१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ चैत १५ मंगलबार ०६:२५:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री देउवाको भारत भ्रमण : के छन् काठमाडौं र दिल्लीका चासो ?

Read Time : > 5 मिनेट
२०७८ चैत १५ मंगलबार ०६:२५:००

प्रधानमन्त्री बनेको साढे आठ महिनापछि देउवाको भारत भ्रमण, शुक्रबार दिल्ली जाने, शनिबार उच्चस्तरीय भेटवार्ता

दुई देशका भिन्दाभिन्दै चासो र अपेक्षाबीच प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बनेको साढे आठ महिनापछि देउवाको भारत भ्रमणको चाँजोपाँजो मिलेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण सकिएको एक सातापछि उनी दिल्ली जाँदै छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित देउवाको गत पुसमै भारत भ्रमणको तयारी भएको थियो । तर, ओमिक्रोन महामारीले रोकिएको देउवाको भ्रमण तीन महिनापछि पुनः तय भएको हो ।

सोमबार नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकैसाथ देउवाको भारत भ्रमण सार्वजनिक गरेका छन् । कोरोना महामारीको दुई वर्षपछि पहिलोपटक नेपाल र भारतबीच उच्चस्तरीय भेटवार्ता हुन लागेको छ । 

संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै उल्टाइदिएपछि देउवा प्रधानमन्त्री बनेका थिए, जसमा भारतको सकारात्मक ‘रेस्पोन्स’ थिएन । सोही कारण प्रधानमन्त्री देउवाको छिमेक भ्रमण ढिला भएको हो ।

प्रधानमन्त्री देउवाको भ्रमणमा नेपाल र भारतका फरक–फरक चासोहरू सम्बोधनको कोसिस हुने सरोकारवालाहरूको बुझाइ छ । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा हुन थालेको देउवाको भ्रमण राजनीतिक रूपमा महŒवपूर्ण छ, जसले संघीय चुनाव र त्यसपछिको सरकारसम्मको चासोलाई बोक्ने जानकारहरू बताउँछन् । 

तर, पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा भ्रमण हुनु संयोग मात्रै रहेको तर्क गरे । ‘भ्रमणको समय र स्थानीय निर्वाचनको नजिकिँदै गरेको मिति संयोगभन्दा बढी केही पनि होइन,’ महतले भने, ‘मुख्य विषय भनेको उच्चस्तरीय भ्रमणमार्फत एक–अर्कामा विश्वास र सहकार्यको अभिवृद्धि गर्ने नै हो ।’ 

डा. महतले एमसिसीबारे लिएको निर्णयले नेपालको साख बचेको र महŒवपूर्ण मुद्दामा छलफल गर्न प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको बताए । ‘अहिले नेपाल सरकारको विश्वसनीयता बढेको छ, अमेरिका र चीनसँग विश्वासको सम्बन्ध स्थापित भएको अवस्थामा आपसी सद्भाव अभिवृद्धिसहित महत्वपूर्ण मुद्दामा छलफल गर्न प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको हो,’ डा. महतले भने, ‘अहिले छिमेकी मुलुक र अन्य अन्तर्राष्ट्रिय जगत्ले नेपालसँग संवाद अघि बढाउन खोजेका छन् । 

पूर्वपरराष्ट्रमन्त्री एवं भारतका लागि पूर्वराजदूत डा. भेषबहादुर थापाले पछिल्लोपटक छिमेकी चीन तथा अमेरिकासँग सम्पर्क र संवाद बढेको निरन्तरताका रूपमा भारतसँग उच्चस्तरीय संवाद हुन लागेको टिप्पणी गरे । ‘अहिले अन्तर्राष्ट्रिय तहमा द्वन्द्व बढेको छ, नेपालले होसियारीपूर्वक आफ्नो स्वतन्त्रता र असंलग्नताको विरासत जोगाउने र त्यसलाई निरन्तरता दिनेतर्फ अग्रसर हुनुपर्छ,’ थापाले नयाँ पत्रिकासँग भने ।

नेपाल–भारत सम्बन्धका जानकार एवं भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहताले दुई वर्षयता भारत र चीनबीचको सम्बन्धमा आएको परिवर्तनलाई नेपालले बुझ्नुपर्ने बताए । ‘परिवर्तित परिप्रेक्ष्यमा भारतको नयाँ सुरक्षा चासोलाई नेपालले सम्बोधन गर्नुपर्छ, नेपालको सुरक्षासहित आर्थिक चासोलाई भारतले सम्बोधन गर्नुपर्छ,’ मेहताले भने, ‘अहिले प्रधानमन्त्रीको भारत भ्रमणमा यही अपेक्षा छ ।’

