
गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुनः सोमबारसम्मका लागि सरेको छ । गत शुक्रबारदेखि सुरु बैठकका एजेन्डामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थप गृहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएपछि सोमबार दिउँसो ११ बजे बस्ने गरी बैठक स्थगित भएको हो ।
पुसमा सम्पन्न आठौँ महाधिवेशनले चयन गर्न बाँकी पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो चयन तथा केन्द्रीय समिति थप गर्ने विषयमा माओवादी केन्द्रभित्र छलफल चलिरहेको छ । तर, सहमति जुट्न नसक्दा महाधिवेशनपछिको पहिलो बैठक नै पटकपटक सर्दै आएको छ । प्रचण्डलाई आकांक्षी व्यवस्थापन गर्नै सकस भएको छ ।
महाधिवेशन सकिएलगत्तै १९ पुसमा बसेको केन्द्रीय समितिको पहिलो बैठक पार्टीको अध्यक्षमा प्रचण्डलाई दोहोर्याउने निर्णय गरेर स्थगित भएको थियो । त्यसपछि पटकपटक सर्दै आएको केन्द्रीय समिति बैठक गत शुक्रबारबाट सुरु भए पनि गृहकार्य नपुगेको भन्दै सोमबारसम्मका लागि स्थगित भएको छ ।
केन्द्रीय सदस्य रामदीप आचार्यले एजेन्डामाथिको गृहकार्य पूरा भइनसकेका कारण आइतबारको बैठक सरेको र सोमबार बैठकबाट केही विषय टुंग्याएर बाँकी विषय निर्वाचनपछि मात्रै छलफल हुन सक्ने बताए । ‘संगठन र निर्वाचनकेन्द्रित कार्यविभाजनको विषय नै अहिलेको मूल एजेन्डा हो । तर, अहिले संगठनको विषयमा निष्कर्ष निस्कने देखिँदैन । सोमबार बस्ने बैठकले निर्वाचनकेन्द्रित कार्यविभाजन गर्ने र बाँकी विषयमा पछि छलफल गर्ने हुन सक्छ,’ आचार्यले भने । बैठकले पार्टी संगठन र निर्वाचनकेन्द्रित जिम्मेवारी बाँडफाँड गरी दुईवटा एजेन्डा तय गरेको छ । तर, संगठनका विषयमा नै सहमति जुट्न नसकेपछि अध्यक्ष प्रचण्ड आकांक्षी नेताहरूसँग ‘वान टु वान’ छलफल गरिरहेका छन् । माओवादी केन्द्रमा अहिले पदाधिकारी र केन्द्रीय समिति थप गर्ने विषयमा समस्या देखिएको छ । पदाधिकारीमा पनि महासचिव पदमा सहमति जुट्न सकेको छैन ।
महाधिवेशनमा पनि महासचिवकै विषयमा सहमति नजुटेपछि पहिलो केन्द्रीय समितिबाट यसलाई टुंग्याउने गरी समापन गरिएको थियो । त्यस्तै, विधानअनुसार केन्द्रीय समितिमा संख्या थप गर्न पनि माओवादीमा सकस देखिएको छ । महाधिवेशनअघि सम्पन्न भएका विभिन्न जनवर्गीय संगठनका राष्ट्रिय सम्मेलनमा आकांक्षी व्यवस्थापन गर्न पार्टीले धेरैलाई केन्द्रीय समितिमा ल्याउने भनेर आश्वासन दिएको थियो । तर, विधानमा गरिएको व्यवस्थापनमा आधारित भएर क्लस्टरअनुसार सबैलाई समेट्न र सोपानक्रमअनुसार आकांक्षीलाई केन्द्रीय समितिमा पुर्याउन अध्यक्ष प्रचण्डलाई अप्ठ्यारो भइरहेको छ ।
यसै विषयमा छलफल गर्न प्रचण्डले नेताहरूसँग एक्लाएक्लै छलफल गरिरहेका छन् । आइतबार मात्रै प्रचण्डले जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेतसँग सहमतिका लागि प्रयास गरेका थिए । एक नेताका अनुसार छलफलमा केन्द्रीय समितिमा थप गर्ने आकांक्षीको विषयमा नै सहमति नजुटेपछि बाँकी विषयमा छलफल हुनै सकेन । ‘अहिले पार्टीभित्रको सबभन्दा ठूलो समस्या भनेको पदाधिकारी चयन र केन्द्रीय समिति थप गर्ने विषय हो,’ ती नेताले भने, ‘अध्यक्षले सबैसँग एक्लाएक्लै छलफल गरिरहनुभएको छ । तर, सहमति जुट्न सकेको छैन । अहिलेसम्म केन्द्रीय समितिमा थप गर्ने विषय नै टुंगिएको छैन भनेपछि पदाधिकारीको विषयमा प्रवेश नै भएको छैन । सम्भवतः निर्वाचनअघि पदाधिकारी चयन नटुंगिने र केन्द्रीय समितिले पूर्णता नपाउन सक्छ ।’ ती नेताका अनुसार अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम पछि टुंग्याए पनि केन्द्रीय समिति र आमनिर्वाचनमा उम्मेदवार बनाएर आकांक्षीको व्यवस्थापन गर्न खोजिरहेका छन् ।
अहिले माओवादी केन्द्रमा गत महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेका मात्रै करिब तीन दर्जनभन्दा बढी केन्द्रीय सदस्यका आकांक्षी छन् । तीमध्ये अधिकांश विभिन्न जवसका पूर्वपदाधिकारी छन् भने कतिपय अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेकासमेत छन् ।