
भारतीय सीमा सुरक्षा बल (एसएसबी)का एक जवानले सोमबार दिउँसो विराटनगर–जोगबनी नाकामा हवाई फायर गरेर आतंक सिर्जना गरेका छन् । मोरङको विराटनगर महानगरपालिका–१८ स्थित इस्लामपुर नाकामा भारतीय सुरक्षाकर्मी अमनकुमारले सोमबार दिउँसो २ बजे अचानक हवाई फायर गरेर सीमा क्षेत्रमा आतंक सिर्जना गरेका हुन् ।
स्थानीयले दिएको जानकारीअनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउन्ड हवाई फायर गरेका थिए । उनले मापसे गरेर पारिवारिक समस्याले आवेशमा आएर हवाई फायर गरेको एसएसबीले नेपाली प्रशासनलाई जानकारी दिएको मोरङ प्रशासनले जनाएको छ । स्थानीयका अनुसार ड्युटीमा खटिएका एसएसबीले मदिरा सेवन गरेका थिए ।
होहल्ला गरेपछि स्थानीयले उनलाई घेराउ गरेका थिए । स्थानीयको भीड बढेपछि आफ्नो सुरक्षाका लागि भन्दै हवाई फायर गर्दै उनी फरार भएका थिए । मंगलबार पर्ने इद पर्वको पूर्वसन्ध्यामा अचानक भारतीय सुरक्षाकर्मीले गोली चलाएपछि इस्लामपुरवासी त्रसित बनेका छन् । घटनाबारे गहन सोधपुछ भइरहेको मोरङका एसपी शान्तिराम कोइरालाले बताए ।