निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
दारिया कुस
२०७९ बैशाख ९ शुक्रबार ०७:४४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सामाजिक सञ्जालको प्रभावबाट बालबालिकालाई  कसरी जोगाउने ?

देश/परदेश

Read Time : > 2 मिनेट
दारिया कुस
२०७९ बैशाख ९ शुक्रबार ०७:४४:००

 युट्युब बालबालिकामाझ सबभन्दा लोकप्रिय देखिएको छ । ८९ प्रतिशत बालबालिकाले युट्युब चलाउँछन् । ५० प्रतिशत बालबालिकाले टिकटक प्रयोग गर्ने गरेको पाइएको छ ।

बेलायतको सञ्चार नियामक अफकमको एक अनुसन्धान प्रतिवेदनले बालबालिका सामाजिक सञ्जालका अत्यन्त उत्सुक प्रयोगकर्ता भएको पुनः पुष्टि गरेको छ । गतवर्ष बेलायतमा तीनदेखि १७ वर्ष उमेर समूहका ९९ प्रतिशत बालबालिकाले इन्टरनेटको प्रयोग गरेका थिए । युट्युब बालबालिकामाझ सबभन्दा लोकप्रिय देखिएको छ । ८९ प्रतिशत बालबालिकाले युट्युब चलाउँछन् । ५० प्रतिशत बालबालिकाले टिकटक प्रयोग गर्ने गरेको पाइएको छ । प्रयोगकर्तालाई छोटो भिडियो हेर्न र सेयर गर्ने सुविधा हुने टिकटक एक लोकप्रिय साइट हो । 
अधिकांश सामाजिक सञ्जालमा प्रयोगकर्ता १३ वा सोभन्दा माथिल्लो उमेरको हुनुपर्ने व्यवस्था छ । तर, अफकमको रिपोर्टले १३ वर्षमुनिका अधिकांश बालबालिकाको कम्तीमा एउटा सामाजिक सञ्जालमा प्रोफाइल बनाएको फेला पारेको छ । पाँचदेखि सात वर्षका बालबालिकाका एकतिहाइ अभिभावकले आफ्नो बालबालिकाको सामाजिक सञ्जालमा प्रोफाइल भएको बताएका छन् । यसमा ६० प्रतिशत आठदेखि ११ वर्षका बालबालिका छन् ।

सामाजिक सञ्जालमा उमेर हदलाई छल्ने काम गाह्रो छैन । बालबालिका सामाजिक सञ्जालमा एकाउन्ट बनाउँदा नक्कली उमेर हाल्छन् । यसबाहेक केही बालबालिकाका एउटै सामाजिक सञ्जालमा थुप्रै एकाउन्ट छन्, अर्थात् एक एकाउन्ट अभिभावकका लागि छ भने अरू एकाउन्ट साथीसँग जोडिनका लागि छन् । अफकमको रिपोर्टअनुसार तीन र चार वर्षका करिब १६ प्रतिशत बालबालिकाले टिकटकमा भिडियो हेर्ने गरेको पाएको छ । यी बालबालिकाका आफ्नै एकाउन्ट छन् भन्ने होइन, अर्थात् यिनलाई अभिभावक वा अन्य कोहीले भिडियो देखाएका हुन सक्छन् । जे भए पनि यी बालबालिका सानै उमेरमा सामाजिक सञ्जालबाट अछुतो छैनन् । यी निष्कर्षलाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोगले विभिन्न उमेर समूहका बालबालिकालाई कसरी प्रभाव पार्न सक्छ भन्नेबारे हामीले थाहा पाउन जरुरी छ । 

सकारात्मक एवं नकारात्मक प्रभाव : सामाजिक सञ्जालमा संलग्न हुँदा मानिसहरू विशेषतः बालबालिकामा सकारात्मक एवं नकारात्मक दुवै प्रभाव पर्न सक्छ । मेरा सहकर्मी र मैले किशोर–किशोरीमाझ भावनात्मक समर्थन, समुदाय निर्माण र आत्म–अभिव्यक्तिका लागि सामाजिक सञ्जालको प्रयोग महत्वपूर्ण हुँदाहुँदै पनि यसले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ भन्ने देखाएका छौँ । नटिंघम ट्रेन्ट विश्वविद्यालयको साइबरसाइकोलजी रिसर्च ग्रुपमा हामीले नव–किशोरकिशोरी, तिनका अभिभावक र शिक्षकसँग सामाजिक सञ्जाल प्रयोगबाट हुने चुनौती र अनलाइन क्षतिबारे संवाद गरेका थियौँ । नतिजामा हामीले सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने बालबालिकामा साथीहरूबाट सम्भावित मूल्यांकनका कारण व्यवहार परिवर्तन, इन्द्रिय अंगले ग्रहण गर्नेभन्दा बढी भाव एवं व्यवहारको समस्या (सेन्सरी ओभरलोड), अटेन्सनको समस्या, तनाव एवं कुण्ठाजस्ता गम्भीर भावनात्मक एवं संज्ञानात्मक समस्या पायाैँ ।

