निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
विष्णु पादुका काठमाडौं
२०७९ बैशाख ४ आइतबार २१:३८:००
Read Time : > 9 मिनेट
साहित्य डिजिटल संस्करण

बरफका कोइला अनि फैलिएको ताप ! 

Read Time : > 9 मिनेट
विष्णु पादुका काठमाडौं
२०७९ बैशाख ४ आइतबार २१:३८:००

कविताको आँगन हिजो पनि साँघुरो थिएन । बिस्तार हुने क्रम रोकिएको  छैन । कहिलेकाहीँ कविता लेखी टोपल्ने हुनाले कविताका किताब देख्दा किनेर ल्याउने र पढ्ने गर्छु । नयाँ पुस्तामा कविताकृति प्रकाशन गर्ने लहर नै चलेको छ । हरेक हप्ता जसो कविताका पुस्तक विमोचन भएको खवर सुन्न पाइन्छ । सँगसँगै अर्को गुनासो पनि सुनिन छुटेको छैन ``कविताका पाठक छैनन् ,कविता पढिँदैन , कविताका किताब बिक्दैनन् ।´´ कथा उपन्यास झैँ एउटा लयमा कविता नहुनु नै कविताको विशेषता हो । यहाँनेर समग्र कविता माथि लेख्न खोजिएको होइन । अलिकति प्रसंगले तानेको कुरो मात्रै कोट्याएको हुँ ।  

  बि.एन पुस्तक संसार प्रा. लि बाट २०७७ सालमा प्रकाशित कवितासंग्रह `बरफका कोइलाहरू´को  शीर्षकले निकै आकर्षण गर्यो । बरफ, पानीको जमेको रूप , कोइला, बल्दो आगोको रूप । कविताका शीर्षकलाई  कृतिको  शीर्षक राख्दा नौलोपन खोज्ने चलन पुरानै होला । कवि राधिका कल्पितको यस संग्रहमा ७५ वटा कविताले फैलावट पाएको छ ।

चर्चित कवि दिनेश अधिकारीको शुभकामना  अनि काजी रोशन र हरि अधिकारीका भूमिकासहित कवि स्वयंको प्राक्कथन र टिप्पणीमा मञ्जु काँचुली तिवारी र डा. रजनी ढकाललाई जोडिएको देखिन्छ । कविता र कवि प्रतिको दृष्टिकोणलाई अन्तर-संवादमा उदय अधिकारीसँग समेत साक्षात्कार हुन पाइन्छ कृतिको अन्त्यतिर । कृतिको शारीरिक बनावट आकर्षक र टुङ्याइनी पुगेको छ । स्तरीय कागज अनि अशुद्दी रहित छपाईले पढ्नमा आनन्द दिन्छ ।  

 कविताको कुरा गर्दा समग्र कृतिको बारेमा एउटा कुरा स्पष्ट बोल्न सकिन्छ । नारी हस्ताक्षर हुनाले नारीले भोग्नु परेका दु:ख पिरमर्का अनि पुरुष सत्ताको भेदभावपूर्ण व्यवहारप्रति असन्तुष्टि देखिन्छ । संग्रहमा प्रवेश गर्दा भेटिएका राम्रा पक्ष अनि आलोचनात्मक पक्षसमेत समेट्दै यो पाठकीय टिप्पणी तयार पारिएको हो। 

  कृतिभित्र रहेको पहिलो कविता `कुन अवतार लिऊँ म´? पुरुष प्रधान समाजमा नारीले निभाउनुपर्ने विविध भूमिकाका समेट्दै पुरुष-प्रधान समाजसँग विद्रोह गरेको छ । हिन्दु धर्मका यावत् नारी पात्रहरूको दृष्टान्त  जोडेर आधुनिक समाजसँग तादाम्यता देखाउन खोज्नु यस कविताको अर्को विशेषता हो ।

 मान्छेको जिन्दगी कसरी  एउटा पासवर्डसरह भएको छ आजको समाजमा भन्ने कुरा छर्लंग पार्छ `डिजिटल युग´कविताले ।