मेहताले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणलगत्तै देउवाको भारत भ्रमण हुनुले दुई देशबीच सम्बन्धमा फरक नपर्ने बताए । ‘भारतको दृष्टिकोणमा वर्तमान सरकार भारतविरोधी होइन, भारतको पूरै समर्थक पनि होइन । नेपालमुखी सरकार भएको हुनाले भारतलाई देउवा सरकारसँग काम गर्न अहिले असहज छैन,’ मेहताले भने, ‘तर, भारतले अब स्थानीय निर्वाचनको परिणामले भविष्यमा बन्न सक्ने सत्तागठबन्धनको प्रारूपको संकेत गर्ने कुरा पनि भुल्नुहुँदैन ।’

नेपाल–भारत सम्बन्धका जानकार एवं बहुजन पार्टीका प्रवक्ता सुधिन्द्र भदोरियाले प्रधानमन्त्री देउवाको भारत भ्रमणमा परिवर्तित परिप्रेक्ष्यमा एक–अर्काको सुरक्षा चासोसहित सम्बन्धका सबै पक्षमा छलफल हुने बताए । ‘दुई देशबीच सुरक्षा, समृद्धि र साझा समस्याका विषयमा खुलेर छलफल हुनुपर्छ र त्यसको निचोड दुई देशका जनताबीचको सभ्यतादेखि रहँदै सम्बन्धमा थप विश्वास सिर्जना गर्नुपर्छ,’ भदोरियाले दिल्लीबाट टेलिफोनमा भने, ‘दुई देशबीच एक–अर्काको सम्मान हुनुपर्छ, एक–अर्काको समस्या दुवैले बुझ्नुपर्छ र सकारात्मक रूपमा समस्याहरू समाधान गर्नुपर्छ । त्यसमा यो भ्रमण सहयोगी हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ 

नेपाल र भारतमा हालै भएको चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणले दुई देशको सम्बन्धका आयाममा कुनै पनि फरक नपार्ने पनि उनले बताए । ‘लामो समयपछि संक्रमणबाट पार गरेको नेपाल र भारतबीचको सम्बन्ध कुनै अर्को देशसँग लक्षित छैन र हुनुहुँदैन । भारतको अन्य देशसँगको सम्बन्धले नेपालसँगको सम्बन्ध प्रभावित हुँदैन,’ भदोरियाले भने ।

पूर्वमेजर जनरल मेहताले देउवाको भ्रमणमा भारतले राजनीतिक चासो राख्ने संकेत गरे । ‘देउवा सरकारसँग सहकार्य गरिरहँदा भारतले प्रमुख प्रतिपक्ष एमालेसँग सम्बन्ध हार्दिक नै राखिरहन चाहन्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘स्थानीय निर्वाचनपूर्व यो भ्रमण हुन लागेकाले भारतले भावी चुनावका सम्भावित परिणामलाई समेत मध्यनजर राखेर नेपालको आन्तरिक राजनीतिक समीकरणसँग सन्तुलनकारी सम्बन्ध राख्ने प्रयास गर्नेछ ।’

तीन महिनाअघि २५ देखि २७ पुससम्म प्रधानमन्त्री देउवा गुजरात जाने र त्यहीँ भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने तय भएको थियो । भारत सरकारले आयोजना गरेको भाइब्रेन्ट गुजरात समिटमा देउवालाई निमन्त्रणा थियो । कोरोना र ओमिक्रोन महामारी बढेसँगै समिट स्थगित भएपछि देउवाको भ्रमण पनि स्थगित भएको थियो । 

दिल्लीदेखि उत्तरप्रदेशसम्म प्रधानमन्त्रीको कार्यतालिका
प्रधानमन्त्री देउवा शुक्रबार साँझ बाह्रखम्बा रोडस्थित नेपाली राजदूतावासमा आयोजित जलपान समारोहमा सहभागी हुनेछन् । उनले नेपाली समुदायलाई सम्बोधन गर्नेछन् भने नेपाल–भारत सम्बन्धका जानकार, भाजपा, भारतीय राष्ट्रिय कंग्रेस, जनता दल युनाइटेड, समाजवादी पार्टी र बहुजन समाज पार्टीका नेतासँग भेटवार्ता गर्नेछन् । त्यस्तै, नेपालका लागि पूर्वभारतीय राजदूत तथा अवकाश प्राप्त भारतीय सेनाका अधिकारीसँग सामूहिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ । 

शनिबार प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय सेनाले गार्ड अफ अनर दिनेछ जहाँ भारतीय प्रधानमन्त्री मोदीले देउवाको स्वागत गर्नेछन् । त्यसपछि प्रधानमन्त्री देउवा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गरेपछि उनीसँग भारतीय विदेशमन्त्री डा. एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतले शिष्टाचार भेट गर्नेछन् । 

शनिबार नै भारतीय प्रधानमन्त्री मोदीसँग देउवाको द्विपक्षीय औपचारिक वार्ता हैदराबाद हाउसमा हुनेछ । द्विपक्षीय वार्ताअघि तीन–तीनजना सहभागी रहने गरी देउवा र मोदीबीच बेग्लै ‘रेस्ट्रिक्टेड वार्ता’ हुनेछ । द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता सकेपछि दुई देशबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ भने जनकपुर–जयनगर रेलको भर्चुअल उद्घाटन हुनेछ । त्यसपछि देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । 

