१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
एजेन्सी इस्लामाबाद
२o८१ जेठ ५ शनिबार १८:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा तालिबान, पाकिस्तानमा हिंसा वृद्धि

Read Time : > 1 मिनेट
एजेन्सी इस्लामाबाद
नयाँ पत्रिका इस्लामाबाद
२o८१ जेठ ५ शनिबार १८:१४:oo

गत वर्ष अगस्टमा अफगानिस्तान तालिबानले लिएपछि खुसी देखिएको पाकिस्तान अहिले भने तालिबानसँग निराश हुन थालेको छ । पाकिस्तानको एक अध्ययन प्रतिवेदनले तालिबान अफगानिस्तानमा आएपछि पाकिस्तानभित्र आतंक बढ्दै गएको देखाएको छ । 
इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट फर पिस स्टडिजको अनुसन्धान प्रतिवेदनअनुसार सन् २०२१ मा आतंकवादी घटनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशतले वृद्धि भएको छ । ‘तालिबानको हातमा काबुल परेपछि घटनाहरूमा वृद्धि भएको छ,’ प्रतिवेदनलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले समाचार लेखेको छ ।
‘अफगानिस्तानमा भएको परिवर्तनले आफ्नो सुरक्षालाई खतरामा पार्ने आतंककारी समूहहरूसँग लड्ने पाकिस्तानको प्रयासलाई कुनै पनि हिसाबले सहयोग गरिरहेको छैन,’ प्रतिवेदनमा उल्लेख छ, ‘सन् २०२० को अन्त्यसम्ममा निकै कमजोर बनेको पाकिस्तानी तालिबान गत वर्षपछि फेरि संगठित भएको छ र पाकिस्तानभरि जबर्जस्ती र्याकेट चलाउन थालेको छ ।’ 
न्युयोर्क टाइम्सले पाकिस्तानी तालिबानको आतंकको छायाँ व्यापारीमा पर्न थालेको उल्लेख गरेको छ । उनीहरूले व्यापारीसँग ठूलो रकम चन्दा मागिरहेका छन् । ‘हामी जबर्जस्ती पैसा तिर्न बाध्य भएका छौँ, अघिल्लो वर्ष यतिसम्म त थिएन,’ कराँचीस्थित व्यवसायी मुहम्मद आजमले भनेका छन्, ‘कुनै व्यापारीले तिर्न इन्कार गरेमा, तालिबानका लडाकुहरूले घरनजिकै साना बम विस्फोट गराएर आतंक मच्चाउने गरेका छन् । यति गर्दा पनि पैसा दिएन भने व्यापारी वा उनका परिवारका सदस्य निसानामा पर्ने गरेका छन् । हामी चिन्तित छौँ ।’ 
पाकिस्तानी तालिबानीले पछिल्लोपटक पोलियो खोप टोलीहरूलाई निशाना बनाएका छन्। यस्ता टोलीलाई सुरक्षा दिने प्रहरी नै आतंकको निशानामा परेका छन् ।
२०२१ मा, पाकिस्तानी तालिबानीहरूले खैबर पख्तुनख्वा प्रान्तमा ४८ प्रहरीको हत्या गरेका थिए भने ४४ जनालाई घाइते बनाएका थिए। ‘धेरैजसो हिंसात्मक घटनाहरू वर्षको अन्तिम केही महिनाहरूमा (तालिबानले कब्जा गरेपछि) भएका छन्,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘बारम्बार प्रयासको बाबजुद, पाकिस्तानले अफगान तालिबानबाट अफगानिस्तानमा सक्रिय पाकिस्तानी तालिबानविरुद्ध कारबाही गर्ने दृढ ग्यारेन्टी प्राप्त गर्न सकेको छैन ।’ अफगानिस्तान पाकिस्तान सिमाना डुरान्ड रेखालाई दुई देशबीचको सिमाना मान्ने विषयमा दुई देशबीच विवाद छ । गत दुई महिनामा, काँडेतारको तारको निर्माणलाई लिएर नान्गाहार, कान्दाहार, निमरोज, कुनार र खोस्ट प्रान्तहरूमा डुरान्ड लाइनको छेउमा अफगान, तालिबान र पाकिस्तानी सेनाहरूबीच झडप भएका छन् । 
यद्यपि, पाकिस्तानको शीर्ष नेतृत्वले नयाँ तालिबान शासनलाई अन्तर्राष्ट्रिय मान्यताको लागि लबिङ गरिरहेको छ । फेब्रुअरी पहिलो साता प्रधानमन्त्री इमरान खानले सिएनएनसँगको अन्तर्वार्तामा भनेका छन्, ‘अहिले हामीसँग एउटै विकल्प छ कि उनीहरू (तालिबान) सँग काम गर्नु र उनीहरूलाई विश्वले चाहेको कुराका लागि प्रोत्साहित गर्नु हो ।’ 
 

ad
ad