मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख १८ आइतबार ०८:०४:००
Read Time : > 2 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

पोखरामा एमालेले सार्वजनिक गर्‍यो प्रतिबद्धतापत्र : मोनो र मेट्रोसँगै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन

Read Time : > 2 मिनेट
२०७९ बैशाख १८ आइतबार ०८:०४:००

एमालेले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पोखरा महानगरपालिकाका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । एमाले पोखरा महानगरपालिका निर्वाचन परिचालन कमिटीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा मोनो तथा मेट्रोरेल, पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन, फ्लाइओभर, टनेल, ओभरहेड ब्रिजलगायतका विषय समेटिएका छन् । ०७४ को निर्वाचनमा समेत एमालेले घोषणापत्रमा रेलदेखि फ्लाइओभर, टनेल, ओभरहेड ब्रिजका सपना बाँडेको थियो । तर, पाँचवर्षे कार्यकालमा कुनै पनि घोषणा पूरा भएन । 

मेयर र वडाध्यक्षले गरे निर्वाचन आचारसंहिता उल्लंघन
निर्वाचन आयोगले २५ चैतदेखि आचारसंहिता लागू गरेको थियो । आचारसंहिताअनुसार बहालवाला स्थानीय तहका कुनै पनि प्रतिनिधि पार्टीको सभा समारोहमा सहभागी हुन निषेध गरेको छ । तर, एमालेले शनिबार पोखरामा आयोजना गरेको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसँगै वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्य सहभागी भएका थिए । जिसीले एमाले उम्मेदवारलाई जिताउन भाषण गरे । कार्यक्रमको सञ्चालन वडाध्यक्ष आचार्यले गरेका थिए ।

पूर्वाधार तथा यातायात
- आगामी तीन वर्षभित्र जनतालाई पायक पर्ने स्थानमा महानगरको प्रधान कार्यालय स्थापनासँगै अत्याधुनिक सेवासहित एउटै छानामुनिबाट नागरिलाई सेवा प्रदान गर्ने
- पोखरा विकास प्राधिकरण गठन गर्ने
- सडक, खानेपानी, बिजुली, दूरसञ्चार, फोहोर व्यवस्थापन, ढल निकास आदिको एकीकृत सेवा र सुविधा, आवश्यकताअनुसार बस बिसौनी, प्रतीक्षालय, सवारी पार्किङ, जेब्रा क्रसिङ, पैदल मार्ग, साइकल लेन, फ्लाइओभर, टनेल, ओभरहेड ब्रिजसहित वैज्ञानिक ढंगले ट्राफिक व्यवस्थापन, टेलिफोन तार हटाई अप्टिकल फाइबर जडान गर्ने र बिजुलीका तारहरू अन्डरग्राउन्डेड गर्ने
- सबै वडालाई एकआपसमा स्तरीय सडक सञ्जालबाट जोड्ने 
- केरुङ, काठमाडौं हुँदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला– भैँसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्न प्रादेशिक सरकार एवं संघीय सरकारसँग सहकार्य गर्ने
- पोखरा महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि मोनोरेल तथा मेट्रोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गर्ने
- फ्लाइओभर, टनेल, आकासेपुल निर्माण, पोखरा उपत्यकावरिपरिबाट सुरौंदी करिडोर हुँदै प्युरी दोभान, पौवैगौडादेखि सुरुङमार्गबाट छोरेपाटन, पामे र हेम्जा निकाली मध्यपहाडी लोकमार्गसँग जोडेर मादी करिडोरबाट देउराली हुँदै कोत्रे निस्कने गरी चक्रपथको निर्माण, साना जलविद्युत् आयोजना सञ्चालन गर्न प्रेरित गर्ने

