१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o९:१५:oo
Read Time : > 9 मिनेट
ad
ad
पन्ध्रौं वार्षिकोत्सव विशेषांक प्रिन्ट संस्करण

काठमाडौं उपत्यका : सुरुङमार्गदेखि रेलसम्म

Read Time : > 9 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:१५:oo

संघीय राजधानी काठमाडौं अझै पनि धेरै नेपालीको सपनाको सहर हो । देश संघीयतमा गएसँगै हाल काठमाडौंमा ११, ललितपुरमा ६ र भक्तपुरमा चार गरी २१ स्थानीय तह छन् । राजधानी काठमाडौंमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकताको परिपूर्ति सजिलै हुन्छ भन्ने आममानिसमा छाप छ । त्यसैले करिब ५० लाख हाराहारी जनसंख्या पुगिसकेको छ ।

मान्छेको ओइरो लाग्ने उपत्यकामा समस्या पनि कम छैनन् । फोहोरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध सहनुपर्ने अवस्था छ । प्रदूषणको मात्रा घातक बिन्दुमा पुग्ने गरेको छ । काठमाडौंले काकाकुल उपत्यकाको परिचय फेर्न अझै सकेको छैन । अव्यवस्थित सहरीकरणका कारण बर्सेनि उपत्यकाका केही भाग डुबानमा पर्ने गरेका छन् । अव्यवस्थित बसोवास र बसाइसराइका कारण बाटो नै नभएको ठाउँमा पनि कित्ताकाट गरेर घर बनाउने क्रम बढेको छ । जसकारण कतिपय नयाँ बस्तीमा समेत दमकल, एम्बुलेन्सलगायत अत्यावश्यक साधन जान सक्दैनन् । चौबिसै घन्टा ब्युँझिनुपर्ने राजधानीका केन्द्रीय सहरमा साँझ ८–९ बजेसम्म नै सार्वजनिक यातायात चल्न बन्द हुन्छन्, पसलहरू पनि ८ बजेतिरै बन्द हुन्छन् । रात्रिकालीन होटेल–रेस्टुरेन्टहरू मध्यरातभित्रै सुस्ताउँछन् । 

यी तमाम समस्याबीच उपत्यकामा पछिल्लो समय पूर्वाधार निर्माणले भने तीव्रता पाएको छ । स्मार्ट सिटीदेखि सुरुङमार्ग, रेल निर्माणका चरणमा छन् । जसको नतिजा आगामी पाँच वर्षमा देख्न सकिनेछ । 

धरहराबाट उपत्यका नियाल्न र कमलपोखरीमा टहलिन मिल्ने
१२ वैशाख ०७२ को भूकम्पमा ढलेको धरहरा पूनर्निर्माण भइसकेको छ । तर, धरहरा क्षेत्रमा थुप्रै संरचना निर्माणकै चरणमा छन् । १२ वैशाख ०७८ मै तत्कालीन प्रधानमन्त्री केपी ओलीले निर्माण नसकिँदै धरहराको उद्घाटन गरेका थिए । धरहरा निर्माणले अपेक्षाकृत गति नलिए पनि आगामी पाँच वर्षभित्र काम सकिनेछ । यो अवधिमै सर्वसाधारणले धरहराको टुप्पोमा पुगेर सहर नियाल्न पाउनेछन् । 

राट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिएसँगै गत ९ पुसदेखि भवन निर्माण विभागले धरहराको बाँकी निर्माणको जिम्मा लिएको छ । ‘हामीले धरहरा क्षेत्रमा भइरहेको निर्माणका सबै काम हेरिरहेका छौँ,’ विभागका महानिर्देशक पद्म मैनालीले भने, ‘पहिलाकै कामलाई निरन्तरता दिएको मात्रै हो ।’ विभागले जिम्मा लिएको दुई महिनामा विगतको तुलनामा कामदारको संख्या बढाएर निर्माणलाई गति दिएको जनाएको छ । 

