१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
बेदकोट नगरपालिका– ६ मुसेपानीस्थित कमला साउदको घर, जहाँ धामीझाँक्रीले झारफुकका क्रममा कुटपिट गर्दा रञ्जुला साउदको मृत्यु भएको थियो
मोहन विष्ट कञ्चनपुरमा
२०७९ बैशाख ४ आइतबार ०६:५१:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बोक्सी धपाउने भन्दै धामीझाँक्रीले कुट्दा महिलाको मृत्यु

घटना गुपचुप पार्न मृत्युको तीन दिनसम्म शवलाई झारफुक

Read Time : > 3 मिनेट
मोहन विष्ट, कञ्चनपुरमा
२०७९ बैशाख ४ आइतबार ०६:५१:००

बोक्सी धपाउने भन्दै धामीझाँक्रीले निर्घात कुट्दा कञ्चनपुर बेदकोट नगरपालिका– ६ मुसेपानीकी रन्जुला साउदको मृत्यु भएको छ । ४३ वर्षीया रन्जुला एकल महिला हुन् । नाताले जेठानी पर्ने कमला साउदको सोही टोलस्थित घर गएकी उनलाई भीमदत्त नगरपालिकाबाट आएका धामीझाँक्रीद्वय नारायणप्रसाद भट्ट र धर्मानन्द भट्टले कुट्दा गत बिहीबार नयाँ वर्षको दिन दिउँसो २ बजे मृत्यु भएको हो । तर, घटना लुकाउन शनिबारसम्म पनि झारफुक गरिरहेका थिए । 

बेदकोट– ६ का वडासदस्य धनसिंह पुजाराले रन्जुलालाई धामीझाँक्रीले नै टुनामुना लगाएर बिरामी गराएको र बोक्सी भगाउने भन्दै तताएको रडले हिर्काएर हत्या गरेको आरोप लगाए  । ‘कमलाको घरमा धेरै दिनदेखि धामीझाँक्री आएका थिए । आगोको धुनी लगाएर फलामको रड तताउँथे । केही दिनदेखि साउद परिवारकै मानिसहरू जप गर्दै आएका थिए, जहाँ रन्जुला पनि जान्थिन्,’ उनले भने, ‘सुरुमा रन्जुला बिरामी थिइनन् । त्यहाँ जान थालेपछि बिरामी परिन् । अस्पताल जाँदा पनि निको भएन । शनिबार उनको मृत्यु भएको घटना बाहिरिएपछि मैले नै प्रहरीलाई खबर गरेको हुँ । धामीझाँकीले रन्जुलाको मुख, टाउको र शरीरमा रडले हिर्काएर हत्या गरेका हुन् ।’ धामीझाँक्रीले धुनी लगाएको निसानी शनिबार पनि कमलाको घरको आँगनमा देखिएको थियो । 

पाँच वर्षअघि श्रीमान् गुमाएकी रन्जुलाका दुई छोरी सरिता र निरा छन् । एक कट्ठा जमिन मात्र भएकी उनलाई छोरीहरूको भविष्यको चिन्ता त थियो नै, एकल महिला भएकै कारण सामाजिक हेलाहोचो खेप्नुपर्ने बाध्यता थियो । वडासदस्य पुजाराका अनुसार छोरीहरूको पालनपोषणका लागि उनी वडामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा दैनिक ज्यालादारीमा काम गर्थिन् । 

मृतक रन्जुलाकी जेठी छोरी सरिताले आमा पहिलोपटक २७ चैतमा कमलाको घरमा गएको र धामीझाँक्रीले उल्टै बिरामी पारिदिएको बताइन् । ‘तेरो ममीले समाजमा मेरो कुरा काटेकोले बिरामी बनाएको भनेर धामीझाँक्रीले नै मलाई भनेको थियो । त्यसपछि ३० चैतमा हामी महाकाली अस्पताल गएपनि आमालाई सन्चो लागेन,’ उनले भनिन्, ‘फर्काएर धामीझाँक्रीकहाँ नै ल्याएपछि दिनमा ६ पटक मन्त्र पढ्नुपर्छ, अलग कोठामा मसँग एक्लै बस्नुपर्छ भन्यो ।’ सरिताको भनाईअनुसार झारफुकका नाममा रन्जुलामाथि यौन हिंसासमेत भएको देखिन्छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी श्याम सिंह चौधरीले भने घटनाको अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न नसक्ने बताए । ‘मैले शव देखेको छैन । पोष्टमार्टमका लागि महाकाली अस्पतालमा छ । हामीले गहन अध्ययन गरिरहेका छौं । अहिले नै यस विषयमा म भन्न सक्दिनँ,’ उनले भने ।

