१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण १५ आइतबार ०६:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमसिसीमाथि संसदमा आज छलफल सुरु हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण १५ आइतबार ०६:४३:००

थोरै सांसदले बोले छिटै सकिन्छ, धेरैले बोल्न खोजे एकैदिनमा छलफल नसकिन सक्छ

संसद्को पर्खालमा चारैतिर : काँडेतार संसद् भवन रहेको बानेश्वर क्षेत्रमा दिनदिनै एमसिसीविरुद्ध आन्दोलन चलिरहेको छ । यहीबीचमा संसद् भवनको पर्खालको चारैतिर काँडेतार लगाइएको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसिसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ । दिउँसो १ बजे बैठक बोलाइएको छ । गत आइतबार नै एमसिसी संसदमा पेस भए पनि अनुमोदनको सुनिश्चितता नहुँदा बैठक स्थगन गरेर सैद्धान्तिक छलफल रोकिँदै आएको छ । 

संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ । ‘बिहानसम्म कुनै उतारचढाव नभए आइतबारको बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफलको सम्भावना छ । तर, अन्तिम समयमा तल–माथि पनि हुन सक्छ,’ संसद् सचिवालय स्रोतले भन्यो । 

गत बिहीबारको बैठकमा एमसिसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो । त्यसदिन कार्यव्यवस्था परामर्श समितिमा सभामुख अग्निप्रसाद सापकोटाले एमसिसीमाथि छलफल चलाउने निर्णयसमेत सुनाएका थिए । बोल्न चाहने हरेक सदस्यलाई पाँच मिनेट समय दिनेसमेत तय भएको थियो । तर, अन्तिम समयमा सरकारको आग्रहमा बैठक स्थगित भएको थियो । त्यस्तै, शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि सरकारकै आग्रहमा स्थगित गरिएको थियो । 

आइतबारको बैठकमा सरकारका तर्फबाट प्रस्ताव पेस भएलगत्तै एमसिसीमाथि छलफल सुरु हुनेछ । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले सरकारका तर्पmबाट प्रस्ताव पेस भएपछि छलफलमा भाग लिन चाहने सांसदले नाम टिपाउने बताए । निर्धारित समयभित्र उनीहरूले आफ्नो धारणा राखेपछि सम्बन्धित मन्त्रीले छलफलमा उठेका जिज्ञासाको जवाफ दिनेछन् ।

गम्भीर मुद्दाहरूमाथिका छलफलमा पूर्वप्रधानमन्त्री, पूर्वसभामुखलगायत प्रमुख नेताहरूसमेत सहभागी हुन्छन् । त्यस्तै, बोल्ने अन्य सांसदको संख्या धेरै हुने भएकाले आइतबार नै सैद्धान्तिक छलफल सकिने सम्भावना कम छ । 

निर्णयार्थ प्रस्तुत हुनुपूर्व सांसदले बोल्ने भएकाले एमसिसीमाथिको छलफल लम्बिन पनि सक्छ । यसमा सभामुखको भूमिका रहन्छ । प्रवक्ता पाण्डेका अनुसार थोरै सांसदले बोले छिटै सकिन्छ र बैठक निर्णयार्थतिर जान्छ, सबैले बोल्न खोजे एकैदिनमा नसकिन पनि सक्छ । ‘छलफल सकिएपछि यो स्वीकृत वा अस्वीकृतका लागि निर्णयार्थ प्रस्तुत हुन्छ । बहुमतले स्वीकृत गर्‍यो भने एमसिसी अनुमोदनका लागि प्रक्रिया अघि बढ्छ र थप छलफल अर्को बैठकमा हुन्छ । यदि प्रस्ताव अस्वीकृत भयो भने त्यहीँ टुंगिन्छ,’ पाण्डेले भने । 

हाल प्रतिनिधिसभामा दुई सय ७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक–एक सांसद छन् ।