१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवराज मैनाली काठमाडाैं
२०७९ बैशाख १६ शुक्रबार ०५:५४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विमानको शौचालयमा लुकाएर दुबईबाट सुन तस्करी 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७९ बैशाख १६ शुक्रबार ०५:५४:००

दुई करोडको सुनसहित विमानस्थलका तीन कर्मचारी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै मिलेमतोमा विमानको शौचालयमा लुकाएर दुबईबाट सुन तस्करी भएको छ । बिहीबार करिब दुई करोड मूल्यबराबरको दुई किलो तीन सय ५० ग्राम तस्करीको सुनसहित विमानस्थलका तीन कर्मचारी पक्राउ परेका हुन् । 

दुबईबाट आएको हिमालय एयलाइन्सको शौचालयमा लुकाइएको सुन पास गराउने क्रममा तीन सफाइ कर्मचारी पक्राउ परेका छन् । विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारीद्वय सुमन तामाङ र भीम अवालेलाई प्रहरीले तस्करीको सुनसहित पक्राउ गरेको छ । उनीहरूका सुपरभाइजर ताराकान्त चौधरीलाई पनि मिलेमतोको आशंकामा पक्राउ गरेको छ । उनीहरूले यसअघिदेखि नै संगठित रूपमा सुन तस्करी गर्दै आएको प्रहरीको आशंका छ । 

तस्करीको सुन उनीहरूले पर्समा लुकाएर विमानस्थलबाट पास गर्ने प्रयास गरेका थिए । सुन तस्करी गर्ने केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको र क–कसको संलग्नता भन्ने खुली नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी भीम ढकालले बताए । 

दुबईबाट आएका एक यात्रुले सो सुन शौचालयमा राखेका थिए । विमानबाट अन्तिममा झरेका उनले सुन त्यसरी शौचालयमा लुकाएको र विमान सफाइ गर्ने क्रममा कर्मचारीले शौचालयबाट निकालेर आफूसँग राखेको प्रारम्भिक छानबिनमा खुलेको छ । उनीहरू विमानभित्र सफाइपछि आन्तरिक टर्मिनलको गेट हुँदै बाहिरिने क्रममा पक्राउ परेका हुन् । सूचनाका आधारमा नभई उनीहरूको पर्स ठूलो देखेपछि शंका लागेर एक्सरे मेसिनमा राख्दा सुन भएको पत्ता लागेको प्रहरी स्रोत बताउँछ ।

ती सफाइ कर्मचारीलाई नेपाल एयरलाइन्सले सुनगाभा कम्पनीसँग सम्झौता गरी विमानस्थलमा खटाउँदै आएको थियो । यस्ता निजी कम्पनीका कामदारलाई संवेदनशील क्षेत्रमा खटाउने, तर उनीहरूमाथि पर्याप्त सुरक्षा जाँच नहुँदा तस्करीमा पनि संलग्न भएको अनुमान गरिएको छ । विगतमा उनीहरूले सुन तस्करी गरे–नगरेको विषय अनुसन्धानकै क्रममा रहेको एसएसपी ढकाल बताउँछन् । 

विमानस्थलका कर्मचारीको सुन तस्करीमा संलग्नता पटक–पटक खुल्दै आएको छ । गत १२ फागुनमा अध्यागमन कार्यालयका नासु लक्ष्मण गुरागाईं सुनसहित पक्राउ परेका थिए । दुबईबाट आएका सुनसरीका कमल घिमिरेले ल्याएको सुन उनले विमानस्थलबाट पास गराइदिएका थिए । गुरागाईंले विमानस्थलको आगमनतर्फको अध्यागमन काउन्टरको छेउमा रहेको शौचालयबाट सुन लिएर बाहिर ल्याई घिमिरेलाई दिएका थिए । तर, भन्सारले गम्भीरताका साथ अनुसन्धान नगर्दा सो गिरोहका नाइकेहरू जोगिएका छन् । 

त्यसअघि प्रहरी तथा भन्सार कर्मचारीको मिलेमतोमा विमानस्थलबाट पटक–पटक सुन तस्करी भएको पुष्टि भइसकेको छ । ०७३ मा त्यसरी विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन पिंगलास्थानमा सिआइबीले बरामद गरेको थियो । जसमा भन्सार कर्मचारी तथा प्रहरी अधिकारीको संलग्नता देखिएको थियो । ०७४ मा त्यसैगरी भित्रिएको सुन हराएको घटनामा थप छानबिन हुँदा पाँच वर्षदेखि विमानस्थलमार्फत सेटिङमा सुन तस्करी हुँदै आएको खुलेको थियो । त्यसमा एयरलाइन्स कर्मचारी तथा प्रहरीसमेतलाई मुद्दा चले पनि सुन बरामद नहुँदा उनीहरूले सफाइ पाइसकेका छन् । विमानस्थलमा कर्मचारीकै मिलेमतोमा हुने सुन तस्करीका एकपछि अर्काे घटना बाहिरिनुले विमानस्थलभित्रको सुरक्षा संयन्त्रमा समेत प्रश्न उठेको छ ।