`मेरो सहरमा एउटा यस्तो मान्छे छ´ मा एउटा यस्तो पात्र उभ्याइएको छ जसले आफैलाई धान्न अनेक हुलिया फेरेको छ । क्रान्तिकारी धारमा बगेको यो कविता भुइँ मान्छेबाट माथि उठ्न अनेक प्रपञ्च गर्छ । मन्दिरदेखि मस्जिदसम्मका कुरामा कुनै लैंगिक परिचयबिना नै उनिएको यो कविता बहुत बिम्बमय छ । 

`आइमाई´ शीर्षक आफैँमा नारी संवेदनशीलता बोकेको र आइमाईलाई अर्थपूर्ण रूपमा अर्थ्याउने कविता हो अनि स्व- अस्तित्वको र स्वतन्त्रताको सालिन आग्रह हो आइमाई । त्यसैगरी अर्को कविता `बिहानी पखको सपना´ राजनीतिक र सामाजिक विसंगतिमाथि लेखिएको छ । सपनामा देखिएका नकारात्मक कुरा कतै सत्य नहोऊन् भन्ने कविको आग्रह छ अनि देशको चिन्ता यसरी  व्यक्त गर्छिन् 

"फेरि कता हो कता देख्छु 
डान्सबारबाट लर्खराउँदै निस्केकी जानकी 
धरहरा भत्काउँदै गरेका भीमसेन 
देशलाई छिनोले हिर्काइरहेका पृथ्वीनारायण 
मिनि रडार बोकेर उडिरहेका परेवाहरू
स्वयम्भूको डाँडामा तोप तेर्स्याइएको 
संसद् भवनमा विदेशी झण्डा फहराइरहेको 
....
......
कामना गरौँ यसो नहोस् । 

छैटौँ कविता `मधुरात्रि´ अर्को'एउटा सशक्त कविता हो ।  पारम्परिक विवाह- संस्कारमा  एउटा पुरुषले सोच्ने कुरा र एउटा नारीले सोच्ने कुरामा कति धेरै अन्तर हुने रहेछ भनेर यस कविताले बुझाउँछ । पुरुष हतारमा समाहित हुने देखाइएको छ भने नारी आत्मीयतासँग एकाकार भएर भएर मात्रै शारीरिक सम्पर्कमा पुग्न खोज्ने कुरा यसरी पोखिएको छ । 

" तपाईंको बेग र मेरो छाल मिल्छ कि मिल्दैन 
``मेरो नृत्य र हजुरको ताल मिल्छ कि मिल्दैन ।"
"नलत्पतिऊन् हाम्रा साझा सपनाका चित्रहरू
``निर्णय गर बुद्ध जन्माउने कि सीता "
"यस्तो नहोस् कि
तपाईं हतियारधारी सिकारी बनी
लखेटिरहनोस् 
म घाइते मृगसरह भागिरहुँ ।" 

  मृत्यु शाश्वत सत्य हो फेरि पनि बाल मस्तिष्कमा परेको बा नहुनुको पीडालाई मार्मिक तरिकाले देखाइएको छ ``बा फ्रेमभित्र बसेपछि´´मा यसरी: 

" बा!
आमा सधैँ झुट बोल्छिन् मसँग 
बा खै आमा ? भन्दा
तारा देखाउँदै भन्छिन्
उ तेरा बा !" 

`हाउगुजी´´ अलि भिन्न कोणबाट लेखिएको शसक्त कविता हो । बालबालिकाले खेलेर गरेर सिक्न खोज्छन् हामी सैद्धान्तिक रूपमा सिकाउन खोज्छौं । जीवनोपयोगी शिक्षाको सट्टा खोक्रो आदर्श सिकाईंदै छ । अन्तरनिहित क्षमताको पहिचान गरेर मार्ग प्रसस्त गरिदिनु नै शिक्षाको उद्देश्य हुनुपर्ने जोड दिइएको छ यस कवितामा ।

