१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
पहिरोमा चिसापानी बजारका घर । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:४७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बाढी–पहिरोले थिलथिलो चिसापानी 

पहिरो व्यवस्थापनमा स्थानीय सरकारले ध्यान नदिएको गुनासो 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:४७:oo

इलाम र पाँचथरको सिमानामा पर्छ, चिसापानी बजार । सडकको उत्तरपट्टि पाँचथरको मिक्लाजुङको वडा नम्बर ५ छ, दक्षिणमा इलामको माङ्सेबुङ–६ । लामो प्रतीक्षापछि यो बजार सडक सञ्जालसँग जोडिँदै छ । रणनीतिक महत्व‍को दमक–चिसापानी र राँके–रवि–भेडेटार सडकले जनताको वर्षौंदेखिको सपना पूरा गर्दै छ । तर, बजार विकास हुने वेलामा यहाँका नागरिक निराश भएका छन् । गत कात्तिकमा आएको अविरल वर्षा र पहिरोले चिसापानी बजार थिलथिलो भएको छ । 

अविरल वर्षासँगै अएको पहिरोमा पाँचथर चिसापानी बजारमा ११ र मिक्लाजुङ–५ को गाउँमा चारजना र इलामतर्फ चारजनाले ज्यान गुमाए । दुईजना अझै बेपत्ता छन् । वर्षाले मिक्लाजुङतर्फ मानवीय क्षति बढी भयो । तर, भौतिक क्षति इलामतर्फ ठूलो छ । चिसापानी बजारको माङ्सेबुङतर्फको भूभाग छियाछिया भएको छ । कतिपयको आधा घर पहिरोले बगाएको छ । कतिपयको घर नै लच्किएको छ । कतिपय घर पहिरोको बीचमा छन् । मिक्लाजुङ–५ का वडाध्यक्ष अविनाश लावतीले भने, ‘इलामतर्फ पहिरोले धेरै भौतिक क्षति गर्‍यो, हाम्रोतर्फ बजारमा मानवीय क्षति धेरै भयो । गाउँतिर भौतिक क्षति पनि धेरै भयो ।’

दिनेश बुढाथोकी चिसापानी बजारमा कपडा व्यवसाय गर्छन् । उनको घर माङ्सेबुङतिर पर्छ । उनी गत कात्तिकदेखि घरबाटै विस्थापित छन् । पहिरोले घरको आधा भाग भासिएको छ । यद्यपि, त्यही घरमा व्यवसाय भने गरिरहेका छन् । तर, उनको परिवार अहिले पाँचथरतर्फ भाडामा बस्छ । ‘आफ्नो घर पहिरोले आधा लच्किएको छ । व्यवसाय गर्ने अर्को ठाउँ छैन । डराएरै यहीँ गर्दै छु । कति वेला बगेर जाने हो, पत्तो छैन,’ बुढाथोकीले नयाँ पत्रिकासँग भने, ‘परिवारचाहिँ पाँचथरतिर एउटा कोठा दुई हजारमा भाडा लिएर राखेको छु । राति पानी परेर पहिरो गयो भने पनि कम्तीमा परिवारको ज्यान बच्छ ।’

पहिरोले थिलथिलो भएको चिसापानी बजारको दक्षिणी भाग कति वेला बग्छ भन्ने टुंगो छैन । स्थानीय सरकारलाई जानकारी छ । तर, पहिरो व्यवस्थापनमा ध्यान नदिएको बुढाथोकीको आरोप छ । ‘आकाश कालो हुँदा पनि डर लाग्छ । स्थानीय सरकारलाई जानकारी गराएको हो । पहिरो व्यवस्थापनमा कसैले ध्यान दिएन,’ उनले भने । 

मिक्लाजुङ–६ का इन्द्रकुमार लावतीको घरको आधा भाग गत कात्तिकमा आएको पहिरोले बगाएको छ । तर, पनि बाध्य भएर उनी जोखिम मोलेर बसेका छन् । पहिरोसँगै उनको शौचालय पनि बग्यो । शौचालय बनाउने जग्गा पनि पहिरोसँगै बगेपछि उनले पाँचथरतर्फ शौचालय बनाएका छन् । ‘शौचालय पनि पहिरोसँगै बग्यो । बाटोपारि शौचालय बनाएका छौँ । रातसाँझ जान साह्रै गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘दमक–चिसापानी र राँके–रवि–भेडेटार सडकको ट्र्याक ओपन भयो । अब त विकासले फड्को मार्छ भनेको त पहिरोले बस्नै नदिएला जस्तो छ । यसपटक सरकारले हेरेन भने हामीलाई गाह्रो हुन्छ ।’

आकाश कालो हुँदा पनि चिसापानी बजारवासीको मन अमिलिन्छ । फेरि पहिरो जाने हो कि भन्ने चिन्ताले सताउँछ । ‘बर्खा लाग्यो । सामान्य पानी पर्‍यो भने पनि पहिरो जान्छ । अहिले त आकाश कालो भयो भने पनि डर लाग्छ,’ शर्मिला राई भन्छिन्, ‘यो बर्खाअगावै सरकारले केही गरेन भने बजार नै पहिरोसँगै बग्छ कि भन्ने डर लाग्छ ।’

पहिरोको डरले तराईतिर बसाइँसराइ

पहिरोको प्रभावले केही परिवार तराईतर्फ बसाइँ सरिसकेका छन् । त्यहाँ रहेका बाँकी ३७ परिवार पनि उच्च जोखिममा रहेको माङ्सेबुङ–६ का वडाध्यक्ष प्रदीप साङ्पाङले बताए । पहिरोले चिसापानी बजार मात्र जोखिममा छैन, वडा कार्यालय र स्वास्थ्य चौकी भवन पनि जोखिममा छ । बजारको दक्षिणी क्षेत्रका घरको आधा भाग पहिरोले बगाएको, दबिएको छ । यो वर्ष बर्खामा बजार जोगाउन चुनौती रहेको उनले बताए । ‘बजार अति जोखिममा छ । यो वर्ष पहिरो नियन्त्रणमा केही नगर्ने भए बर्खामा के हुन्छ भन्ने चिन्ता छ,’ वडाध्यक्ष साङ्पाङले भने, ‘चिसापानी बजार अति संवेदनशील छ । मानवीय हिसाबले बेमौसमी बर्खामा मिक्लाजुङतर्फ धेरै क्षति भयो । तर, भौतिक हिसाबले हाम्रोतर्फ क्षति छ ।’ 

पहिरो नियन्त्रणका लागि गाउँपालिकाले मात्र केही गर्न नसक्ने उनले बताए । पहिरो नियन्त्रणमा प्रदेश र केन्द्र सरकारलाई आग्रह गरिएको उनले बताए । ‘पहिरो नियन्त्रणमा बजेट ठूलो लाग्छ । गाउँपालिकाले मात्र यो सम्भव हुँदैन । हामीले पहिरो पीडितलाई दश हजार दिने निर्णय गरेका छौँ । यसले मात्र केही हुँदैन । गाउँपालिकाले घरका छानाबाट आएको पानी उत्तरतर्फ कटाउनेछ,’ उनले भने, ‘बाँकी पहिरो नियन्त्रणको काम प्रदेश र केन्द्र सरकारले गर्नुपर्छ । पहिला यहाँको माटो परीक्षण गर्नुपर्छ । हामीले आग्रह गरे पनि प्रदेश र केन्द्र सरकारले केही गरेनन् ।’

ad
ad