१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
गणेश लम्साल नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:५५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विराटनगर महानगरमा चुनावी सरगर्मी : टुंगो लागेन गठबन्धनको उम्मेदवार, एक्लै लड्ने अडानमा कांग्रेस

कांग्रेसले अडान नछाडे मोरङको विराटनगर महानगरपालिकालगायत अन्य पालिकामा माओवादी, एकीकृत समाजवादी र जसपाबीच  गठबन्धन बन्ने

Read Time : > 2 मिनेट
गणेश लम्साल, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:५५:oo

सत्तारूढ गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले विराटनगर महानगरपालिकासहित १७ वटै पालिकामा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धा गर्ने गरी साझा कार्यदल गठन गरेका छन् । कांग्रेस जिल्ला उपसभापति भक्ति माझी, माओवादी समन्वय समिति संयोजक विजय विश्वास, जसपा मोरङका अध्यक्ष राजकुमार यादव र एकीकृत समाजवादीबाट उद्धव पोखरेल कार्यदलमा छन् । कार्यदलले दुई दिनभित्र गठबन्धनसहित भागबन्डाको अवस्थाबारे प्रतिवेदन दिएपछि माथिल्लो कमिटीले त्यसलाई अनुमोदन गरेपछि बल्ल उम्मेदवार टुंगो लाग्नेछ । 

तर, कार्यदल बने पनि कांग्रेसले भने आफूले मोरङमा जित हासिल गरेका विराटनगर महानगरसहित जम्मा १० वटा पालिकामा भागबन्डा नगर्ने अडान लिएको छ । मोरङमा विराटनगर महानगर, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ स्थानीय तह छन् । कार्यदल बन्दैमा मोरङमा गठबन्धनमा भागबन्डा मिलिहाल्ने स्थिति पनि छैन । यदि कांग्रेसले अडान नछाडे मोरङको विराटनगर महानगरपालिकालगायतका अन्य पालिकामा माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन बन्नेछ । केन्द्रमा पाँचदलीय गठबन्धनमा रहेको सत्ताधारी दल कांग्रेसले गठबन्धन नगर्ने, बरु एक्लै प्रतिस्पर्धा गर्ने अडान लिएपछि विराटनगर महानगरको चुनावी प्रतिस्पर्धा रोचक हुने भएको हो ।

यस्तो छ विराटनगरमा आन्तरिक अवस्था 

०७४ को निर्वाचनमा पहिलो कार्यकाल मेयर, उपमेयरसहित आठवटा वडामा जित हासिल गरेको कांग्रेसले यसपालि शतप्रतिशत जित हासिल गर्ने दाबीसहित एक्लै चुनाव लड्ने अडान राखेको छ । यदि केन्द्रको सर्कुलरलाई बेवास्ता गर्दै कांग्रेसले एक्लै प्रतिस्पर्धा गरेमा माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले अलग्गै मोर्चा बनाउने चेतावनी दिएका छन् । एमालेले राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टीसँग आन्तरिक तालमेलका लागि पहल गरिरहेको छ ।

यदि गठबन्धनमै तीन दल एकातिर र कांग्रेस एक्लै अर्कोतिर भएमा कांग्रेसलाई जित हासिल गर्न निकै कठिन हुनेछ । ०७४ मा मुख्य प्रतिस्पर्धी एमालेका विनोद ढकालसँग तीन हजार मतले मात्र विजयी भएको कांग्रेसले यसपालि तीनदलीय गठबन्धनको सामना गर्नुपर्नेछ । विराटनगर महानगरमा मधेसी बाहुल्यता भएकाले जनता समाजवादीको पकड बलियो छ । ०७४ को निर्वाचनमा मधेसी जनअधिकार फोरम र माओवादी गठबन्धनका मेयर पदका उम्मेदवार उमेश यादवले राम्रो मत पाएका थिए । यसैले यसपालि गठबन्धन भएमा जसपाले मेयरमा दाबी गर्ने जनाएको छ । आफूले चाहेका अन्य नगर र गाउँपालिका प्राप्त भएमा विराटनगर महानगरमा उपमेयर नछाड्ने जसपाको रणनीति छ ।