समाजमा विवाहित  एकल महिलाको आन्तरिक र बाह्य समस्यालाई उजागर गरिएको कविता हो `विधवा र वर्षा´ । कामुक पुरुष आँखाहरूको विरुद्धमा सालिन प्रतिकार गरिएको छ कवितामा । एउटा अभावको बोझ एकातिर छँदैछ, अर्को तर्फ जीवनमाथी नै धावा बोलिरहने गिद्दे कथित पुरुष दृष्टिमा परिवर्तन आउनुपर्छ भन्ने माग हो यो कविताको। 
शरीरको शौदा कसैले रहरले गर्दैन । आर्थिक अभावले मान्छेले मान्छेकै स्तरबाट तल झार्छ फरक लिङ्गको बलमा एउटा मान्छे बस्तु र अर्को मान्छे उपभोक्ता  बनिदिन्छ र तल्लो स्तरको शब्द प्रयोग गरिन्छ `वेश्या !´ पुरुष र नारी बीचको शाब्दिक भिन्नताले सामाजिक तितो पोखिएको छ कविता `शरीरको सौदा´मा। 


कविता लेख्नु पनि एउटा स्वप्न कर्म हो । `उसको मन जितेको मेरो  कविता´ । एउटा कविता जसले उसको ( जो कसैको ) मन जितोस् र त्यो अन्तिम कविता नै किन नहोस् । हरेक कविको अन्तिम इच्छा नै त्यही नै हो । `उ´ को द्वै अर्थ बोध हुने गरि लेखिएको यस कवितालाई जति पटक पढ्यो त्यति गहन अर्थ बोध हुने कविता हो जसले कविताको रुचिको दार्शनिक अर्थ बोकेको छ ।
`एउटा आर्टिस्टको कन्फेसन´ जीवन-दर्शनसँग जोडिएको एक अर्को कविता हो । जीवन एउटा क्यानभास हो , समयले विविध रंगहरु पोतिबस्छ, कहिले अपेक्षित त कहिले अनपेक्षित पनि । 

मानिसको जीवन प्रेममै रमाएको हुन्छ प्राप्त भएको प्रेम होस् या गुमाएको स्मृतिमय । `कागजको डुङ्गा´ यस्तै किशोरकालिन स्मृतीमा बयली खेल्दै लेखिएको कविता हो । समयले परदेशको भूमीमा पुर्याएको प्रेमीले बारम्बार कल्पिएका शृङ्खला हो कागजको डुङ्गा । 
। 
`सपनाको रखवारी´ गर्न भए पनि नियमित हाजिर हुन मन हुन्छ प्रेमीहरूमा, कविता सपनाको रखवारी बोल्छ। 

    `को होला त्यो ?´ एउटा भाव प्रधान कविता हो । हुनु र नहुनुको स्थितिको समेत ज्ञान गुमाएर कसैप्रति गरिने चोखो प्रेमको एउटा उदाहरण हो । यादमै बाँचिरहेका धेरैको आफ्नो कथा जस्तो लाग्छ यो छोटो मीठो कविता ।
` हिउँको पहरेदार´ कविता प्राकृतिक सुन्दरताभित्र छिरेर त्यसको गति र लयमा मानवीय जीवनचक्र जोडिएको कथा भेटिन्छ । समयका गौँडाहरूमा घटित घटनालाई जोडेर प्रकृतिको लेपन लगाइएको छ । कुन्ती, कर्ण र कर्णालीको जोडले यस्तै संकेत गर्दछ । हिउँ र चुलीको सम्बन्ध  स्त्री र पुरुष जस्तो एक अर्कोसँग जोडिएको देखिन्छ । कवि मनको भावनाले प्राकृतिक चिसोलाई पनि कविताको न्यानोले सेकेको छ । 
जतिपटक पढ्यो उति धेरै अर्थबोधमा विविधता आउने कल्पितका कवितामा आँसु पुछ्न नसकेका हत्केला पनि आरोपित हुन्छन् प्रेमीबीच । 