हनुमानढोका दरबार क्षेत्रभित्र रहेकोे काष्ठमण्डप पनि अबको पाँच वर्षभित्र सर्वसाधारणका लागि खुला हुनेछ । पुनर्निर्माण सकिए पनि गोरखनाथ मूर्ति परिवर्तन गरिएको र चार गणेश बेवारिसे राखिएको भन्दै सम्पदा अभियन्ता सर्वोच्च अदालत पुगेपछि काष्ठमण्डप सर्वसाधारणका लागि तत्काल खुला हुन सकेको छैन । भूकम्पका कारण पूर्ण क्षति भएको काष्ठमण्डप उपभोक्ता समितिमार्फत पुनर्निर्माण भएको हो । त्यस्तै, दरबार क्षेत्रभित्रकै नौतले दरबारलगायत सम्पदा पनि पुनर्निर्माण सम्पन्न हुने चरणमा छ । आगामी पाँच वर्षभित्र ती सम्पदाको पुनर्निर्माण सम्पन्न हुने पुरातŒव विभागअन्तर्गत हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । भक्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्रभित्रका मुख्य सम्पदाको पुनर्निर्माण पनि सकिएको छ । 

गुरुयोजनाअनुसार दुई चरणमा कमलपोखरी पुनर्निर्माण हुँदै छ । पहिलो चरणअन्तर्गत काम सकाएर उद्घाटनसमेत भइसकेको छ । काठमाडौं– १ मा पर्ने यो पोखरीको पुनर्निर्माण गर्न र सौन्दर्य बढाउन धनञ्जय कँडेल जेभीले करिब नौ करोड ३६ लाखमा ठेक्का पाएपछि १९ असार ०७६ मा शिलान्यास भएको थियो । पार्कभित्र पोखरीवरिपरि ठूला–ठूला ढुंगा छापेर सिँढी बनाइएका छन् । पोखरीको सौन्दर्य हेर्नका लागि पूर्वतर्फबाट ६० मिटरभित्र पुग्ने बाटो र झिँगटीको छानोयुक्त मण्डप बनाइएको छ । यस्तै, पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने चार मण्डप बनाइएका छन् । मण्डपमा पुग्न कलात्मक सिँढीहरू बनाइएका छन् । चार कुनामा साना–साना पोखरी बनाएर कमल रोपिएको छ । आगन्तुकलाई बस्न चौतारा बनाइएका छन् । पोखरीमा प्रवेश गर्न पूर्वतिर मूल गेट राखिएको छ भने अन्य तीन कुनामा प्रवेशद्वार बनाइएको छ । यसरी पुनर्निर्माण गुरुयोजनाअनुसार पहिलो चरणअन्तर्गत पोखरी र पोखरी संरचनासँग जोडिएका काम सकिएका छन् । दोस्रो चरणमा पोखरीको दक्षिणतर्फ साबिकमा प्रहरी बिट भएको ठाउँलगायत क्षेत्रमा पार्क निर्माण र हरियाली विकास, खुला शारीरिक व्यायाम स्थल, ब्याटमिन्टन र बास्केटबल कोर्टलगायत संरचना बनाइनेछ । दोस्रो चरणको काम आगामी पाँच वर्षमा सकेर पनि सञ्चालनमा आउनेछन् ।

लक्ष्यअनुसार काम भए रेल चढेर काठमाडौं घुम्न मिल्ने
स्थानीय तहको चुनावताका आयोजना हुने हरेक आमसभामा काठमाडौं महानगरवासीलाई दुई वर्षभित्रै मोनोरेल चलाउने आश्वासन बाँडेका विद्यासुन्दर शाक्यले चार वर्षसम्म लगानीकर्तासमेत नभेटेपछि पछिल्लो समय त्यसबारे चर्चा हुन छाडेको छ । महानगरपालिकाले चक्रपथमा रेलको सम्भाव्यता अध्ययनका लागि ११ जेठ ०७५ मा चीनको चाइना रेल्वे २५औँ ब्युरो ग्रुप (सिआरसिसी) कम्पनीलाई दिएको थियो । महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशयपत्रमा सिआरसिसीले २० वैशाखमा महानगरमा इच्छापत्र पेस गरेको थियो । ११ जेठमा सम्झौता भएको थियो । सम्झौताअनुसार सिआरसिसीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपनालगायत पक्षमा अध्ययन गरेर ६ महिनामा प्रतिवेदन बुझाएको थियो । त्यतिवेला पनि मेयर शाक्यले आफ्नै पालामा मोनोरेल चलाउने प्रतिबद्धता जनाएका थिए । लगानीकर्ता भेटिनेबित्तिकै महानगरले विस्तृत परयोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गर्ने भएको छ । लक्ष्यअनुसार काम भए आगामी पाँच वर्षमा महानगरले रेल सञ्चालनमा ल्याउन सक्छ । 

