Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख २० मंगलबार १८:३६:००
Read Time : > 2 मिनेट
निर्वाचन डिजिटल संस्करण

भक्तपुर नगरपालिका : अरू दललाई नेमकिपा एक्लो चुनौती

Read Time : > 2 मिनेट
२०७९ बैशाख २० मंगलबार १८:३६:००

२०७४ को स्थानीय चुनावमा झन्डै २० हजार मतान्तरले भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनील प्रजापति मेयरमा विजयी भएका थिए। यसपटक पनि मेयरको उम्मेदवारमा प्रजापति र उपमेयरमा रजनी शाक्य दोहोरिएरका छन्। 

नेमकिपाको गढ मानिने भक्तपुर मेयरमा सानाठूला दल र स्वतन्त्र गरी १४ जना मेयरका प्रत्यासी छन्। उपमेयरतर्फ ९ जना उम्मेदवार छन्। उम्मेदवार संख्या धेरै रहेकोले पनि यसपटकको चुनाव थप रोचक बन्ने अनुमान गरिएको छ।

लामो समयदेखि भक्तपुर नगरपालिकाको नेतृत्व लिँदै आएको नेककिपाले यसपटक पनि आफूलाई बलियो साबित गर्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एमाले) लगायत अन्य आठ दल र पाँच स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छ। भक्तपुरमा पाँचदलीय गठबन्धन भने कामय हुन सकेको छैन। माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले आफ्ना छुट्टै उम्मेदवार उठएका छन्। तर कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने चुनावी तालमेल गरेका छन्। जसअनुसार मेयरमा कांग्रेसका रामप्रसाद कासुला र उपमेयरमा एकीकृत समाजवादीका ओमचरण अमात्य उम्मेदवार छन्।   नेकपा (माओवादी केन्द्र) बाट तुल्सीभक्त सुवाल र जनता समाजवादी पार्टीबाट रमजाराम ढुकुछु मेयरका उम्मेदवार छन्।  नेकपा एमालेबाट मेयरमा रवीन्द्र लाछिमस्यु र उपमेयरमा अन्जना खर्बुजा उम्मेदवार छन्। 

एक लाख ८४ हजार ३७१ जना मतदाता संख्या रहेको भक्तपुरमा दलहरू आ–आफ्नै तवरले मतदाता रिझाउन लागिपरेका छन्। पार्टीको प्रतिष्ठा जोगाउन र नेमकिपाको गढ तोड्नको लागि सत्तारुढ गठबन्धनसहितका अन्य दलहरू चुनावी दौडमा छन्। 

तर लामो समयदेखि एकछत्र जित्दै आएको नेमकिपालाई हराउन अन्य पार्टीको सानोतिनो कसरत पुग्दैन। भक्तपुरको मुख्य सहरी क्षेत्रमा मात्रै नेमकिपाका २० हजार भोट छन्। यसबाहेक नगरपालिकाभित्र अन्य पार्टीको बलियो सम्भावना देखिँदैन। यसअघि नेमकिपासँग भिडेको कांग्रेसका रामप्रसाद कासुलाले ६ हजार चानचुन मत ल्याएका थिए। त्यसलाई हेर्दा पनि भक्तपुरमा नेमकिपाको गढ तोड्न अन्य पार्टीलाई सहज छैन। 


२०७४ मा १९ हजार ३६ मतान्तर 
२०७४ मा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापतिले २५ हजार ५६८ मत प्राप्त गरेको थिए। उनका प्रतिस्पर्धी मानिएका कांग्रेसका कासुलाले ६ हजार ५३२ मत ल्याएका थिए। त्यतिबेला नेमकिपाले १९ हजार ३६ मतान्तरले कांग्रेसलाई हराएको थियो। 

कुन पार्टीबाट को–को उम्मेदवार ? 
मेयरतर्फ 
अनिल लवजू– स्वतन्त्र
कृष्ण राज प्रजापति– मौलिक जरोकिलो पार्टी 
गोपालदास बनेपाली– नेपाः राष्ट्रिय पार्टी 
तुल्सीभक्त सुवाल– नेकपा (माओवादी केन्द्र)
नीलनारायण कोजू– स्वतन्त्र
बलराम प्रजापति– स्वतन्त्र
रवीन्द्र लाछिमस्यू– नेकपा एमाले
रमजाराम ढुकुछू– जनता समाजवादी पार्टी 
रामप्रसाद कासुला– नेपाली कांग्रेस 
रामभक्त किजू– राष्ट्रिय जनमोर्चा
रामसुन्दर धुसू– स्वतन्त्र 
बद्री लाखाजू– राष्ट्रिय प्रजातन्त्र पार्टी 
सत्यराम त्वायना– स्वतन्त्र 
सुनील प्रजापति– नेमकिपा 
उपमेयरतर्फ 
अमिता बाहजु (गोसाईं)– राष्ट्रिय जनमोर्चा 
इन्द्रमाया सुवाल– नेकपा (माओवादी केन्द्र)
ओमचरण अमात्य– नेकपा एकीकृत समाजवादी 
कमला दुवाल –जनता समाजवादी पार्टी
मीरा दुगुजू– स्वतन्त्र
रजनी जोशी– नेमकिपा 
रञ्जना खर्बुजा– नेकपा एमाले 
लक्ष्मी छुस्याबाग– राष्ट्रि प्रजातन्त्र पार्टी 
सुस्ना कोजु– मौलिक जरोकिलो पार्टी
नेमकिपाले एकछत्र जित्दै आएको भक्तपुर नगरपालिका कहिल्यै विवादमा आएन। नगरपालिका विवादमा नआउनुको कारण जिम्मेवार जनप्रतिनिधि नै हुन्। इतिहासविद्/संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले एउटै पार्टीले लामो समयदेखि जित्दै आउनुको कारण चुनावी वचनबद्धता पूरा गर्नु नै रहेको बताए। 

