१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिचन्द्र कलेज बचाउ अभियानमा विद्यार्थी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:o७:oo

एक सय चार वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था दयनीय बनेपछि विद्यार्थीहरू कलेज बचाउ अभियानमा लागेका छन् । ०७२ को भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ । अर्कोतर्फ विद्यार्थीको पठनपाठनमा ठूलो समस्या भएको छ । 

त्रिचन्द्र कलेजको घन्टाघरतर्फको भवन १९७५ सालमै बनेको थियो । त्यतिवेला १४ महिनामा बनेको यो भवन भूकम्पले क्षति पुर्‍याएको ६ वर्ष बित्दा पनि पुनर्निर्माण हुनसकेको छैन । भारतको ऋण सहयोगमा बनाउने सम्झौता भए पनि निर्माण प्रक्रिया नै सुरु भएको छैन । भूकम्पले चर्किएका भवनमा बर्खाको पानी छिर्दा झन् गलेका छन् । 

विद्यार्थीहरूले घन्टाघरमा ‘सेभ घन्टाघर’ भन्ने ब्यानरसमेत राखेका छन् । ‘त्रिचन्द्र क्याम्पस र घन्टाघर बचाउन पुनर्निर्माणका लागि दबाब दिन हस्ताक्षर संकलन र घन्टाघरमा ब्यानर राखेका छौँ,’ विद्यार्थी टेकराज भट्टले भने ।

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण ओझेलमा परेपछि सो क्याम्पसमा पढेका पूर्वविद्यार्थी तथा नेताहरूलाई हारगुहार गरेका छन् । त्रिचन्द्र पढ्दा विद्यार्थी राजनीतिबाट चर्चित बनेका कांग्रेस महामन्त्री एवं सांसद गगन थापाको समेत हस्ताक्षर गराउने तयारी भएको विद्यार्थी भट्टले बताए । हस्ताक्षर संकलन गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने कार्यक्रम छ । 

कलेजमा भौतिक रूपमा कक्षा सञ्चालन कठिन
कोभिड महामारीपछि भौतिक रूपमै कक्षा सञ्चालन भएपछि विद्यार्थीका लागि कक्षाकोठा नै अभाव भएको छ । क्याम्पस प्रशासनलाई घन्टाघरतर्फका भवनमा भएका आठवटा विभाग कहाँ सार्ने र कहाँ पढाउने भन्ने चिन्ता थपिएको छ । यसअघि नै क्याम्पस प्रमुख सुनील अधिकारीले ४० कोठा अभाव रहेको बताएका थिए । क्याम्पस प्रमुखलगायतको टोलीले तत्कालीन पुनर्निर्माण प्राधिकरणमा पुगेर समस्या सुनाएका थिए । अहिले प्राधिकरण छैन । त्यसको जिम्मेवारी शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा आएको छ । पुनर्निर्माण प्राधिकरणले क्याम्पस पुनर्निर्माणमा दुई अर्ब खर्च लाग्ने अनुमान गरेको छ । 

भारतको ऋण सहयोगमा पुनर्निर्माण गर्ने सम्झौता भएका त्रिचन्द्र क्याम्पससहित त्रिविका विभिन्न आंगिक क्याम्पस र ३८ कार्यालय ६ वर्षसम्म अलपत्र छन् । ०७२ वैशाखको भूकम्पमा चर्किएर ‘रेड स्टिकर’ लगाइएका त्रिभुवन विश्वविद्यालयका ३२ आंगिक क्याम्पसमा ६ वर्षसम्म पुनर्निर्माण नहुँदा जोखिमपूर्ण अवस्थामै पढाइ हुने गरेको छ । नयाँ भवन नबनेपछि ‘रेड स्टिकर’ हटाएर चर्किएका भवनमै कक्षा सञ्चालनसमेत गरिएका छन् ।

सरकारले त्रिविका ३२ आंगिक क्याम्पस, त्रिवि स्मृति भवन, होस्टेललगायत गरी ३८ संस्था र दोलखाको जिरी प्राविधिक शिक्षालय भारतको एक्जिम बैंकको ऋण सहयोगमा पुनर्निर्माण गर्ने सम्झौता भारत सरकारसँग गरेको थियो । ऋण सहयोग भारतको हुने र परामर्शदाता नेपालको रहने सम्झौतामा उल्लेख छ । 

ad
ad