रेल विभाग पनि सातदोबाटो–रत्नपार्क–चक्रपथ मेट्रोरेलको डिपिआर तयार गर्ने क्रममा छ । लगानी बोर्डले बूढानीलकण्ठ–नारायणगोपालचोक–रत्नपार्क–सातदोबाटो–खोकना खण्डमा मेट्रोरेल कुदाउने योजना बनाएको छ । बोर्डले ०७४ मा गरेको अध्ययनले निर्माण थालेको चार वर्षभित्र काठमाडौंमा रेल गुडाउन सम्भव रहेको देखाएको थियो । रेल निर्माणको कामले खासै गति लिन नसके पनि आगामी पाँच वर्षभित्र लक्ष्य पूरा गर्न सकिने सम्भावना छ । 

जता हेर्‍यो त्यतै पार्क
काठमाडौं महानगरभित्र ८० भन्दा धेरै पार्क निर्माण हुँदै छन् । महानगरले एक वडा एक पार्कको अवधारणासमेत ल्याएको छ । मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिले अहिलेसम्म साना–ठूला गरी करिब ७० पार्क निर्माणको काम अघि बढाएको बताए । ‘महानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको छ,’ शाक्यले भने, ‘अहिलेसम्म करिब ७० वटा पार्क निर्माणको काम अघि बढेको छ । कुनै वडामा १०–१२ वटा पार्क पनि बनेका छन्, कुनैमा एउटा मात्रै भए पनि बनेको छ ।’ महानगरले स्थानीयको मागअनुसार ओपन जिमका सामग्रीदेखि अकुपञ्चर धारणामा पार्क निर्माण गरिएका छन् । काठमाडौंका अन्य तह तथा ललितपुर र भक्तपुरका स्थानीय तहले पनि पाक निर्माणलाई प्राथमिकतामा राखेका छन् । यही गतिमा पार्क बन्ने हो भने पाँच वर्षभित्र जता हे¥यो, उतै पार्क देखिने उपत्यका बन्नेछ । 

आकर्षक फुटपाथको सहर बन्दै
काठमाडौंका अधिकांश भद्रगोल फुटपाथ अचेल आकर्षक देखिन थालेका छन् । दरबारमार्ग, पुतलीसडक, माइतीघर, थापाथलीलगायत सडकखण्डमा भएका फुटपाथ हेर्दै आनन्द लाग्ने रंगीन बनेका छन् । सडक डिभिजन काठमाडौंले फुटपाथ मर्मतसम्भार गरेर आकर्षक बनाएको हो । हाल तिनकुने–कोटेश्वर, गल्फुटार–मन्डिखाटार, तिनकुने–तिलगंगा–गौशाला सडकखण्डमा रहेका फुटपाथमा समेत मर्मतसम्भार भइसकेको छ । काठमाडौं सडक डिभिजनका इन्जिनियर सुनित केसीका अनुसार दुई करोड लागतमा हालसम्म साढे तीन किलोमिटर फुटपाथ पुनर्निर्माण भइसकेको छ । तीन किलोमिटरमा निर्माण गर्दै छ । जसअन्तर्गत नयाँ बानेश्वरबाट शंखमूलतिरको फुटपाथ बनाउन टेन्डर गरिसकेको छ । कालीमाटी–छाउनी तथा रत्नपार्क–रानीपोखरी सडक खण्डमा पनि फुटपाथ बन्दै छ ।

