१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o८:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नौ महिनामा साढे २७% पुँजीगत खर्च 

तीन महिनामा साढे ७२ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने चुनौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:३९:oo

चालू आर्थिक वर्षको नौ महिना सकिँदा सरकारले बजेटको एकचौथाई मात्रै पुँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत मसान्तसम्ममा सरकारले एक खर्ब तीन अर्ब ७८ करोड रुपैयाँ पुँजीगत खर्च गर्न सकेको छ । जुन विनियोजित पुँजीगत बजेट तीन खर्ब ७८ अर्ब नौ करोडको २७.४५ प्रतिशत मात्रै हो । 

समयमै पुँजीगत खर्च नहुने प्रवृत्तिले निरन्तरता पाइरहेको छ । सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको प्रभाव बैंकिङ प्रणालीको तरलता, ब्याजदरलगायत समग्र अर्थतन्त्रमै परेको छ । ढिलागरी बजेट आउनु, बजेटविहीन अवस्था हुनु, प्रणाली तथा संरचनामै समस्या हुनुलगायत कारण पुँजीगत खर्च समयमै हुन नसकेको अर्थ मन्त्रालयले बताउँदै आएको छ । 

चालू आर्थिक वर्षको नौ महिनामा साढे २७ प्रतिशत मात्रै खर्च गर्न सकेको सरकारले अबको बाँकी अवधिमा साढे ७२ प्रतिशत खर्च गर्नुपर्नेछ । अर्थमन्त्री जनार्दन शर्माले चैतदेखि खर्च बढ्ने भएकाले बाँकी अवधिमा खर्च हुने दाबी गर्दै आएका छन् । यद्यपि, अब राज्य चुनावमा बढी केन्द्रित हुने भएकाले बाँकी अवधिमा तीनचौथाई खर्च गर्न चुनौतीपूर्ण हुने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

चैतमा ७ प्रतिशत खर्च, मासिक लक्ष्यको नजिक
सरकारले मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ । तर, हालसम्म उक्त लक्ष्य भेट्न सकिएको छैन । चैत महिनामा भने पुँजीगत खर्च गर्न लिएको लक्ष्य नजिक सरकार पुगेको छ । चैत महिनामा मात्रै ७.०५ प्रतिशत अर्थात् २६ अर्ब ६४ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । फागुन मसान्तसम्ममा सरकारले विनियोजित पुँजीगत बजेटको २०.४ प्रतिशत 
अर्थात् ७७ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च गर्न सकेको थियो । त्यसअघि माघ मसान्तसम्ममा पुँजीगत खर्च १६.०८ प्रतिशत पुगेको थियो । 

गत वर्षको भन्दा कम खर्च 
सरकारले चैत मसान्तसम्म गरेको पुँजीगत खर्च गएको वर्षको सोही अवधिको तुलनामा २.५४ बिन्दु प्रतिशतले कमी हो । गएको वर्षको चैत मसान्तसम्ममा सरकारले विनियोजित पुँजीगत बजेटको २९.९९ प्रतिशत अर्थात् एक खर्ब पाँच अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको थियो । 

कुल खर्च ६ खर्ब ९० अर्ब पुग्यो 
चैत मसान्तसम्ममा सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । जुन कुल विनियोजित वार्षिक बजेट १४ खर्ब ७४ अर्बको ४६.८२ प्रतिशत हुन आउँछ । यसमध्ये चालूतर्फको खर्च पाँच खर्ब २७ अर्ब पुगेको छ । जुन विनियोजित चालू बजेटको ५५.५४ प्रतिशतबराबर हुन आउँछ । सरकारले चैत मसान्तसम्ममा वित्तीय व्यवस्थातर्फ ५७ अर्ब ५८ करोड खर्च गर्न सकेको छ । जुन विनियोजित वार्षिक बजेटको ३३.३३ प्रतिशत हुन आउँछ । 

लक्ष्यको साढे ६७ प्रतिशत राजस्व
यस अवधिमा सरकारले वार्षिक लक्ष्यको साढे ६७ प्रतिशतबराबर राजस्व संकलन गरेको छ । महालेखाका अनुसार चैत मसान्तसम्ममा ६ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जुन वार्षिक लक्ष्यको ६७.५९ प्रतिशत हो । यसमध्ये कर राजस्व ६ खर्ब ३६ अर्ब ६९ करोड रुपैयाँ र गैरकर राजस्व ४७ अर्ब १७ करोड रुपैयाँ संकलन गरेको हो । हालसम्म सरकारको कुल प्राप्ति सात खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । 

ad
ad