उनका अनुसार भक्तपुर नगरपालिमा २०५४ सालदेखि नेमकिपाले जित्दै आएको छ। अन्य पार्टीले मुख्य सहरमा न्यून मत ल्याउने गरेका छन्। ‘नेमकिपाले किसानमाथि राजनीति गर्दैन, यहाँका स्थानीय तहका जनप्रतिनिधिले आफूलाई समाजसेवी झै ठान्छन्,’ उनले भने, ‘एउटै पार्टीले राम्रो गर्दै आएकोले मतदाताले पनि मन फेर्दैनन्।’ 

उनका अनुसार नगरपालिकाले सम्पदा संरक्षण, किसान, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएका छ।  स्थानीयको भावना, विचार र पिरमर्कालाई बुझेका कारण एउटै पार्टी टिकिरहेको श्रेष्ठको बुझाइ छ। 

शिक्षा र स्वास्थ्यमा ‘नो कम्प्रमाइज’
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले २०७४ सालको चुनावमा शिक्षा र स्वास्थ्यलाई नै प्राथमिकतामा राखेका थिए। हालका उम्मेदवारले पनि ती दुई विषयलाई नै मुख्य अजेन्डा बनाएका छन्। शिक्षा र स्वास्थ्य नि:शुल्क र गुणस्तरीय बनाउने ‘होड’ भक्तपुरका नगरपालिकाबीच चले पनि पहिलो नम्बरमा भक्तपुर नगरपालिका नै छ। नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विस्तारै नि:शुल्क बनाउने ‘मोडल’ अनुसार काम गरिरहेको देखिन्छ। 

हाल नगरपालिकाले शिक्षामा वार्षिक तीन करोडको छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।  यसमा ख्वप इन्जिनियरिङ, ख्वप बहुप्राविधिक संस्था, शारदा र वागीश्वरी  उमावि, ख्वप माविलगायत स्कुल/क्याम्पसबाट छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। 

यी स्कुल कलेजमा करिब ७ हजार विद्यार्थीले पढ्छन्। ‘हामीले शिक्षा र स्वास्थ्यलाई नै प्राथमिकतामा राखेका छौँ,’ मेयरका उम्मेदवार सुनील प्रजापतिले भने, ‘पहिले पनि यीनै विषयलाई प्राथमिकतामा राखेका थियौँ।’ उनले समाजलाई समुन्नत तथा समान बनाउन शिक्षा र स्वास्थ्यलाई नै जोड दिनुपर्ने बताए। 

नगरपालिकाले ख्वप विश्वविद्यालय र मेडिकल कलेज सञ्चालन गर्ने तयारी पनि गरेको छ। यसको लागि सरकारसँग अनुमति मागिरहेको छ। चिस्यान केन्द्र र अरनीको सभा भवन निर्माण गर्ने योजना पनि नगरपालिकाले यसपटकदेखि अघि बढाएको छ । 

त्यस्तै, नगरपालिकाले प्राथमिकतामा राखेको क्षेत्र हो स्वास्थ्य। हाल नगरपालिकाले च्यामासिंहमा ख्वप अस्पताल सञ्चालन गरिरहेको छ। यस अस्पतालमा दैनिक सात सय सेवाग्राही आउँछन्। यस अस्पतालमा कुनै पनि रोगको विशेषज्ञ डाक्टरलाई जाँच गराएको ८० रुपैयाँमा लाग्छ। एमबिबिएस डाक्टरलाई भेटेको ६० रुपैयाँ र अन्य नर्सिङ सेवा नि:शुल्क पाइन्छ। 

यसबाहेक नगरपालिकाले एमबिबिएस डाक्टरसहितको घरदैलोमा नि:शुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ। त्यस्तै, दीर्घरोगीलाई सय रुपैयाँमा उपचार गर्ने व्यवस्था गरिएको छ।