
भारत सरकारको अनुदान सहयोगमा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयमा पुस्तकालय भवन र मकवानपुरको हेटौँडामा पोलिटेक्निक इन्स्टिच्युट निर्माण हुने भएको छ । भारतको अनुदान सहयोगमा सोलुखुम्बुमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।
मंगलबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माणका लागि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र भारतीय राजदूत विनयमोहन क्वात्राले भूमिपूजन गरेका छन् । भारत सरकारको ३१ करोड ६९ लाख नेपाली रुपैयाँ अनुदान सहयोगमा पुस्तकालय निर्माण हुनेछ । यसका लागि शिक्षा मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।
भारतीय राजदूतावासका अनुसार नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्डअनुसार पुस्तकालय निर्माण हुनेछ । तीनतले भवनमा प्रविधि र सुविधा सम्पन्न प्राज्ञिक शाखाहरू रहनेछन् । भारतको केन्द्रीय भवन अनुसन्धान संस्थानले पुस्तकालय निर्माणका लागि विश्वविद्यालयलाई प्राविधिक सहयोग दिनेछ ।
भारत सरकारले भुकम्पपछि पुनर्निर्माणका लागि दिने भनेको २५ करोड अमेरिकी डलरबराबरको अनुदान सहयोगमध्ये ५ करोड डलर शिक्षा क्षेत्रमा खर्च गर्ने घोषणा गरिसकेको छ । त्यहीअनुरूप विश्वविद्यालयमा पुस्तकालय भवन निर्माण हुन लागेको हो । भारतीय सहयोगमा हाल ८ जिल्लाका ७१ शैक्षिक संस्थाहरूको निर्माण भइरहेको छ । अहिलेको केन्द्रीय पुस्तकालय भवन पनि सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको हो ।
यसैबीच, भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजना उद्घाटन भएको छ । राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा र भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले उद्घाटन गरेका हुन् । यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको यो एक हो ।
भारतीय राजदूतावासका अनुसार ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार नेपाली रुपैयाँ अनुदान सहयोगमा परियोजना निर्माण भएको हो । परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका ६०० घरपरिवार तथा विद्यालयलगायत अस्पताल, सरकारी कार्यालय र घुम्न आउने पर्यटकका लागि सफा तथा स्वच्छ खानेपानी उपलब्ध गराउने भएको छ ।
भारतीय सहयोगमा हेटौँडामा निर्माण भइरहेको पोलिटेक्निक इन्स्टिच्युटको अनुगमन समितिको बैठक सोमबार बसेको छ । परियोजना अनुगमन समितिको बैठकमा कार्यान्वयनमा भइरहेको प्रगतिबारे छलफल भएको भारतीय राजदूतावासले जनाएको छ । बैठकमा नेपालका तर्फबाट शिक्षा मन्त्रालयमा सहसचिव कमलप्रसाद पोखरेल र भारतका तर्फबाट विदेश मन्त्रालयको साझेदारी प्रशासन महााशखा प्रमुख सतीश सिवानले नेतृत्व गरेका थिए । अनुगमन समितिले ठेकेदार तथा परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन दिएको छ ।