शनिबार नै भारतका व्यापारिक समुदायलाई सम्बोधन गरेर साँझ देउवा उत्तरप्रदेशको वाराणसी पुग्ने कार्यक्रम छ । देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने गरी कार्यक्रम तय भएको छ । परराष्ट्र अधिकारीका अनुसार देउवा शनिबार साँझ गंगा आरतीमा सहभागी हुनेछन् भने भोलिपल्ट बिहान काशी विश्वनाथ मन्दिरको दर्शन र पूजाआजा गरेर स्वदेश फर्किनेछन् । 

बिमस्टेकको पाँचौँ सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री कोलम्बोमा
श्रीलंकाले आयोजना गरेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को पाँचौँ शिखर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का सोमबार कोलम्बो पुगेका छन् । परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोलीलाई श्रीलंकाका यातायातमन्त्री दिलुम अमुनुगमा र क्षेत्रीय सहकार्य राज्यमन्त्री थाराका बालासुरियाले कोलम्बो विमानस्थलमा स्वागत गरेका छन् । 

मंगलबार बिमस्टेकका मन्त्रीस्तरीय बैठकमा डा. खड्का सहभागी हुने कार्यक्रम छ । सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताले बुधबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ । 

बिमस्टेकको चौथो शिखर सम्मेलन १४ र १५ भदौ ०७५ मा काठमाडौंमा भएको थियो । सम्मेलनको दोस्रो दिन १८ बुँदे काठमाडौं घोषणापत्र जारी भएको थियो भने नेपालले पाँचौँ सम्मेलनका लागि श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गरेको थियो । २० चैत ०७७ मा आयोजित परराष्ट्रमन्त्रीहरूको भर्चुअल बैठकले बिमस्टेकको बडापत्र टुंगो लगाउने सहमति गरेको थियो ।

भ्रमणका एजेन्डा 

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा जयनगर–जनकपुर रेल्वेको भर्चुअल उद्घाटन हुने कार्यक्रम छ । हैदराबाद हाउसबाट शनिबार प्रधानमन्त्री देउवा र मोदीले स्विच थिचेर रेलसेवा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्र स्रोतका अनुसार भारतले देशभरि एक सय ३७ स्वास्थ्य चौकी निर्माण गरिदिने, भक्तपुरमा हिन्दू मठ बनाउनेलगायतका सम्झौतामा पनि हस्ताक्षर हुनेछ । 

नेपालले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न गोरखपुरको आकाश भएर एयर इन्ट्री रुटका लागि पुनः आग्रह गर्ने भएको छ । नेपालले यसअघि पनि एयर इन्ट्री रुटका लागि अनुरोध गर्दै आएको थियो । त्यस्तै, हिउँदयाम सकिएपछि नेपाललाई बढी हुने विद्युत् (सरप्लस इनर्जी) खरिद गर्ने घोषणा गरिदिन नेपालले भारतलाई आग्रह गर्ने भएको छ । नेपालको व्यापार घाटा घटाउन यसले सहयोग पुग्ने नेपाली पक्षको अपेक्षा छ । यसबाहेक, सीमापार रेलमार्ग, रक्सौल–काठमाडौं रेलमार्गका विषयमा पनि छलफल हुने भएको छ । दुई देशबीच बाढी र डुबान नियन्त्रणका विषयमा पनि छलफल गर्ने तयारी छ ।  

नेपालको ल्याबबाट गुणस्तर प्रमाणित भएका नेपाली अदुवा, अलैँचीलगायतका उत्पादन भारतीय बजारमा निर्वाध प्रवेशका लागि नेपालले पुनः आग्रह गर्ने भएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर टुंग्याउने विषयमा प्रधानमन्त्री देउवाले मोदीसँग आग्रह गर्नेछन् । यसअघि प्रधानमन्त्री देउवाले ७ देखि ११ भदौ ०७४ मा भारत भ्रमणका वेला पनि पञ्चेश्वरबारे छलफल भएको थियो । दुई प्रधानमन्त्रीले परियोजनाको डिपिआर एक महिनाभित्रै टुंगो लगाउन सम्बद्ध अधिकारीलाई निर्देशन दिएका थिए । तल्लो शारदामा जाने पानीको मूल्यांकन गरेर बाँकी पानी बाँडफाँड गर्नुपर्ने नेपालको अडानमा भारत सहमत नभएका कारण डिपिआर टुंगिएको छैन । दुवै देशका प्राविधिक अधिकारीले उच्च राजनीतिक तहबाट मात्रै यो विषय टुंगिने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्री देउवाले इपिजीको प्रतिवेदनका विषयमा पनि चासो राख्ने गरी तयारी भएको छ ।