर्ता लाग्नुपर्छ,’ उनले भने। 

ad
ad