‘काठमाडौंका सडकहरूमा साँघुरा फुटपाथ छन् । त्यसमाथि दशकअघि सडक विस्तारका क्रममा बनाइएका फुटपाथ बिग्रिने, भत्किने, भासिने भएपछि नयाँ ब्लक बिछ्याइएको हो,’ उनले भने, ‘यो नियमित कार्य नै हो । तर, आकर्षक र आधुनिक फुटपाथ बनाउने प्रयास भएको छ ।’

सुरुङमार्गमा सरर
राजधानी काठमाडौं भित्रिने तथा बाहिरिने मुख्य नाका नागढुंगामा सुरुङमार्ग बन्दै छ । जापानको सहुलियत ऋणमा निर्माणाधीन सुरुङ लक्ष्यअनुसार २०२३ अप्रिलमा सकिनुपर्नेछ । धादिङ र काठमाडौं जोड्ने सुरुङमार्गले नागढुंगाको सवारी जामलाई व्यवस्थित मात्रै गर्नेछैन, यात्रा पनि छोट्याउनेछ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत १६ अर्ब ६३ करोड ६० लाख रुपैयाँ (१६ हजार ६ सय ३६ मिलियन येन) सहुलियत ऋणमा निर्माण भइरहेको सुरुङको ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ । 

काठमाडौं र ललितपुर स्मार्ट सिटी
०७४ को स्थानीय निर्वाचनताका काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आफ्नो चुनावी घोषणापत्रमै काठमाडौंलाई स्मार्ट सिटी बनाउने घोषणा गरे । चुनाव जितेलगत्तै सय दिनमा एक सय एक काम गर्ने घोषणा गरे । तर, पाँच वर्ष बित्न लाग्दा पनि ती कामले गति लिन सकेको छैन । तैपनि आगामी पाँच वर्षमा स्मार्ट सिटीका लागि केही आधार भने तयार हुने देखिएको छ । सहरलाई स्मार्ट बनाउने अभियानअन्तर्गत सही समयका लागि ‘सही ठाम, नो ट्राफिक जाम’ अभियान, ‘भोकरहित जनता, शोकरहित महानगर’का लागि सुपथ मूल्यको ‘मेयर फुड पार्लर’ स्थापना, ‘स्मार्ट भर्टिकल कार पार्किङ’ बनाउने, अपांग, बालबालिकामैत्री शौचालय सुविधासहितको बस सेवा सुरु गर्ने, ‘कार पार्किङ मल’ सुरु गर्ने लक्ष्य छ । भक्तपुरको हनुमन्तेदेखि कटवाल दहसम्म बागमती किनार हुँदै केवल बसको सम्भाव्यता अध्ययन आरम्भ गर्ने, ‘क्लिन द सिटी’ अभियानअन्तर्गत ‘नो मास्क सिटी’ अभियान, दक्ष पथप्रदर्शकसहितको सुविधासम्पन्न टुरिस्ट बस सञ्चालन गर्ने, ‘स्मार्ट सिटी’को पूर्वाधारका लागि चाहिने ‘तीव्र गतिको ब्रोडब्यान्ड’को स्थापना गरी प्रारम्भ गर्ने योजना पनि छ । यी सबै योजनाको केही न केही काम भएकाले आगामी पाँच वर्षमा प्रगति दखिने अपेक्षा गर्न सकिन्छ । 

स्मार्ट सिटी बनाउने घोषणा गरिएअनुसार धेरै काम भइरहेको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन बताउँछन् । उनका अनुसार नेपालमा स्मार्ट सिटीको परिभाषा नभए पनि अरू देशको नक्कल गर्दैै केही काम भइरहेको छ । ललितपुर महानरभित्र स्मार्ट सिटीको अवधारणाअनुसार साढे ३२ किलोमिटर साइकल लेन बनिसकेको छ । करिब १६ किलोमिटर साइकल लेन निर्माणका लागि डिजाइन तयार भइसकेको छ । दोस्रो चरणमा एक हजार सडक बत्ती राख्न प्राविधिक मूल्यांकनको काम भइसकेको छ । महानगरलाई ग्रिन एन्ड क्लिन बनाउन लगनखेलमा ४० रोपनीमा कमलको फूल फुलाउने र पार्क बनाउने अवधारणाअनुसार काम सुरु भएको छ । बहुवर्षे यो योजना अबको पाँच वर्षमा सञ्चालन हुनेछ । महानगरभित्रका २९ किलोमिटर भित्री सडक सञ्जालको विकास भएको छ । अन्य ठाउँमा पनि विकास गरिँदै छ । पाटन क्षेत्रलाई चौबिसै घन्टा चलायनमान सहर बनाउनका लागि काम थाल्ने, कुनै पनि खालका विपत्को घटना हुँदा सबै सेवा एकै ठाउँबाट दिन मिल्ने अवस्था सिर्जना गर्नसमेत तयारी भइरहेको छ । 