रन्जुलाको परिवार बैतडीको शिवनाथ गाउँपालिका– १ बाट केही वर्षअघि कञ्चनपुर झरेको हो । अन्य सबै आफन्त परिवार अहिले पनि पहाडमै छन् । चक्रसिंह साउदले आफूलाई २ वैशाखमा फोन गरेर ‘आमाको आत्मा रन्जुलामा देखिएकाले तराई आउन’ भनेको मृतकका देवर पदम साउदले बताए । चक्रसिंह साउद कमलाका आफन्त हुन् । ‘तेरो आमाको आत्मा आएको छ, त्यसको बोक्सी भगाउन आउनुप¥यो भन्दै खबर पाएपछि म यहाँ आएको हुँ,’ पदमले भने, ‘घटना शंकास्पद देखिन्छ, कुनै कसर बाँकी नराखी छानविन होस् ।’ 

मृतक रन्जुलाका दाइ करन घटालले पनि कुटपिटकै कारण बहिनीको मृत्यु भएकाले सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेका छन् । उनले कमलाका छोरा नभएकाले धामीझाँक्रीलाई प्रयोग गरेर आफ्नी बहिनीको हत्या गरेको आरोप लगाए । 

जिल्लाका महिला अधिकारीहरूहरूले विगतमा यस्तै प्रकृतिका घटनामा प्रहरीले मेलमिलापका नाममा दोषीलाई उन्मुक्ति दिएको भन्दै गल्ती नदोहो¥याउन सचेत गराएका छन् । ‘अहिलेको युगमा पनि भुत प्रेत लागेको भन्दै कुटपिट हुनु निन्दनीय र अमानवीय छ,’ महिला अधिकारकर्मी माया नेगीले भनिन्, ‘घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्छ ।’ बेदकोटकी अगुवा महिला पार्वती जोशीले पनि घटना निन्दनीय भएकाले सत्यतथ्य छानविन गर्न माग गरेकी छिन् । 

दुई धामीझाँक्रीसहित सात पक्राउ, मृतकका परिवारले बुझ्न मानेन शव

रन्जुला साउदको ‘हत्या’मा संलग्न भएको आरोपमा कञ्चनपुर प्रहरीले धामीझाँक्रीद्वय धर्मानन्द भट्ट र नारायणप्रसाद भट्टसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमला साउन, जानकी घटाल, गौरी साउद, कुबेर साउद र चक्र साउद छन् । मृतकका आफन्त तथा परिवारले भने घटनाको सत्यतथ्य छानविन गरेर दोषीमाथि कारबाही नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् । शवि पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ । 

कञ्चनपुरका प्रहरी प्रमुख एसपी श्याम सिंह चौधरी भन्छन्– शव देखेको छैन, अहिले नै केही भन्न सक्दिनँ

मैले शव देखेको छैन । पोष्टमार्टमका लागि महाकाली अस्पतालमा छ । हामीले गहन अध्ययन गरिरहेका छौं । अहिले नै यस विषयमा म भन्न सक्दिनँ । 

बेदकोट नगरपालिकाका मेयर अशोक चन्दको माग : सत्यतथ्य छानविन गरेर दोषीमाथि कारबाही होस्

रुढीवादी धामीझाँक्रीका कराण हाम्रो नगरपालिकामा एक महिलाले अकालर्म ज्यान गुमाउनु परेको छ । यो आपराधिक घटनाको सत्यतथ्य छानविन गरेर दोषीमाथि कारबाही हुनुपर्छ । 

बेदकोट– ६ का वडा सदस्य धनसिंह पुजारा भन्छन्– तताएको रडले हिर्काएर हत्या भएको हो

कमलाको घरमा धेरै दिनदेखि धामीझाँक्री आएका थिए । आगोको धुनी लगाएर फलामको रड तताउँथे । केही दिनदेखि साउद परिवारकै मानिसहरू जप गर्दै आएका थिए जहाँ रन्जुला पनि जान्थिन् ।सुरुमा रन्जुला बिरामी थिइनन् । त्यहाँ जान थालेपछि बिरामी परिन् । अस्पताल जाँदा पनि निको भएन । शनिबार उनको मृत्यु भएको घटना बाहिरिएपछि मैले नै प्रहरीलाई खबर गरेको हुँ । झामीझाँकीले रन्जुलाको मुख, टाउको र शरीरमा रडले हिर्काएर हत्या गरेका हुन् ।

मृतक रन्जुलाकी छोरी सरिताको वयान

धामीझाँक्रीले मसँग ‘तेरो आमालाई मैले बिरामी गराइदिएको हो’ भनेको थियो ‘तेरो ममीले समाजमा मेरो कुरा काटेकोले बिरामी बनाएको’ भनेर धामीझाँक्रीले नै मलाई भनेको थियो । त्यसपछि ३० चैतमा हामी महाकाली अस्पताल गएपनि आमालाई सन्चो लागेन । फर्काएर धामीझाँक्रीकहाँ नै ल्याएपछि दिनमा ६ पटक मन्त्र पढ्नुपर्छ, अलग कोठामा मसँग एक्लै बस्नुपर्छ भन्यो ।