माओवादी केन्द्र भने जोसँग गठबन्धन भए पनि उपमेयर पाएमा चित्त बुझाउने पक्षमा छ । कांग्रेसले एक्लै प्रतिस्पर्धा गरेमा माओवादीले जनता समाजवादीलाई मेयर दिएर आफूले उपमेयर र केही वडामा भागबन्डा गर्दै चुनावी प्रतिस्पर्धा गर्नेछ । मोरङमा माओवादी केन्द्रले विराटनगर महानगरको उपमेयरसहित राजमार्गले छोएका बेलबारी र पथरी शनिश्चरे नगरपालिका, पहाडी क्षेत्र पर्ने मिक्लाजुङ, दक्षिणी क्षेत्रमा रहेको धनपालथान, कटहरी र जहदा गाउँपालिकामा नेतृत्व दाबी गर्दै आएको छ । 

गठबन्धन भएमा एमाले विराटनगरमा झन् कमजोर 

कांग्रेससहित गठबन्धन भएमा विराटनगर महानगरमा एमाले अघिल्लो निर्वाचनमा भन्दा कमजोर बन्ने निश्चित छ । किनभने, पहिले कांग्रेसबाट फुटेको फोरम लोकतान्त्रिकसँग गठबन्धन गरेर पनि एमालेले आफ्नो जित सुनिश्चित गराउन सकेन । अर्थात्, फोरम लोकतान्त्रिकका सबैले र एमालेका सबैले उम्मेदवारलाई मत दिएनन् । मतदानमा जातीयता हावी भएको थियो । तर, अहिले फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भइसकेको र एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएकाले अब महानगरका १९ वटा वडासहित सबैमा जित सुनिश्चित गराउन सक्ने दाबी कांग्रेस कार्यकर्ताको छ । 

विराटनगर महानगरमा एक लाख ३३ हजार मतदाता

विराटनगर महानगरमा हाल एक लाख ३३ हजार मतदाता छन् । विराटनगरमा ०७४ मा एक लाख १२ हजार मतदाता थिए । त्यसवेला करिब ९० हजार मतदाताले मतदान गरेका थिए । मेयरमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत पाएर विजयी भएका थिए । कांग्रेसले १, ३, ४, ७, ८, ९, ११, १६ र १९ वडा नम्बरमा जित हासिल गरेको थियो । 

प्रतिस्पर्धी एमालेका मेयरका उम्मेदवार विनोद ढकालले १७ हजार तीन सय २१ मत पाएका थिए । एमालेले २ र ५ वडा नम्बरमा जित हासिल गरेको थियो । तत्कालीन मधेसी जनअधिकार फोरमका मेयरका उम्मेदवार उमेश यादवले १४ हजार नौ सय ५८ मत पाएका थिए । फोरमले १२, १३, १४ , १५, १७ र १८ गरी ६ वटा वडामा जित हासिल गरेको थियो । माओवादी केन्द्रले वडा नम्बर ६ मा मात्र जित हासिल गरेको थियो । महानगरको वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए । चौथो स्थानमा रहेका राप्रपाका प्रह्लादप्रसाद साहले पाँच हजार पाँच सय २४ मत पाएका थिए ।

कांग्रेस र एमाले उम्मेदवारविनै घरदैलो गर्दै विराटनगरमा हालसम्म कुनै पनि दलबाट उम्मेदवारको टुंगो लागिसकेको छैन । तर पनि दलहरूले घरदैलो सुरु गरिसकेका छन् । घरदैलोमा सबैभन्दा अगाडि एमाले छ । एमालेले नगरभरि केन्द्रीय र प्रदेश नेताहरूलाई बाँडफाँट गरेर घरदैलो अभियानलाई निरन्तरता दिइरहेको छ । कांग्रेसले पनि आफ्नो गाउँटोलको कार्यक्रमलाई आक्रामक बनाएको छ । एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाले वडादेखि टोलसम्म गतिविधि सक्रिय पारेका छन् ।

ad
ad