‘एक सय १६ देशले स्मार्ट सिटीलाई परिभाषित गरेर काम गरेका छन् । हामीले त कपी गर्ने त हो,’ मेयर महर्जनले भने, ‘ओपन स्पेस राख्ने, हरियाली बनाउने, रातको समयमा जहाँ पनि सुरक्षित हिँड्न सक्ने महानगर बनाउने अवधारणाअनुसार काम गरिरहेका छौँ ।’ ललितपुर महानगरले सडक सफा गर्न तीनवटा ब्रुमरको व्यवस्थासमेत गरेको छ । 

मेलम्चीसँगै याङ्ग्री र लार्केको पानी उपत्यकावासीको धारामा
२२ वर्षसम्मको लामो प्रतीक्षापछि १५ चैतमा ०७७ मा मेलम्चीको पानी काठमाडौंका केही क्षेत्रका बासिन्दाले प्रयोग गर्न पाएका थिए । तर, १ असार र १५ साउन ०७८ मा मेलम्चीमा आएको बाढीले आयोजना क्षेत्रमा क्षति गरेपछि पानी आउन छाडेको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार पुनः पानी ल्याउने योजना अन्तिम चरणमा पुगेको छ । ‘हामीले हेडवक्र्स सफा गर्ने र बाढीका कारण क्षति पुगेको १, ९ र ३८ नम्बर गेट मर्मत गरिसकेका छौँ,’ उनले भने, ‘ग्याल्थुमदेखि अम्बाथानसम्मको सुरुङमा अझै केही मात्रामा फोहोर पानी छ । त्यसलाई सफा गरेपछि वैकल्पिक माध्यमबाट पानी ल्याउने सकिने अवस्था छ ।’ ०८१ भित्रै याङ्ग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी ल्याउने योजना छ । यो लक्ष्य पूरा भए पाँच वर्षभित्र उपत्यकाको खानेपानी समस्या धेरै हदसम्म समाधान हुनेछ । 

चार नयाँ व्यवस्थित सहर पनि बन्दै
विभिन्न नगरपालिका जोडिने गरी उपत्यकामा चार नयाँ सहर बन्ने भएका छन् । नयाँ सहर निर्माणका लागि उपत्यका विकास प्राधिकरणको तयारी अन्तिम चरणमा पुगेको छ । प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमै योजना सुरु हुनेछ । एउटा एक लाख रोपनीमा र बाँकी १० हजार रोपनीमा बन्नेछन् । 

भक्तपुर, चाँगुनारायण, कागेश्वरी–मनोहरा क्षेत्रको एक लाख रोपनीमा एउटा सहर निर्माण हुनेछ । १० हजार रोपनीमा बन्ने तीनमध्ये एउटाले भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकालाई समेट्नेछ । अर्कोले काठमाडौंको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकालाई समेट्नेछ । त्यस्तै, तेस्रो सहर ललितपुर महानगर र गोदावरी नगरपालिका क्षेत्रभित्र पर्नेछ । प्राधिकरणले तीन वर्ष लगाएर सहर निर्माणको योजना तयार पारेको हो । चालू आर्थिक वर्षबाट सुरु हुने आयोजनाका लागि दुई खर्ब ८६ अर्ब लाग्ने भएको छ । चालू आबबाट सुरु हुने आयोजनाअन्तर्गत १० हजार रोपनीका लागि पाँच वर्ष समयसीमा तोकिएको छ । एक लाख रोपनीमा निर्माण हुने आयोजनाका लागि सात वर्ष तोकिएको प्राधिकरणले जनाएको छ । तीन वर्षअगाडि नै योजना तयारी थालिएकाले कतिपय ठाउँमा भने जग्गा रोक्का गरिएको छ । 