  उसो त नेपाली कवि साहित्यकारमा एउटा कित्ताको रूपमा हेरिन्छ प्रगतिशीलता तर समाजलाई फरक तरिकाले बुझेर सामाजिक हितका लागि विचार सम्प्रेषण गर्नु आफैमा जो कोही प्रगतिशील हो । कवि कल्पितका कवितालाई त्यो कित्ताकाट गरेर एक समुहको बनाइदिनु अन्याय ठहर्छ । नेपाली नारीका विषयवस्तुमाथि विविध कोणबाट लेखिएका उहाँका  कविताले यसो गर्न दिँदैनन् । `श्रृंगारको कारागार´यसै सेरोफेरोको सशक्त कविता हो । सौन्दर्यलाई सुन-चाँदीसँग जोडेर निहित क्रियाशीलता सकाउने अन्तरनिहित पुरुष प्रवृत्तिको बिद्रोह  पनि हो । नारी आफैँमा चेतनशील हुन आग्रह पनि । मनको सुन्दरता , आत्मबल अनि साहसलाई कोमलता, सुन्दरता जस्ता दासत्वबोध हुने कुरा जोडेर सजिन नहुने आग्रह छ । नारी मुक्तिको बाधक नारीले नै प्रयोग गर्ने सौन्दर्य साधन हुन् भन्ने निष्कर्ष हो । 

 ``म´´ तत्व जो कोहीभित्र पनि हुन्छ ।जसले म बुझ्यो उसले आफूलाई अन्यसँग तुलना गर्दैन आफूलाई जस्तो कि, 

" तपाईं सोध्नुहोला -
तँसँग के छ ?
गर्वसँग भन्छु
मसँग मेरो सिंगो म छ ।" 

आशाको सञ्चार गराउने एउटा अदम्य साहसी कविता हो `मृत्युले दिएको बक्सिस´ । 

मन सबैभन्दा चन्चल वस्तु हो ।अथवा वस्तु नै होइन मन । नदेखिएर पनि अनुभूत हुन सक्ने भावको भण्डार पो हो मन ।यहि मनको भावलाई पाइलैपिच्छे सकारात्मक दिशातिर लाग्न दिशानिर्देश हो `मनको मेटामोर्फोसिस´ । तर कविताको अन्तिम हरफ ....अनिश्चितताका चिसा गुफाहरूले , अन्त्य नमिलेको आभास दिन्छ । 
बाल्यकालको मीठो स्मृति हो `झरी´ कविता । 

पानीजस्तै मान्छे पनि गतिशील छ र अस्तित्वको खोजीमा भौँतारिइरहेको छ, एउटा विचारप्रधान कविता `अस्तित्वको मोहमा´ । 

 " तिम्रो कविता लेख्न सक्दिनँ " भन्दाभन्दै लेखिएको आलंकारिक कविता हो यो । जो कोही पाठकले जतिपल्ट पढ्यो उति भिन्न अनुभूत गर्न सक्छ । प्रेमका विविध आयामको सकारात्मक कामना अनि संकथन हो तिमीलाई भेटेपछि । प्राकृतिक विपत्तिले सबैभन्दा बढी अभावमा बाँचेका भुइँमान्छेलाई पीडा दिन्छ ।आफन्त गुमाउनुको पीडाको अन्तर्य बीच अभावको उल्लेख यसरी हुन्छ , 

" दाहसंस्कार गरौँ दाम भएन 
चिहान खन्नलाई आफ्नो ठाम भएन 
उपाय नलागेर
अँगेनोमा खाल्डो खनेर गाडेको दिनदेखि
अँगेनामा आगो बाल्न मन लाग्दैन ।
.......... 

के मर्नलाई पनि औकात चाहिन्छ ?" 