आर्थिक विकासका क्षेत्र
- नियमित कर तिर्ने करदातालाई सुविधा र सम्मान गर्ने, करको दायरा बढाउँदै सीमान्तकृत र सुविधावञ्चित समूहको सेवा सुविधामा लगानी गर्ने
- घरजग्गा पास, नक्सा पास, कर–राजस्व भुक्तानी र कुनै पनि सिफारिस लिने प्रयोजन एकद्वार प्रणालीबाट सञ्चालन, सवारी पार्किङलाई व्यवस्थित गर्दै निःशुल्क पार्किङ गर्ने
- महानगरका प्रमुख बस्तीहरूमा सुपथ सहकारी पसल सञ्चालनको पहल, ज्ञान र सीपमा आधारित स्थानीय कुटिर उद्योग, लघु उद्यम, साना सेवामूलक वा व्यवसाय सञ्चालन गर्न

सरल र विनाधितो ऋणको व्यवस्था गर्ने
- एकीकृत व्यापारिक केन्द्र तोकी मिनी मार्केट व्यवस्थापनमार्फत व्यापार व्यवसायको प्रवद्र्धन गर्न पूर्वाधारका सुविधासहित पसलहरूलाई व्यवस्थित गर्ने, दैनिक एवं साप्ताहिक हाटबजारको व्यवस्था गर्ने ।

कृषि तथा पशुपालन 
- कृषियोग्य जमिनलाई प्लटिङ र खण्डीकरण गर्ने अभियानलाई निरुत्साहित गर्ने
- उच्च मूल्य पर्ने र निर्यात सम्भावना भएका बालीहरू अलैँची, कफी, जापानिज कटुस र अन्नबालीमा जेठो बुढो, पहेँले, झिनुवा धान, उवा, कागुनो आदिको उत्पादनलाई प्रोत्साहन गर्ने
- खेतीयोग्य जमिनलाई चक्लाबन्दी र बाँझो जमिनमा आवश्यक सिँचाइको व्यवस्था गरी कृषि उत्पादनको पकेट क्षेत्र घोषणा, भूमि बैंक स्थापना, कृषि तथा पशुपालनमा आवश्यक ज्ञान, सीप, अनुदान वा सहुलियतपूर्ण ऋण, कृषि बिमा अनिवार्य, माछा, अन्डा र मासु उत्पादनमा पोखरालाई आत्मनिर्भर बनाउने

शिक्षा र स्वास्थ्य
- पाँच वर्षभित्र पोखरालाई देशकै उत्कृष्ट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सूचना प्रविधि र वातवरणमैत्री महानगरपालिकामा रूपान्तरण गर्ने
- आवश्यकताअनुसार नयाँ सामुदायिक विद्यालय खोल्ने, मर्ज गर्ने र कक्षा वृद्धि एवं स्तरोन्ति गर्ने
- अनिवार्य आधारभूत शिक्षाको व्यवस्थासँगै शतप्रतिशत साक्षर महानगर बनाइने
- महानगरभित्र रहेका चिकित्साशास्त्र, इन्जिनियरिङ, जीवविज्ञान, कृषि, वनविज्ञान तथा वातावरण, पर्यटन व्यवस्थापन आदि प्राविधिक एवं व्यावहारिक शिक्षा प्रदान गर्ने अध्ययन संस्थान एवं संकायहरूको स्तरोन्नति गरी राष्ट्रिय अनुसन्धान केन्द्रका रूपमा विकासका लागि पहल, पोखरा महानगर अनुसन्धान केन्द्र स्थापना, सामुदायिक विद्यालयहरूमा व्यावसायिक र प्राविधिक शिक्षामा जोड, श्रमिकहरूको योगदानमा आधारित सुरक्षा कार्यक्रम लागू गर्ने 

प्रचण्ड र नेपाल कांग्रेस प्रवेश गरे हुन्छ : पोखरेल

एमाले उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई हिम्मत भए कांग्रेसमा प्रवेश गर्न, नभए राजनीतिबाट सन्न्यास लिन चुनौती दिएका छन् । अब उनीहरूसँग अन्य विकल्प नरहेको उनले बताए । गठबन्धनमा तालमेल गर्दा दुई पार्टीले १५ प्रतिशत सिटसमेत नपाएको भन्दै उनले प्रचण्ड र नेपाललाई कांग्रेस प्रवेश गर्न सल्लाह दिएका हुन् ।