मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल काठमाडाैं
२०७८ चैत ७ सोमबार ०७:३५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

एयरपोर्टको बक्यौता नतिर्ने वायुसेवा सञ्चालक र हकवालाको बैंक खातासँगै पासपोर्ट रोक्का गर्ने तयारी

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७८ चैत ७ सोमबार ०७:३५:००

विमानस्थल सेवाशुल्कबापतको ठूलो रकम बक्यौता नतिर्ने वायुसेवा कम्पनी र तिनका सञ्चालकलाई कारबाही गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) कस्सिएको छ । सेवाशुल्क नतिर्ने वायुसेवा कम्पनीका सञ्चालकहरू र निजका हकदारसमेतको बैंक खाता र पासपोर्ट रोक्का गरिने क्यानले जनाएको छ ।

प्राधिकरणले बिहीबार सार्वजनिक सूचनामार्फत सञ्चालनमा नरहेका सातवटा वायुसेवा कम्पनीलाई सात दिनभित्र पूरै बक्यौता रकम बुझाउन अल्टिमेटम दिएको छ । एक हप्ताभित्र बक्यौता नबुझाए कम्पनी, सञ्चालक र निजका हकदारको बैंक खाता र पासपोर्ट रोक्का गरिदिने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । बन्द भइसकेका सात आन्तरिक वायुसेवा कम्पनीले देशका विभिन्न ठाउँमा रहेका नागरिक उड्डयन कार्यालयलाई आठ करोड ३४ लाख रुपैयाँ बक्यौता बुझाउन बाँकी छ ।
नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयर र एयर काष्ठमण्डपलाई बक्यौता तिर्न प्राधिकरणले अल्टिमेटम दिएको हो । प्राधिकरणलाई बुझाउनुपर्ने शुल्क नबुझाउने व्यक्ति तथा संस्थाहरूलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै पनि किसिमको काम–कारबाही तथा व्यापार–व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राख्ने अधिकार प्राधिकरणसँग छ ।

 विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, सरकारी कार्यालय, तारे होटेलदेखि ठेकेदारसम्मबाट क्यानले कुल एक अर्ब ८२ करोड ९४ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी छ । वायुसेवा कम्पनीबाट १८ वर्षदेखिको पुरानो बक्यौता रकम उठाउन बाँकी रहेको महानिर्देशक अधिकारीले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवाको मात्रै ५४ करोड रुपैयाँ बक्यौता छ ।

अहिले सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले १७ करोड ९८ लाख र हाल नेपाल उडान बन्द गरेका एयरलाइन्स कम्पनीहरूको २५ करोड ५१ लाख बक्यौता छ । उडान बन्द गरिसकेको अन्तर्राष्ट्रिय वायुसेवातर्फ एयर एसियाको सबैभन्दा बढी १८ करोड ७४ लाख बक्यौता रहेको महानिर्देशक अधिकारीले बताए । यस्तै, सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये नेपाल वायुसेवा निगमले नौ करोड सात लाख तिर्न बाँकी छ । 

सञ्चालनमा रहेका आन्तरिक वायुसेवा कम्पनीको दुई करोड ८७ लाख बक्यौता छ । जसमध्ये सबैभन्दा धेरै यती एयरलाइन्सले एक करोड ६६ लाख बक्यौता रहेको प्राधिकरणले जनाएको छ । ‘पहिलो चरणमा सञ्चालनमा नरहेका, तर बक्यौता तिर्न बाँकी आन्तरिक वायुसेवा कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाएका छौँ,’ उनले भने, ‘दोस्रो चरणमा बक्यौता नतिर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई कारबाही गर्ने तयारी छ ।’ प्राधिकरणले बक्यौता नतिर्ने वायुसेवा कम्पनी र सञ्चालकलाई कारबाही गर्ने तयारी थालेपछि बक्यौता उठ्न थालेको उनको भनाइ छ । बन्द भइसकेका ११ आन्तरिक वायुसेवा कम्पनीमध्ये कर्णाली, सांग्रिला, नेपाल एयरवेज, अल्पाइनलगायत पाँचवटाले बक्यौता बुझाइसकेको प्राधिकरणले जनाएको छ ।

सञ्चालनमा नरहेकामध्ये नेकोन एयरले सबैभन्दा बढी चार करोड ७२ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । नेकोन एयरमा अध्यक्ष तथा प्रबन्ध सञ्चालक दीपमणि राजभण्डारी, उपाध्यक्ष मुकुन्दभक्त श्रेष्ठ, सञ्चालक दीपकराज कोइराला, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी, रविचन्द्रमान श्रेष्ठ रहेका छन् । क्या. रवीन्द्रप्रसाद प्रधान सञ्चालक रहेको कस्मिक एयरले तीन करोड ४७ लाख ५८ हजार बक्यौता तिर्न बाँकी छ ।

यस्तै, मणिन्द्रलाल रञ्जितकार सञ्चालक रहेको शिवानी एयरले ५५ लाख ५१ हजार तिर्न बाँकी छ । प्रज्वल श्रेष्ठ, डा. उज्ज्वल श्रेठ, गिन्नीबाबा श्रेष्ठ र सूर्यप्रसाद श्रेष्ठ सञ्चालक रहेको गोरखा एयरले २० लाख ३५ हजार र प्रज्ञानशमशेर जबरा, सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत सञ्चालक रहेको माउन्टेन एयरले ६ लाख १० हजार तिर्न बाँकी छ । आङ छिरिङ शेर्पा अध्यक्ष, मिङ्मा दोर्जे शेर्पा उपाध्यक्ष, तेन्जिङ नोर्बु शेर्पा प्रबन्ध सञ्चालक रहेको स्काइलाइन एयरवेजले सात लाख ८० हजार र प्रज्वल श्रेष्ठ, उज्ज्वल श्रेष्ठ र कतारी नागरिक हमाद अलि जाबोर सञ्चालक रहेको एयर काष्ठमाण्डपले सात लाख ३८ हजार बक्यौता तिर्न बाँकी छ ।

* यसअघि राखिएको तस्बिर अन्यथा पर्न गएकोले सच्याइएको छ।