पृष्ठ ७९ `दैव´ कविता  

`अन्तिम भेट´ बिछोड पूर्वको कारुणिक कविता हो । 
`नौलो वाद´ सहकार्यको वर्णनात्मक प्रस्तुति हो।
यसरी, 

हो कुरा गरौँ 
सरावरीका 
कुरा गरौँ
बराबरीका । 
`इतिहासको पुनर्लेखन´ समाजको नयाँ संरचना निर्माणका लागि अपरिहार्य हुन्छ । `प्रमाणपत्र र बोर्डिङपास´ रोजगारी दिन नसक्ने शिक्षामाथिको व्यङ्ग्य हो । पढेर सकेपछि विदेशी भूमिमा अनागरिक हुन पुग्नुको मार्मिक पराकाष्ठा बोकेको छ यस कविताले ।
`प्रिय मृत्यु´ दार्शनिक कविता हो । मृत्यु सबैको हेलाँ हुनुअघि होस् । सबैको आँखामा फूल हुँदाहुँदै सकिन पाऊँ भनी कवि हृदय भन्छ । 


  `प्रेमको महापरिनिर्वाण´मा प्रेमको परिभाषा र भ्रमको बीच जीवनमा प्राप्त हुने `शान्ति´ आखिर एउटा अन्त्य हो । शून्य र शून्यता नै सत्य हो । त्यसलाई प्रेम गर्नु नै असली प्रेम हो । आँखामा तृष्णा र आत्मामा वासना जोडिएको प्रेम असली प्रेम हुन सक्दैन । 
आमाप्रतिको अगाध सम्मान हो `कोख र काख´ । 

पशुबली, पशु-हत्या प्रतीको बितृष्णा अनि हरेक जीवित प्राणिले बाँच्न पाउनुपर्ने नैसर्गिक अधिकारको मार्मिक वकालत हो बलिको बोकाको बकपत्र । 

`बालाई प्रश्न´ - बालाई होइन कि सम्पूर्ण पुरुष सत्तालाई प्रश्न हो कि? छोरी या नारीमाथि यावत नियम र नियन्त्रण किन बनाइयो ? 

कर्फ्यु लागेकै रातमा पनि कुनै नारी सुरक्षित हुन सक्दैनन् । तितो सत्य पोख्न कविता बनेर पोखिएको छ, `कर्फ्यु लागेको रात´ कवितामा। । 
`अन्तिम कुइनेटो´ आखिर एउटा मनको तह हो । तर पनि छातीमा घाउ अडिने ठाउँ भेटिदैन। धर्तीमा पाउ ठडिने ठाउँ भेटिदैन । फेरि पनि मनको उदार दैलो कहिल्यै बन्द हुन सक्दैन ।  

  `देश लकडाउनमा छ´ , कोरोना कुरुक्षेत्रको वर्णन हो । महाभारतका प्रतिकहरु जोडेर कविता मर्ममय इतिहास बनेको छ कोरोना कहरको ।
`बेसरम बतास´मा पुरुषको तीखो मिसिएको छ । बेसरम, बतास कि पुरुष ? प्रश्न उब्जिन्छ पढिरहँदा । 

`ब्रेक अप´ प्रेमकै सेरोफेरोमा छ । आधुनिक प्रेमका मिठा नमिठा दृश्यलाई उतारिएको छ ।  बिवाहित पुरुषहरूको मानसिक बिचलनलाई प्रेमको नाम दिएर प्रेमकै बदनाम पो भएको हो कि ? कविको मनोवाद  लाग्दछ यो कविता । 

`भन्दिनु सन्तेलाई´ कविता विदेशीभूमीबाट भएको सम्बोधन हो मिठूलाई रितुको । नेपाली जनजिभ्रोमा झुन्डिएका बोलीका शब्दको प्रयोगले अनि आवश्यकताका लहरामा झुन्डिदै काल कोठरीमा होमिन विवस नेपाली चेलीको कारुणिक कथाको स्वरुप मूर्त भएर आँखा अगाडि आउँछ । 

कविता प्रतिको लगावले एउटा कवि कविताकै प्रेमी भैदिन्छ । कविताको रस्वादन गर्न नसक्नेहरुलाई यो पागलपन लाग्दो हो तर असली कविता जन्माउन र कविता भित्रको स्वतन्त्रता उपभोग गर्न कविताको प्रेमी हुनैपर्छ । प्रेमीले कहिल्यै प्रेम माथी घात गर्न सक्दैन । नेपाली पाठक माझ मुनामदन नौलो कुरा होइन । हिजो पनि मदन बाहिरिएका थिए । आजका मदनहरु पनि परदेश  नपुगी छानो फेर्ने हैसियतमा छैनन् । तिनै परदेशिएका मदनले आफ्नी मुनालाई लेखिएको सम्झाइएको बुझाइएको निकै प्रेमिल कविता हो मदनको चिठी । 

