मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भवानीश्वर गौतम नयाँ पत्रिका
२०७९ बैशाख ४ आइतबार ०७:०६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

म्यादी प्रहरीलाई देशभित्रै उद्यमशील बनाउन परामर्श तालिम

म्यादी प्रहरीको ४० दिनको समय सकिएपछि पनि स्वदेशमै कसरी उद्यमशील बन्ने, आर्थिक व्यवस्थापन कसरी गर्ने र वित्तीय संस्थाहरूबाट ऋण कसरी प्राप्त गर्नेलगायत विषयमा तालिम 

Read Time : > 1 मिनेट
भवानीश्वर गौतम, नयाँ पत्रिका
२०७९ बैशाख ४ आइतबार ०७:०६:००

राष्ट्रिय युवा परिषद्ले निर्वाचनमा ४० दिनका लागि म्यादी प्रहरीमा भर्ना भएका युवालाई त्यसपछि देशभित्रै उद्यमशील बनाउने अभियान थालेको छ । परिषद्ले म्यादीमा भर्ना भएर तालिम लिइरहेकालाई उद्यम परामर्श तालिम दिइरहेको छ । 

कसरी उद्यमशील बन्ने, उद्यमशील बन्न आर्थिक व्यवस्थापन कसरी गर्ने र वित्तीय संस्थाबाट ऋण कसरी प्राप्त गर्न सकिन्छ भन्नेलगायत विषयमा परिषद्ले तालिम दिइरहेको छ । म्यादी प्रहरीको तालिम भइरहेको ठाउँमै पुगेर परामर्श दिने काम भइरहेको परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले बताए । चुनावी प्रयोजनका लागि म्यादी प्रहरीमा भर्ना भएकाहरू ४० दिनपछि घर फर्किनेछन् । 

म्यादीको समय सकिएपछि विदेश जाने योजना बनाएकासमेत तालिमपछि देशभित्रै उद्यमशील बन्न उत्प्रेरित भएको शर्माले बताए । शुक्रबार र शनिबार विभिन्न ठाउँमा परामर्श तालिम सञ्चालन गर्दा सहभागीमा निकै सकारात्मक परिवर्तन आएको उनले बताए । ‘म्यादी प्रहरीको समय सकिएपछि विदेश जाने योजना बनाएकामा विदेशमा पनि दुःख हुने र नेपालमै त्यत्तिको दुःख गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने भावनाको विकास भएको पाइयो,’ उनले भने । भक्तपुरबाट सुरु गरिएको परामर्श तालिम काठमाडौंलगायत अन्य जिल्लामा पनि विस्तार गरिने शर्माले बताए । 

म्यादी प्रहरीका लागि उद्यमशीलता र वित्तीय साक्षरतालाई जोडेर परामर्श तालिम दिने गरिएको छ । ‘म्यादी प्रहरीमा काम गर्दा अलिकति रकम जम्मा गर्छन्, त्यसबाट उद्यम गर्न सक्ने गरी उद्यमशीलताका लागि कार्यक्रम सञ्चालन गरेका हौँ,’ शर्माले भने । कार्यक्रममा सामान्य लगानी गरेर आम्दानी गरेकादेखि प्रतिष्ठितहरूका सफलताका उदाहरण दिएर उत्प्रेरित गर्ने गरिएको छ । तालिम प्राप्त गरेमा आरन सञ्चालन गरेर दैनिक १५ सय कमाउनेदेखि चियापसल सञ्चालन गर्दा पनि राम्रो आम्दानी गर्न सकिने उदाहरण दिइएको छ । यसअघि एकहप्ते उद्यमशीलता र वित्तीय साक्षरता तालिम स्थानीय पालिकाबाट लिन सक्ने व्यवस्था गरिएको छ । 

पढेका युवासमेत म्यादीमा भर्ना

म्यादी प्रहरीमा स्नातक उत्तीर्ण गरेकासम्म भर्ना भएका छन् । उनीहरूका लागि उद्यमशीलताको तालिम निकै उपयोगि हुने परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले बताए । नेपाल प्रहरीले आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गरी तालिम दिइरहेको छ । ४० दिन खटिने म्यादीले प्रहरी प्रहरी जवानबराबर सेवा–सुविधा पाउँछन् । 

म्यादी प्रहरी भर्नामा एक लाख माग भएकोमा दुई लाख ९३ हजारले आवेदन दिएका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार आवेदकमध्ये ३२ हजार १२ जना १२ कक्षा र तीन सय ४१ जना स्नातक तह उत्तीर्ण गरेका छन् । एसइई उत्तीर्ण गरेका आवेदक ८३ हजार दुई सय ११ छन् । एक लाख ७७ हजार सात सय ५० जना भने एसइईभन्दा कम पढेका छन् । 

म्यादीमा भर्नाका लागि साधारण लेखपढ गरेका व्यक्ति पनि योग्य ठहरिन्छन् । तर, छनोटमा पढाइलाई समेत आधार बनाइएको थियो । आवेदन दिनेमध्ये करिब ७० प्रतिशत ३० वर्षभन्दा कम उमेरका छन् । सबैभन्दा धेरै २० देखि ३० वर्ष उमेरका युवा छन् । यो उमेर समूहका एक लाख ३३ हजार चार सय ७६ तथा २० वर्षसम्मका ८३ हजार ६ सय २९ छन् । ३० देखि ४० वर्ष उमेरका ५४ हजार आठ सय ४७ र ४० देखि ५४ वर्षका २१ हजार तीन सय ६३ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दरखास्त दिनेमध्ये ६९ हजार ६ सय ८० महिला छन् ।