Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ४ आइतबार १३:३२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाविरुद्धको खोप अभियान सफल : स्वास्थ्य मन्त्रालय 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ४ आइतबार १३:३२:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोरोनाविरुद्धको खोप अभियान सफल भएको बताएको छ । ०७८ चैत मसान्तसम्म १८ वर्षमाथिको सबैलाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेपछि चैत मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहलाई लक्षित वर्गमा राखेर अभियान सुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको बताए । 

सहप्रवक्ता अधिकारीले सरकारले यसबीचमा लगभग ९५ प्रतिशतलाई खोपको पहिलो मात्रा लगाइसकेको बताए । त्यस्तै, ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको उनको दाबी छ । उनले आगामी दिनमा पनि कोरोनारिुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएका नागरिकलाई खोपको दायरामा ल्याई खोप अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पारे । 

‘तोकिएको समयभित्र सबैलाई पूर्ण मात्रा खोप लगाउन सकेको भए राम्रो हुन्थ्यो । यद्यपि, पूर्ण मात्रा लगाउने जनसंख्या पनि ९० प्रतिशतकै हाराहारी पुग्न थालेको देखिन्छ । यसलाई हेर्दा हामीले लगभग लक्ष्य प्राप्ति गरेको भन्नुपर्ने हुन्छ,’ सहप्रवक्ता अधिकारीले भने, ‘चैत ३० गतेपछि नै हाम्रो खोप अभियान पूर्ण रूपमा बन्द हुने होइन । संक्रमणबाट बच्नका लागि जतिसक्दो चाँडो बाँकी व्यक्तिहरूलाई खोपको दायरामा ल्याउनका लागि र खोप लगाएको व्यक्तिले दोस्रो मात्रा लगाउनका लागि हामीले यो अभियानलाई निरन्तर अघि बढाउनैपर्छ ।’

सहप्रवक्ता अधिकारीले विभिन्न सञ्चारमाध्यमहरूमा कोरोनाविरुद्धको खोप प्रयोग नगरेर खेर फालेको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताए । उनले हालसम्म सरकारले कोरोनाविरुद्धका खोपहरू खेर नफालेको दाबीसमेत गरे । सहप्रवक्ता अधिकारीले सरकारले दुःख गरेर पाएको खोपलाई महत्वका साथ कसरी प्रयोग गर्न सकिन्छ भन्ने रणनीति बनाएर खोपलाई यथोचित प्रयोग गरिरहेको बताए । उनले कोरोनाविरुद्धका केही खोपहरूको मिति सकिन लागेको भन्दै त्यसलाई सकेसम्म प्रयोग गर्ने तरिकाले खोप नपुगेका स्थानमा म्याद सकिन लागेका खोपहरू लगेर खोप अभियान सञ्चालन गरिरहेको जानकारी दिए । सरकारले गत चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको र यही अभियानमा कोरोनाविरुद्धको खोपलाई पनि समावेश गरेर खोपको दायरामा नआएका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने काम जारी राखेको उनको भनाइ छ । 

‘अहिलेसम्म कोरोनाविरुद्धका खोपहरू खेर जान दिएका छैनौँ । केही दिनयता कोभिड– १९ विरुद्धका खोपहरू खेर गएका भन्ने कुरा आएका छन् । हामीसँग भएका केही खोपहरू म्याद गुज्रिने समयको नजिक–नजिक आएका छन् । त्यसबारे हामीले जानकारी राखिरहेका हुन्छाैँ,’ अधिकारीले भने, ‘हामीले एक ठाउँको खोपलाई अर्को ठाउँमा लगेर भने पनि म्याद गुज्रिनभन्दा पहिले नै प्रयोगमा ल्याएर सर्वसाधारणलाई सहज हुने वातावरण बनाउँछौँ ।’ 

सहप्रवक्ता अधिकारीले नेपालमा रहेका कोरोनाविरुद्धका केही खोपहरूको समय अप्रिल महिनासम्म रहेको भन्दै ती खोपहरूलाई बाँकी दिनमा सक्ने गरेर रणनीति बनाएको बताए । उनले कतिपय खोपहरू एकै प्याकमा ६ वा १० वटा आउने भएको र खोलेको ६ घन्टाभित्र सबै प्रयोग गरिसक्नुपर्ने हुन्छ, तर खोप लगाउने मानिसहरू नहुँदा एक–दुईवटा खोप प्रयोग भए पनि प्याकमा बाँकी खोप खेर जान सक्ने सम्भावना रहेको जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहभित्र रहेका एक करोड ९९ लाख २२ हजार एक सय सय ६४ वयस्कमध्ये एक करोड ८७ लाख २२ हजार नाै सय ६ जनाले खोपको एक मात्रा लगाएका छन् भने एक करोड ६५ लाख ६३ हजार ३ सय ७० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । त्यस्तै, लक्षित वर्गभित्र रहेका ३४ लाख २५ हजार चार सय आठजना बालबालिकामध्ये ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार चार सय ५१ जनाले खोपको एक मात्रा लगाएका छन् भने लक्षित संख्याको ७५ प्रतिशत अर्थात् २५ लाख ८४ हजार तीन सय २६ जनाले खोपको पूर्ण मात्रा लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसबाहेक २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको र देशभर हालसम्म उपलब्ध पाँच करोड ३३ लाख ८१ हजार पाँच सय ७० डोज खोपमध्ये चार करोड पाँच लाख ८५ हजार पाँच सय ५७ डोज खोप प्रयोग गरिएको छ ।