प्रेम गर्न सिकाउने प्रकृति नै हो तर प्रेमको परिभाषा मानिसले बनायो । आत्मिक प्रेम गर्नेलाई कहाँनेर पो साथ, सहयोग र प्रेमको अनुभुती हुँदैन र , जस्तै,, 

" मलाई देखेर
आर्यघाटको लास मुस्कुराउँदै बोल्छ 
लौ लैजाऊ मेरा बाँकी खुसी र सपनाहरु " 

`प्रकृति प्रेमको खिलाफ छैन´ शिर्षकको कवितामा यो अतिशयोक्तीपूर्ण अंश समेत भेटिन्छ । 

`म नभएको मेरो घर´ - अनुभवै अनुभवले खारिएको यथार्थ कविता हो । जहाँ एउटा नारीले एउटा सिङ्गो संसार ( घरसंसार )थामेकी हुन्छे । साच्चै नारी बिनाको घर बत्ती निभेको महल नै हुन्छ । केवल  नारीले मात्रै लेख्न सक्ने कविता हो यो ।
यसैगरी एउटी नारी जन्मघर छोडेर कसरी पराइ पुरुष र पराइ घरमा समाहित र समर्पित हुन्छे भन्ने भावभूमी हो `तिमीमा हराएपछि´ । 

प्रकृतिमा नारी र पुरुषको योगदान त उत्तिकै छ तर पुरुषहरूको नारीमाथि हेर्ने दृष्टिकोणले कविमन विक्षिप्त भएको छ । साच्चिकै आँखाहरु विषालु छन् र त भनिएको छ ,
……………………
ओ अन्जान मान्छे !
फेरि भेट्न बोलाउँदा
तिम्रा आँखा घरमै छोडेर आउनु 
मलाई तिम्रो आई फोबिया छ ।
………………………………………
मलाइ आइ फोबिया छ´कविता, पृष्ठ १२५ 

फूल र मान्छेको नियति उस्तै हो । सकिए पछि न रात न बिहान न चिता न चिहान । न कोही ब्युँताउने मर्द न कोहि निम्तोका मलामी । नियति फूलको होस्  या मान्छेको अन्त्य उस्तै हो । 
`मासुको मन्डी´ शहरको कुरुपताको पराकाष्ठा हो । नारी देहको मुर्त अमुर्त प्रयोग गरेर फैलिने आवत ब्यवसायहरु बजारका सबैभन्दा गिरेका पसलहरु हुन् । 

प्रिय सखी को मुटु यस्तो छ ,  

``तिम्रो बिहेमा जन्ती आएका 
प्रिय र आफ्ना मान्छे 
सबै कहाँ तिम्रो मलामी जान्छन् र !
जस्तो कि 
बेहुला बनेर जन्ती आएको 
तिम्रो दुलाहा । ´´

    नजिक हुँदा  उपलब्ध हुँदा जुनसुकै कुराको महत्व बुझ्न सकिन्न । जब त्यही चिज आफूदेखि टाढा हुन्छ त्यसको महत्व र आवश्यकता खट्किएर आउँछ । जीवनमा आइपर्ने यस्ता घटना अनि व्यक्ति र चरित्र प्रति सम्बन्धित रहेर `मेरो एउटा साथी´ लेखिएको छ ।
यौन हिंसामा परेकी एउटा किशोरीको कारुणिक चित्र देख्न पाइन्छ `फूल मुस्काउँदैन आजकल´ भित्र । 

