मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बन्द प्रशिक्षणमा प्रशिक्षण लिँदै राष्ट्रिय टोलीका खेलाडी । तस्बिर : एन्फा
२०७९ बैशाख १५ बिहीबार ०८:३४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षक अलमुताइरीविरुद्ध खेलाडीको विद्रोह

Read Time : > 2 मिनेट
२०७९ बैशाख १५ बिहीबार ०८:३४:००

अलमुताइरीको व्यवहार नराम्रो भएको भन्दै विरोधस्वरूप नौ खेलाडी बन्द प्रशिक्षण छाडेर हिँडे

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको काम कारबाहीप्रति सन्तुष्ट नभएका नौ जना सिनियर खेलाडीले विद्रोह गरेका छन् । बन्द प्रशिक्षणमा रहेका नौ खेलाडी प्रशिक्षकसँग असन्तुष्टि देखाउँदै मंगलबार रातिदेखि नै होटल गएका छैनन् ।

उनीहरूले बुधबारको नियमित प्रशिक्षणमा सहभागिता जनाएनन् । प्रशिक्षक अलमुताइरीको व्यवहार नराम्रो भएको भन्दै विरोधस्वरूप खेलाडीहरू प्रशिक्षणमा सहभागी नभएका हुन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसिया कप छनोटका लागि खेलाडीलाई रंगशालानजिकैको त्रिपुरेश्वरस्थित एक होटलमा राखेको छ । ‘खेलाडीहरूले बुधबारको प्रशिक्षण नै बहिष्कार गरेका छन्,’ एन्फा स्रोतले नयाँ पत्रिकालाई भन्यो, ‘यद्यपि, वार्ताको प्रयास भइरहेको छ ।’

नयाँलाई मौका दिने अलमुताइरीको तयारी
विद्रोह गरेका खेलाडीले अनुशासनहीन काम गरेको जनाउँदै प्रशिक्षक अलमुताइरीले नयाँ जुनियर खेलाडीलाई प्रशिक्षणमा समावेश गर्ने भएका छन् । जुनियर खेलाडीलाई मौका दिँदा सिनियर खेलाडी र मुख्य प्रशिक्षकबीचको विवाद अझै बढ्ने सम्भावना छ । ‘मुख्य प्रशिक्षक अलमुताइरीले १४ जना जुनियर खेलाडीलाई प्रशिक्षणमा राख्न भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘यसले विवाद सुल्झाउनेभन्दा थप बढ्नेछ, खेलाडी र प्रशिक्षकबीचको दूरी फराकिलो हुन सक्छ ।’ 

छिट्टै रिसाउने स्वभावका अलमुताइरी अब सिनियर खेलाडी क्याम्पमा फर्के पनि समावेश नगर्ने पक्षमा छन् । ‘यी सिनियर खेलाडी क्याम्पमा आए पनि म राख्दिनँ,’ अलमुताइरीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यी सिनियर खेलाडीले एसिया कप पार लगाउन सक्दैनन्, उनीहरूको स्थानमा नयाँ खेलाडीलाई मौका दिई एक्सपोज गराउँछु ।’ 

२ वैशाखमा एन्फाले एसिया कप–०२३ को प्रारम्भिक प्रशिक्षणका लागि खेलाडी बोलाएको थियो । पहिलो दिनको प्रशिक्षणलगत्तै अलमुताइरीले सहभागी खेलाडीले नेपाललाई एसिया कपमा छनोट गराउन नसक्ने विवादास्पद टिप्पणी गरेका थिए । 

उनको टिप्पणीमा खेलाडीहरू खुसी थिएनन् । नेपाली टोलीका ‘एट्याकिङ डिफेन्डर’ रोहित चन्दले प्रशिक्षकसँगै व्यवस्थापन पक्ष पनि नराम्रो भएको गुनासो गरेका थिए । चन्दले अलमुताइरीलाई प्रशिक्षण अवधिमा बस्ने र खाना व्यवस्था राम्रो नभएको जानकारी दिएका थिए । उनले यस पक्षमा सुधार गर्नुपर्ने जनाए । 

तर, खेलाडीको गुनासो सुन्नभन्दा पनि उल्टै चन्दलाई नै नराम्रो व्यवहार गरेको एन्फा स्रोतको भनाइ छ । रोहितसँगै अन्य खेलाडीले पनि आ–आफ्नो सुविधाका विषयमा आवाज उठाए । यसले खेलाडी र प्रशिक्षक अलमुताइरीबीचको दूरी बढेको हो । प्रशिक्षकसँग असन्तुष्ट देखिएका चन्दले त्यसपछि सुरुमै क्याम्पबाट बिदा लिएका थिए । प्रशिक्षकले खेलाडीहरूको जायज मागप्रति गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको भन्दै अन्य सिनियर खेलाडीले समेत होटल छाडेर हिँडेका हुन् । इन्डोनेसियामा निरन्तर लिग खेलिरहेका चन्द यसपटक एसियन कप छनोटका लागि सुरुदेखि नै क्याम्पमा छन् ।

यी हुन् क्याम्पबाट बाहिरिएका खेलाडी

बन्द प्रशिक्षण (क्लोज क्याम्प)बाट बाहिरिनेमा चन्दसहित विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी छन् । बन्द प्रशिक्षणबाट बाहिरिएका एक खेलाडीले प्रशिक्षक अलमुताइरीले खेलाडीलाई होच्याउने, नेपाललाई कमजोर र नकारात्मक तरिकाले प्रस्तुत गर्ने गरेको आरोप लगाएका छन् । 

समर्थकबीच प्रिय अलमुताइरीले पटक–पटक दिएको सार्वजनिक अभिव्यक्तिका कारण खेलाडी असन्तुष्ट रहेको स्रोतको भनाइ छ । सिनियर खेलाडीहरू असन्तुष्ट बन्दै क्याम्प छोड्दा पनि एन्फा भने मूकदर्शक बनिरहेको छ । एन्फा पदाधिकारीले पछिल्लो घटनाका सम्बन्धमा केही टिप्पणी दिएका छैनन् । 

प्रशिक्षक अलमुताइरी र खेलाडीबीचको विवाद नयाँ भने होइन । यसअघि पनि खेलाडी, एन्फा पदाधिकारी र प्रशिक्षक अलमुताइरीबीच पटक–पटक विवाद भइरहेको छ । गत बर्ष एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण प्रशिक्षकबाटै राजीनामा दिने भन्दै अलमुताइरीले सामाजिक सञ्जालमा लेखेका थिए । उनले आफू कमजोर भएको अवस्थामा राजीनामा दिने धम्की एन्फा नेतृत्वलाई दिँदै आएका छन् । 

माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिपपछि उनले नेपाल नै नफर्किने घोषणासमेत गरेका थिए । यसपछि कतार फुटबल संघको मध्यस्थतामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र अलमुताइरीबीच दोहामा वार्ता भएको थियो । कतार फुटबल संघको सहयोगमा अलमुताइरी पुनः राष्ट्रिय टोलीमा फर्किएका हुन् ।