२०७५ फाल्गुण २७ सोमबार ११:२७:००
विजय कार्की

रातो मच्छिन्द्रनाथको पुनर्निर्माणमा विवाद : नौ महिना म्याद थप्दासमेत पुनर्निर्माणमा अन्योल

ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथको पुनर्निर्माणमा स्थानीय र ठेकेदार कम्पनीबीच विवाद भएको छ । १२ वैशाख ०७२ को भूकम्पले भत्किएको मन्दिरको पुनर्निर्माण विवादका कारण प्रभावित भएको छ ।  ०७३ साउनमा परेरा, थेगिङ र तुलसी निर्माण कम्पनीले संयुक्त रूपमा दुई वर्षभित्र पुनर्निर्माण गर्ने जिम्मा पाएका थिए । विवाद भएपछि पुनर्निर्माणका लागि नौ महिना थप गरिएको थियो । पाटन संग्राहलयका अनुसार आगामी चैतभित्र रातो मच्छिन्द्रनाथको पुननिर्माण सक्नुपर्नेछ । तर, हालसम्म ४० प्रतिशत मात्रै काम सकिएको छ । 

संग्रहालयका अधिकृत काजी प्याकुरेलले स्थानीयभन्दा पनि ठेकेदार कम्पनीकै कारण काम रोकिएको बताए । उनले भने, ‘अहिलेको हकमा त्यहाँ ठेकदारकै समस्या हो । ठेकेदारले जग भत्काउँदा लापरवाही गरेको स्थानीयको गुनासो छ । विवाद पनि त्यसैमा हो ।’मन्दिरको जग बनाउने वेलादेखि नै स्थानीय असन्तुष्ट थिए । स्थानीयहरूको सल्लाहबमोजिम काम नगर्दा मच्छिन्द्रनाथको पुनर्निर्माणमा पटक–पटक अवरोध भएको पाइएको छ । मन्दिर मौलिक शैलीमा नभएकाले अवरोध गरेको स्थानीयको भनाइ छ । ठेकेदारले स्थानीय वासिन्दासँग सल्लाह लिएर काम गर्नुपर्ने उनीहरू बताउँछन् ।

०७३ मा श्रीलंका सरकारको आर्थिक तथा पुरातत्व विभागको प्राविधिक सहयोगमा मच्छिन्द्रनाथको पुनर्निमार्ण सुरु भएको थियो । ०७२ को भूकम्पपछि श्रीलंका सरकारले रातो मच्छिन्द्रनाथ पुनर्निर्माण गर्न चार करोड ७४ लाख सहयोगको प्रतिबद्धता गरेको थियो । जसमा दुई करोड खर्च भइसकेको परियोजनाले जनाएको छ । चालू आर्थिक वर्षमा परियोजनको बजेट बढाएर करिब पाँच करोड पुगेको छ । 

विभागको निर्देशनको समेत वेवास्ता
ठेकेदार कम्पनीले पुरातत्व विभागलाई कार्ययोजनासमेत पेस गरेको छैन । १३ फागुनमा विभागले १० दिनभित्र कार्ययोजना पेस गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको थियो । तर, २६ फागुनसम्म पनि कार्ययोजना पेस भएको छैन । विभागसँग सचेत गराउने, ठेक्का रद्द गर्ने र धरौटी जफत गर्नेसम्मको अधिकार रहेको पाटन संग्राहलयका अधिकृत प्याकुरेलले बताए ।