काठमाडौं महानगरपालिकाले १० ठाउँमा अकासे पुल निर्माण गर्दै छ । माइतीघर र चाबहिलमा मात्र पुल निर्माण भइसकेको छ । धोबीखोला, मित्रपार्क र पशुपतिनजिकैको अर्को पुलका लागि टेन्डर आह्वान भएको छ । तीन ठाउँमा निर्माण गरेपछि आवश्यकताअनुसार अन्य ठाउँ खोज्ने महानगरले जनाएको छ । 

चक्रपथको दोस्रो खण्ड विस्तार, बाहिरी चक्रपथको पनि प्रयोग 
चक्रपथको दोस्रो खण्ड कलंकी–धोबीघाट–चाबहिल विस्तारको तयारी भइरहेको छ । यसका लागि निर्माणस्थलका संरचना हटाउने काम भइरहेको छ । पहिलो खण्डअन्तर्गत आठ लेनको कोटेश्वर–कलंकी सडकखण्ड तीन वर्षअघि नै सम्पन्न भइसकेको छ । पाँच वर्षभित्र सोहीबराबरको दोस्रो खण्ड पनि सकिनेछ । त्यस्तै, उपत्यकाका तीन जिल्ला जोड्ने ७१.९३ किलोमिटर लामो बाहिरी चक्रपथ निर्माणका लागि तत्कालीन सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सबै अड्चन र कठिनाइलाई चिर्दै मन्त्रालयबाट १४ वैशाख ०७४ मा सम्पूर्ण निर्णय प्रक्रियालाई पूर्ण रूप दिइएको बताइएको थियो । ०७५ देखि चक्रपथ निर्माणको प्रथम चरणका रूपमा चोभार, गाम्चा र सतुंगल खण्डको ६.६ किलोमिटरमा निर्माण सुरु गर्ने भनिएको थियो । जुन ढिलै भए पनि निर्माणको चरणमा छ । चक्रपथको कुल लम्बाइमध्ये काठमाडौंमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० किलोमिटर र भक्तपुरमा २१.०५ किलोमिटर हुनेछ । बाहिरी चक्रपथको अवधारणा काठमाडौं उपत्यकाका तीनवटै सहर र अन्य नगरपालिकालाई एउटै सडक सञ्जालको माध्यमबाट आपसमा जोडेर व्यवस्थित सहरीकरण गर्ने दीर्घकालीन सोचअनुरूप तयार भएको थियो । बाहिरी चक्रपथ आयोजना निर्माण कार्य सुरु भए जग्गा विकास (ल्यान्ड पुलिङ) प्रविधि र प्रक्रिया अपनाएर निर्माण गर्न लागिएको नेपालकै पहिलो सडक हुनेछ ।

त्यस्तै, धोबीखोला करिडोरको पहिलो खण्डअन्तर्गत बागमती दोभानदेखि चाबहिल चक्रपथमा पर्ने बैजनी पुलसम्म ट्र्याक खोल्ने काम भइसकेको छ । खोलाको दुवैतर्फ साढे पाँच किलोमिटर गरी कुल ११ किलोमिटर लम्बाइ र नौ मिटर चौडाइ रहेको सडक निर्माण गरिएको छ । दोस्रो खण्डअन्तर्गत भने बैजनी पुलदेखि कपन भंगालमा रहेको पुलसम्म खोलाको दुवैतर्फ चार किलोमिटर गरी कुल आठ किलोमिटर लम्बाइ र नौ मिटर चौडाइ सडकको काम पनि सम्पन्न भइसकेको छ । तेस्रो खण्डमा कपन भंगाल पुलदेखि राममन्दिर क्षेत्रसम्मको सडक पर्छ । यसको लम्बाइ साढे दुई किलोमिटर दुवैतर्फ गरी पाँच किलोमिटर छ । जुन चालू आवभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको काठमाडौं जिल्ला आयुक्त दिनेशकृष्ण पोतेले बताए ।

