मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत १२ शनिबार
  • Monday, 27 July, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत १२ शनिबार o५:५९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक लाख म्यादी प्रहरीका लागि देशभरबाट दुई लाख ८९ हजार आवेदन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत १२ शनिबार o५:५९:oo

दुधेबालक बोकेर म्यादी प्रहरी बन्न लाइनमा

नौ महिनाको काखे सन्तान बोकेर म्यादी प्रहरीका लागि आवेदन दिन शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेको प्रांगणमा लाइनमा बसेकी खजुरा गाउँपालिका– ४ खजुराबजारकी १९ वर्षीया मनीषा सुनार । तस्बिर : विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका

स्थानीय तहको निर्वाचनका लागि मागिएको म्यादी प्रहरी भर्नामा झन्डै तीन गुणा बढी आवेदन परेको छ । एक लाख म्यादी प्रहरी भर्ना मागिएकोमा दुई लाख ८९ हजार चार सय ३१ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमा ५९ हजार चार सय ८९ महिला छन् । 

शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । भर्नामा निकै उत्साहजनक रूपमा देशैभरि दरखास्त परेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । सबैभन्दा धेरै दरखास्त मधेस र लुम्बिनी प्रदेशमा परेको छ । मधेसमा ६८ हजार ४९ तथा लुम्बिनीमा ५६ हजार एक सय ७४ दरखास्त परेको छ ।

त्यस्तै, प्रदेश १ मा ४९ हजार तीन सय ४२, बागमतीमा ४४ हजार तीन सय ८२, सुदूरपश्चिममा २८ हजार ६ सय एक र गण्डकीमा २४ हजार तीन सय ६९ दरखास्त परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबैभन्दा कम कर्णालीमा १८ हजार पाँच सय १४ दरखास्त छ । उपत्यकाका तीन जिल्लामा १३ हजार नौ सय ५० जनाले म्यादीमा भर्ना हुन इच्छा देखाएका छन् । 

पहिलो दिन आइतबार ३० हजार दुई सय ९९, सोमबार ५३ हजार दुई सय ९९, मंगलबार ५७ हजार एक सय ७६, बुधबार ५८ हजार दुई सय २१, पाँचौँ दिन बिहीबार ५१ हजार दुई सय १६ र अन्तिम दिन शुक्रबार ३९ हजार दुई सय पाँचजनाले आवेदन दिएका छन् । 

हरेक जिल्लाको संख्या तोकेर म्यादी प्रहरीमा भर्ना प्रक्रिया अघि बढाइएको छ । दरखास्त दिएकालाई आइतबार सम्पर्क गर्न भनिएको छ । १५ चैतदेखि छनोट प्रक्रिया सुरु हुने र २२ गते अन्तिम नतिजा प्रकाशन गरिने एसएसपी केसीले जानकारी दिए । शारीरिक तन्दुरुस्ती र अन्तर्वार्तामार्फत छनोट हुनेछ ।

२८ गतेदेखि प्रशिक्षण हुनेमा उनीहरूले ४० दिनको तबल–भत्ता पाउँछन् । उनीहरूले ३० हजार दुई सय ४० तलब, सात हजार दुई सय रासन भत्ता, ६ हजार पोसाकलगायत भत्ता खरिदका लागि पाउनेछन् ।