एक नयाँ अनुसन्धानका अनुसार सामाजिक सञ्जालको प्रयोगले जीवन सन्तुष्टिमा पार्ने प्रभाव विभिन्न उमेर समूहमा भिन्न–भिन्न देखिन्छ । बेलायतमा १० देखि २१ वर्ष उमेरका १७ हजारभन्दा बढी युवा सम्मिलित एक व्यापक सर्वेक्षणमा अनुसन्धानकर्ताले सामाजिक सञ्जालको अधिक प्रयोगका हानिकारक प्रभाव विशेषतः १४–१५ र १९ वर्षका किशोर अनि ११–१३ र १९ वर्षका किशोरीमा पाइएको छ । सन् २०२१ मा फेसबुकका पूर्वकर्मचारी फ्रान्सिस हौगेनले फेसबुकको आन्तरिक अनुसन्धानले किशोरीमाझ इन्स्टाग्राम प्रयोगले हानिकारक मानसिक स्वास्थ्य प्रभाव परेको खुलासा गरेकी थिइन् । त्यसबाहेक मोबाइल फोनमा बढी समय बिताउनेहरूमा तनाव, कुण्ठा, निराशापनलगायत लक्षण देखिनेमा पनि हामी जानकार छाैँ ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको सुझाबअनुसार दुई वर्षमुनिका बालबालिकालाई मोबाइल फोन हेर्न दिनु हुँदैन, स्क्रिन टाइम शून्य हुनुपर्छ । दुईदेखि पाँच वर्षका बालबालिकालाई दिनमा बढीमा एक घन्टा मात्रै स्क्रिन टाइम छुट्याउनुपर्छ । देखाउँदा पनि बालबालिकालाई मोबाइलमा शिक्षाप्रद उच्च गुणस्तरका सामग्री देखाइनुपर्छ । बालबालिकाले सामाजिक सञ्जालमा ठ्याक्कै के हेर्छन् भन्नेमा हामी जानकार छैनौँ, तर बालबालिकाले हेर्ने सामग्री उच्च गुणस्तरका हुने सम्भावना निकै कम हुन्छ र केही सामग्री घातक पनि हुन सक्छन् ।  

अब के गर्ने ? सरकारले हालैमा अनलाइन सुरक्षा कानुन जारी गरेर बेलायतलाई अनलाइन क्षेत्रमा संसारको सबभन्दा सुरक्षित स्थान बनाउने लक्ष्य राखेको छ । हामीले सामान्य ढंगले इन्टरनेटको प्रयोगमा हुने सम्भावित हानिकारक प्रभाव र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले विशेषतः किशोर–किशोरीमा पर्न सक्ने प्रभावमाथि विचार गर्न आवश्यक छ । उमेर प्रमाणीकरणका उपायलगायत प्रयोगकर्ता सुरक्षा र सामाजिक सञ्जालका फाइदा–बेफाइदाबारे विद्यालय शिक्षाजस्ता क्षति रोकथाम पहलकदमीमा ध्यान पुर्‍याउन आवश्यक छ । शिक्षा र जनचेतना अभियानमा सामुदायिक एवं सरकारी संस्थाको संलग्नता आवश्यक छ । सँगसँगै कर्पाेरेट सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिइनुपर्छ । 

केही घन्टा अनलाइनमा समय बिताउने सबैलाई रोगीका रूपमा हेरिनु भने हुँदैन । तर, समस्याग्रस्त व्यवहारमा भने ध्यान पुर्‍याउनुपर्छ, यस्ता प्रयोगकर्तालाई सहयोग गर्नुपर्छ । यसो गर्दा नकारात्मक मानसिक स्वास्थ्य परिणामलाई रोक्न सकिन्छ । अभिभावकलाई आफ्ना बालबालिकासँग खुलेर संवाद गर्न प्रोत्साहित गर्दा त्यसले बालबालिकालाई सामाजिक सञ्जालबारे खुलेर संवाद गर्न सहज बनाउनेछ ।

(कुस नटिंघम ट्रेन्ट विश्वविद्यालयमा मनोविज्ञानकी सहप्राध्यापक छिन्) 
द कन्भर्सेसन