प्रेम र बिहे बीचको मतान्तरको टुंगो लाउन अझै धेरै कुर्नु छ । बिहे पछि प्रेम सकिन्छ ? अथवा बिहेको संस्कारभित्र प्रेम न अटाउने हो ? घोत्लिन बाध्य पार्छ `मलाई प्रेमिका नै रहन देऊ´ले ।
 लेखक कविहरू समाज र सत्ताका प्रतिपक्षी हुन्छन् । सुम्निमा लेखेर बिपी आलोचित भएको कुरा नौलो होइन । समाजमा स्थापित मान्यताको विकल्प सोच्न बन्देज गर्छ समाज । ब्यवहारमा उतार्नु त परको कुरा भयो । धर्म र संस्कारका नाममा पढाइएका कथित तथ्यमाथि प्रश्न उठाउन रत्नाकर डाँकु हुने मन छ कबिलाई । जहाँ आक्रोश र आवेशसमेत मिसिएर आएको आभास हुन्छ शब्द चयनमा । 

   लाहुरेकी आमा ,आमाको मन सधैँ छोराछोरीमाथी नै हुन्छ । एउटा युगकी आमा जसले आधुनिक शिक्षा पाइनन् तर पनि उनलाई आधुनिक विकास र युद्धले बिक्षिप्त पारेको छ । मार्मिकताले उठान फैलावट र  बैठानमा कविता  विसंगत भए पनि ती आमाहरूको मर्म चित्रण छ । 

समाजको अर्को आधा आकाश, जो एक्लिएको छ नदीले छोडेको बगर जस्तो । बिरसिलो एकल पुरुषको विधुर बिलौना । 

शकुन्तला दुश्यन्त भेट मिथकलाई आधुनिकतामा ढालिएको प्रेमिल कविता हो ।आधुनिक बजार भन्नू आँखा र आँखाहरुको नै हो । `कविको आत्मसस्वीकृति´मा कविले आफ्ना कवितालाई न्याय दिन नसकेको गुनासो छ । उसो त उम्रेका सबै बिरुवाले फुल्ने फल्ने अवसर पाउन सक्दैनन् । त्यसैले त यसरी समेटिन्छ कवि मन , 

"भो म चाहन्न इतिहासको खलपात्र बन्न 
भो कर नगर मलाई कविता लेख्न ।" 

 आपत-बिपतको बेलामा घरले दिने सहारा अनि आत्मियताको महत्वसहित त्यहाँसम्म पुग्न नसक्नुको पीडाबोध हो `मलाई घर पुग्नुछ´ । 

बिछोडको पीडा भोगेको एउटा प्रेमीको भावनात्मक करुणाले `समय बिन्दु´ पूर्ण भएको छ ।
`समय भाग्य र जिन्दगी´मा नियतिले खेलाउने खेल अन्तरद्वन्दयुक्त जिजिबिषामा रुमलिएको एउटा निरन्तरता देख्न पाइन्छ ।
सुकुमबासी हुनु जग्गा जमिन र गासबास नहुनु मात्रै होइन
अन्त्यमा चाहिने आफन्तको साथ नहुनु पनि सुकुमबासी हुनु हो । नेपाली समाजको अन्तरकथा बोकेको छ` सुकुम्बासी भएँ म´ ले । आधुनिक चल्तिको प्रेम `च्याट´ भित्र पाइन्छ । आँखाका नसाको शक्ति हो नजरको नसा । समुद्रको पानी जस्तो लाग्छ जो कोही प्रेमीलाई आफ्नो प्रियको आँखा ।
यसरी ७५ ओटा बरफका कोइला पगाल्दा कहिकतै कस नभेटिने त होइन तर तरलताको बलले कस पखालिन्छ । कतै शीर्षक कतै कविताका हरफमा प्रयोग भएका अंग्रेजी शव्दको चयनले पाठकमा अर्थ खोज्न शब्दकोश खोज्न पनि घच्घच्याउँछ्न् ।कतै वैकल्पिक सालिन शब्द हुँदाहुँदै पनि झर्रा शब्द प्रयोग नगरेको भए नि हुने भन्ने गुनासो गर्न मन लाग्छ पाठकलाई । समग्रमा कविताले ओगटेको आयतनभन्दा शब्द र  भावले दिने मिठासको ओजन बढी भएकोमा आनन्दित भै रहन्छ पाठकीय मन ।