उदाहरणीय जापानको फोहोर व्यवस्थापन

जापानले विकास गरेको फोहोर व्यवस्थापन अभ्यास अन्य विकसित  देशमा पनि प्रयोग हुन थालेको छ

फाेहोर व्यवस्थापन, त्यसमा पनि ठोस फोहोर व्यवस्थापन विश्वभरका महानगर तथा नगरहरूको टाउकोदुखाइको विषय रहने गरेको छ । ठोस फोहोर व्यवस्थापनमा विश्वभरका सहरहरूले विभिन्न प्रयोग गरिरहेका छन् । यद्यपि, जापान र त्यहाँका महानगरहरूले धेरै पहिलेदेखि नै यो क्षेत्रमा उत्कृष्ट काम गरिरहेका छन् । यसैकारण युरोपेली र अमेरिकीसमेत जापान पुग्दा यहाँको सरसफाइको प्रशंसा गर्ने गर्छन् । 

जापानको ठोस फोहोर व्यवस्थापनको सुरुवात अन्यत्रझैँ फोहोर संकलनबाटै सुरु हुन्छ । तर, यहाँ सरकारले फोहोरको वर्गीकरण सम्बन्धमा विशेष कडाइ गरेको छ । अर्थात् जापानमा फोहोर सड्ने, नसड्नेजस्ता विभिन्न प्रकृति हेरेर ३० वटासम्म अलग–अलग वर्गीकरणमा छुट्याइएको हुन्छ । यसले फोहोर वा प्रयोगहीन भएर फाल्न राखिएका घरायसी सरसामानमध्येबाट पुनः प्रयोग गर्न मिल्ने सामग्री छुट्याउन सघाएको छ । पुनः प्रयोगअन्तर्गतका विधि ‘रियुज र रिसाइलक’लाई उच्च प्राथमिकता दिएको देखिन्छ । यसका लागि उसले सन् १९९० बाट रिसाइकल विधेयक नै ल्याएको छ ।

फोहोर संकलकले जम्मा गरेका फोहोरबाट पुनः प्रयोग हुने धातुलगायतका वस्तुलाई छुट्याएपछि त्यसलाई उच्च तापयुक्त इन्सिनेरेटरमा पोलिन्छ । इन्सिनेरेटरले फोहोरको आयतनलाई ९० प्रतिशतसम्म घटाइदिन्छ । साथै तातोका कारण फोहोरमा रहेका संक्रमणजन्य कीटाणु पनि मर्छन् । फोहोर जलाउने इन्सिनेरेसनको प्रविधि यसरी प्रयोग गरिन्छ कि त्यसबाट शून्य कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ । धुवाँ विभिन्न च्याम्बर हुँदै अघि बढाएर त्यसको विशाक्त ग्यासलाई सोस्ने प्रविधि विकास गरिएको छ । 

सन् २०१७ मा जापानभर एक हजार दुई सय ठोस फोहोर जलाउने इन्सिनेरेसन केन्द्र थिए । जसमध्ये केही संयन्त्रले फोहोर पोल्दा निस्किएको तापलाई बिजुली उत्पादन गर्न प्रयोग गरिरहेका छन् । इन्सिनेरेसनको उच्च तापमा जलेपछि फोहोरको कुल तौलको १० प्रतिशत खरानी बन्छ, जसलाई जापानभरका १६ सय (सन् २०१६ को तथ्यांक) ल्यान्डफिल्ड क्षेत्रमा विसर्जन गरिन्छ । जापानले विकास गरेको फोहोर व्यवस्थापन अभ्यास अन्य विकसित देशमा पनि प्रयोग हुन थालेको छ । जापानभित्रै भने यो विधिलाई पनि थप परिष्करण गरेर अझ किफायती र प्रभावकारी बनाउने उपायबारे अध्ययन भइरहेको छ । जापान यी प्रविधिको प्रयोगमार्फत शून्य फोहोर निकाल्ने देश बन्न चाहन्छ । 

ad
ad